काठमाडौं-
हेर्दामा हेर्दै परेला ढले कोपिला निदायो
साँझमा एउटा चम्किलो तारा स्वर्गमा उदायो
२००७ को क्रान्तिमा बन्दीपुर (तनहुँ)को मोर्चामा शहादत प्राप्त गरेका धर्मध्वज गुरुङको सम्झनामा कविवर माधवप्रसाद घिमिरेले कविताको यो पंक्ति लेखेका थिए। शहीद गुरुङको सम्झनामा लेखिएको कवितामा झैँ सधैँसधैँ आकाशमा उदाइरहने चम्किलो तारा बनेर एउटा शीर्ष व्यक्तित्व आज स्वर्गतिर प्रस्थान गरेको छ।
त्यो चम्किलो तारा अरु कोही नभएर तिनै कविवर माधवप्रसाद घिमिरे हुन्। मंगलबार साँझ ५ बजे काठमाडौंको लैनचौरस्थित निवासमा कविवर घिमिरेको निधन भएको छ।
‘आज साँझ पाँच बजे उहाँ हामीलाई छाडेर जानुभयो,’ कविवर घिमिरेका ज्वाइँ करुणाकर अधिकारीले शोकमिश्रित स्वरमा भने, ‘हिजोसम्म उहाँ परिवारका सदस्यहरुसँग बोलिरहनुभएको थियो। आज उहाँको निधन हुन पुुग्यो।’
१४ वर्षमै पहिलो कृति
कविवर घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। जीवन संगिनी गौरीको भने २००४ सालमा निधन भएको थियो।
६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे।
त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
उनी १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि थिए।
बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।
२००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए। चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्।
उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।
उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि।सं। १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि।सं। २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।
घिमिरेले नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) कृति प्रकाशित छन्।
त्यस्तै उनले २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार पाएका थिए। उनलाई २०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो।