काठमाडौं- म्याग्दीको बेनी नगरपालिका-२ स्थित बगरफाँटमा रहेको आकर्षक उडाइनो झरना यतिखेर सर्वसाधारणका लागि मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थानकारुपमा विकास हुँदै गएको छ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको यो झरना करिब २५० मिटर अग्लो छ। सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्ने यो झरनामा हिजोआज युवकयुवतीको भीड लाग्ने गर्छ। यसले कोरोना सङ्क्रमणको जोखिमलाई समेत बढाएको छ।
बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्छ। पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै यो झरना अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ।
म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँ म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउँछन्। सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ। म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र विभिन्न झरना हेर्दै करिब २ किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा। यहाँ दैनिक ५० देखि दुई सय युवा रमाउन आउने गर्छन्।
यहाँ दुई झरना छन्ः एउटा कोप्रे र अर्को उडाइनो झरना। यी दुवै भरना युवक युवतीका लागि खुसीका अनमोल खजाना बनेका छन्। कोरोनाको त्रासबाट आजित युवकयुवती यहाँ आएर रमाइलो गर्दै दिन बिताउने गरेको बेनी नगरपालिका-३ का वडा सदस्य गेमबहादुर घर्ती मगरले बताए।
बेनी-२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी-३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन्। अन्य दिनभन्दा बिदाका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेको स्थानीयवासीको भनाइ छ। यी दुई झरना पर्यटकीयस्थल लव्ली हिलपछिको दोस्रो बढी तस्बिर खिँचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आउनुभएका छबि आचार्यले बताए। रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको वासस्थानसमेत छ। प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा-२ का वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए।
पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस झरनालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ। यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको भनाइ छ।
म्याग्दीमा उच्च सर्तकता : एउटा नाका खुला
कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ। म्याग्दी प्रवेश गर्ने सबै नाकामा सुरक्षा चेकजाँचलाई कडाइ गर्नुका साथै मङ्गलबार रातिदेखि सिल गरिएको छ। अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुलस्थित एउटा नाकालाई मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ। एउटा मात्र नाकाबाट आवतजावत गर्न पाएपछि बेनी प्रवेश गर्ने कालीपुल नाकामा सर्वसाधारणको भीड लाग्ने गरेको छ।
बेनीसंगै सीमाना जोडिएका पर्वतको जलजजा गाउँपालिकाका जनताको आउजाउ हुने र दैनिकीसंग प्रत्यक्ष सरोकार रहने यस नाकामा कडाइ गरिएपछि विशेष गरेर मल्लाज, पारीबेनी, मिलनचोक, धाइरिङबाट दैनिकरुपमा बेनीमा आउने, कर्मचारी, व्यापारी, कृषकलगायत सर्वसाधारण मर्कामा परेको बताइएको छ।
कालीपुल नाकामा कडाइ गरिएपछि पर्वतबाट उपचारका लागि बेनी अस्पतालमा आउने बिरामीलाई निकै सास्ती भएको मिलनचोकका श्याम आचार्यले बताए। त्यहाँ खटिएका सुरक्षाकर्मीले सर्वसाधरणलाई सम्झाईबुझाई वारपार गर्न दिएका छन्। बुधबार एक जना सर्वसाधारण कालिपुलमा लाइनमा नै बेहोस हुँदा उपचारका लागि प्रहरीले उनलाई बेनी अस्पतालमा पुर्याएको थियो।
‘म कार्यालय जानका लागि आएको हुँ,’ एक जनाले भने, ‘यहाँ आएर तीन घण्टादेखि लाइनमा बसेको छु। यसले मजस्तै अन्यलाई पनि कार्यालय आवतजावत गर्न निकै सास्ती भएको छ।’ पर्वत बेनी र म्याग्दी बेनीबीच आवतजावतमा सहजता हुनुपर्ने उनीहरुको माग छ। व्यवसायिक काम, बैकिङ कारोबारलगायत अन्य विभिन्न कामका लागि पर्वत बेनीवासीलाई म्याग्दी बेनीमा आउनुपर्ने बाध्यता छ। उक्त बाध्यतालाई मध्यनजर गरेर आवतजावतलाई सहज बनाउनुपर्ने धारणा उनीहरुको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कसैलाई दुःख दिने मनसायले नभै कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको बताए। उनले पारीबेनी र दैनिकरुपमा आउजाउ गर्नुपर्ने कर्मचारी, व्यापारीलगायत उपचारका लागि बेनी अस्पताल आउनेलाई सहज वातावरण बनाइएको जानकारी दिए। बुधबार पोखराबाट आएका दुई जनालाई स्थानीय तहको समन्वयमा क्वारेन्टीनमा राखिएको प्रजिअ अधिकारीको भनाइ छ।
हिजोमात्र कालिपुल नाकाबाट १ सय ६१ जना म्याग्दी बेनी प्रवेश गरेका छन्। कालिपुल नाका हुँदै म्याग्दी बेनीमा व्यवसाय गर्न आउने व्यवसायीलाई उद्योग वाणिज्य सङ्घलाई परिचय पत्र बनाउन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ।
नाकामा कडाइ नगर्ने हो भने छिमेकी जिल्लामा समुदाय स्तरमा नै फैलिएको कारोना सङ्क्रमणबाट म्याग्दी पनि उच्च जोखिममा पर्नसक्ने प्रजिअ अधिकारीको भनाइ छ।