जेलबाट छुटेकासहित दुईजना दुई पेस्तोल र १० राउन्ड गोलीसहित पक्राउ-Sutra News

जेलबाट छुटेकासहित दुईजना दुई पेस्तोल र १० राउन्ड गोलीसहित पक्राउ

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।



महाशाखाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा खटेको टोलीले विशेष सुचनाका आधारमा मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित बुधबार नुवाकोटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो ।

त्यसपछि प्रारम्भिक सोधपुछका क्रममा हतियार ओसारपसारमा अर्का व्यक्तिको संलग्नता खुल्यो । प्रारम्भिक बयानमा पण्डितले आफूलाई हतियार ओसार्न लगाउने व्यक्ति नुवाकोटका २८ वर्षीय अमर तामाङ रहेको खुलेपछि प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले तामाङलाई पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रहरीका अनुसार वरामद भएको हतियार धादिङका राजकुमार गुरुङले माछापोखरीमा लुकाएर राखेका थिए । पक्राउ परेको तामाङको गुरुङसँग
कारागारमा चिनजान भएको थियो जतिबेला तामाङ डाँका मुद्दामा सजाय भुत्तान गरिरहेका थिए भने गुरुङ लागुऔषध मुद्दामा । गुरुङ अझै कारागारमै छन् भने तामाङ गत वर्षको फागुन १२ गते ६ वर्ष २ महिनाको सजाय भुत्तान गरेर थुनामुत्त भएका थिए ।

थुनामुक्त भएपछि जेल बसाईका क्रममा गुरुङले नै दिएको जानकारीका क्रममा तामाङले उक्त हतियारबारे थाहा पाए । र, माछापोखरीबाट हतियारलाई नुवाकोट ल्याउन पण्डितलाई प्रयोग गरे । प्रहरीका अनुसार अपराधिक मनसायले उनीहरुले हतियारको प्रयोग गर्न लागेका थिए तर त्यो असफल भयो ।

घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट