काठमाडौं- यसवर्ष कोभिड-१९का कारण अघिल्ला वर्षहरुमा जस्तो कुनै कार्यक्रम वा सभा हलमा गएर यसपालिको तीज मनाउने अवस्था छैन ।
कोभिड १९को जोखिमका कारण तीज घरमै मनाउनु भनेर नेपाल सरकारले पनि आदेश दिएको छ ।
खुल्ला रुपमा तीज मनाउन नपाएपछि अहिले आफ्नै घरमा तीज मनाएको सामाजिक सञ्जालमार्फत देखिएको छ ।
नेकपाकी सांसद शान्ता चौधरीले आफ्नै घरमा तीज जमनाइरहेको भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।
उनले आफ्नो घरमा तीजको गीतमा नाचिरहेको भिडियो फेसबुकमा हालेकी छन् । उनले यस वर्ष घरमै तीज मनाएर कोभिड-१९लाई थप फैलिन नदिन सहयोग गर्न सबैलाई आग्रह पनि गरेकी छन् ।
कांग्रेसकी सांसद डा. डिला संग्रौलाले पनि आफ्नो सामाजिक सञ्जालमा तस्विर राख्दै घरमै तीज मनाएको बताएकी छन् । सँगै उनले एक भिडियो सन्देशमार्फत् तीजको शुभकामना पनि दिएकी छन् । यसपालिको तीज कोरोनाको कहरबीच घरमै बसेर मनाउन अनुरोध गरेकी छन् । भिडियोमाउनले भनेकी छिन्, ‘कोरोनाकहर बिच हामीले तीज मनाएका छौं । यसवर्षको तीज कोरोनाका कारण विरामी र कोरोनाका कारण ज्यान गुमाउने र यसको नियन्त्रणमा खट्नेप्रति सर्मपित गरौं ।’
अभिनेत्री केकी अधिकारीले पनि यसवर्षको तीज यस्तै भएकाले घरभित्रै बसेर बनाउन अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जालमाआफ्नो तस्बिर राख्दै तीजको शुभकामना दिएकी छन् । उनले लेखेकी छिन्, ‘समाज, संस्कार र सम्बन्धको नाममा आफ्नो सपनाको आहुती दिन नपरोस् । तीजको सम्पूर्णलाई शूभकामना । यसपटक यस्तै भयो, अर्को पटक घरबाट पनि अनि मनका सबै डरबाट पनि खुलेर निस्किन सकौं ।’
साथै, केकीले सम्पूर्णको सुस्वास्थ्यको कामनापनि गरेकी छन् ।
दाङकी पत्रकार रीता लामाले पनि आफ्नो सामाजिक सञ्जालमा गाउँको गल्लीमा तीज मनाइरहेको भिडियो सामाजिक सञ्जालमा हालेकी छन् ।
उनले तीजको गीतमा महिलाहरु नाँचिरहेको भिडियो सामाजिक सञ्जालमा हाल्दै तीज मनाएको बताएकी छन् ।