काठमाडौं–कोरोना भाइरसका कारण पत्रकारलाई मनोवैज्ञानिक र आर्थिक रूपमा गम्भीर असर परेको एक सर्वेक्षणले देखाएको छ। नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरूपमा गरेको राष्ट्रिय सर्वेक्षणबाट उक्त असर परेको देखाएको हो ।
‘कोरोना भाइरसका कारण पत्रकारलाई मनोवैज्ञानिक र आर्थिकरूपमा गम्भीर असर पारेको र सञ्चारमाध्यमका सामग्रीको उत्पादनसमेत घटेको छ’ सर्वेक्षणको निष्कर्ष छ ।
बुधबार काठमाडौंबाट भर्चुअल समारोहकाबीच अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै कोरोना राहत कोषबाट पत्रकारहरूलाई आर्थिक सहयोग गर्न सकिने बताए । उनले भने, ‘पत्रकारहरूलाई आर्थिक कठिनाई परेको कुरा तथ्यगत रूपमा देखिएको छ । सरकारले समाचार संस्थासँग छलफल गरी कोरोना राहत कोषबाट पत्रकारलाई सहयोग गर्न सकिन्छ ।’
त्यसैगरी नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पनि कोभिड–१९ ले पत्रकारमा परेको प्रभावबारे अनुसन्धान गर्न लागेको बताउँदै सार्वजनिक प्रतिवेदनले आगामी खोज अनुसन्धानलाई आधार सिर्जना गरेको बताए ।
२०७७ असार २६ देखि साउन ९ गतेसम्म सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पुर्याएको देखाएको छ ।
सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारले आफूहरु दुःखमा परेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरू चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।
कोरोनाका कारण सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई प्रभाव पारेको छ । उत्तरदाताले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमको पनि प्रकाशन आवृत्ति (फ्रिक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरू डिजिटल माध्यममा मात्र सीमीत भएका छन् ।
छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रिक्वेन्सी) घटेको उल्लेख गरेका छन् ।