विदेशबाट ५२ हजार नेपालीको उद्धार, अरुको पालो कहिले?-Sutra News

विदेशबाट ५२ हजार नेपालीको उद्धार, अरुको पालो कहिले?

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- वैदेशिक रोजगारीमा गएर कोभिड-१९ को महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरुको पहिलो पटक उद्धार २३ जेठमा सुरु भएको थियो।



१२ जेठमा मन्त्रिपरिषद्ले विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेपछि पहिलो पटक म्यानमारबाट २६ जना नेपालीहरुलाई स्वदेश फर्काइएको थियो। म्यानमारबाट बागमती प्रदेशका १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश १ का ४ जना र प्रदेश ५ का ४ जनालाई उद्धार गरिएको थियो

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार २ भदौसम्म  ५१ हजार ९ सय  ६३ जनाको उद्धार भइसकेको छ।

बागमती प्रदेशका धेरै

उद्धार गरिएकाहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका रहेका छन्। २ भदौसम्म उद्धार गएिकाहरुमध्ये बागमती प्रदेशका १४ हजार ४ सय ७१ जना रहेका छन्। त्यस्तै, प्रदेश १ का १० हजार ९ सय ६१, प्रदेश २ का ८ हजार ६ सय १४ जना, गण्डकी प्रदेशका ६ हजार ७ सय ४५ जना, प्रदेश ५ का ८ हजार ६ सय ५५ जना, कर्णाली प्रदेशका १ हजार १ सय ८४ जना र सुदुरपश्चिम प्रदेशबाट कूल १ हजार ३ सय ३३ जनाको उद्धार भइसकेको छ।

२ भदौपछि भने नेपालमा क्वारेन्टीनको अवस्था व्यवस्थित गर्न उद्धार कार्यलाई स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका प्रशासन शाखाका उपसचिव राजन पौड्याले बताए। उनका अनुसार विदेशबाट उद्धार गरिएका यात्रुहरुलाई नेपालमा ल्याएर राख्ने क्यारेन्टाइनलाई व्यवस्थापन गर्नका लागि केही समय उद्धार कार्य स्थगित गरिएको छ।

युएईबाट फर्किए सबैभन्दा धेरै

सिसिएमसीको तथ्यांकअनुसार २ भदौसम्म उद्धार गरिएकाहरुमध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई)बाट रहेका छन्। वैदेशिक रोजगारी वा अन्य कुनै कारणले विदेशमा गएर कोभिड-१९का कारण अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा युएईबाट १४ हजार ४ सय ८१ जनालाई स्वदेश फिर्ता ल्याइएको छ।

युएईबाट स्वदेश फिर्ता ल्याइएकाहरुमध्ये प्रदेश १ मा कूल ३ हजार ४ सय ४१ जना रहेका छन्। त्यस्तै, प्रदेश २ का १ हजार २ सय ९३ जना, बागमती प्रदेशका ४ हजार ३ सय २८ जना, गण्डकी प्रदेशका २ हजार २ सय १८ जना, प्रदेश ५ का २ हजार ५ सय ४१ जना, कर्णाली प्रदेशका २ सय २८ जना र सुदुरपश्चिम प्रदेशका ४ सय २९ जनाको युएईबाट उद्धार गरि स्वदेश फिर्ता ल्याइएको छ।

त्यस्तै, दोस्रो धेरै नेपालीको उद्धार भएको साउदी अरेबियाबाट कोभिड-१९ का कारण अलपत्र पेका ७ हजार ८ सय १७ जना नेपालीलाई यो अवधीमा स्वदेश फिर्ता ल्याइएको छ। यीमध्ये प्रदेश १ का १९२२, प्रदेश २ का १६०८, बागमती प्रदेशका ११९८, गण्डकी प्रदेशका १०५७, प्रदेश ५ का १५३८, कर्णाली प्रदेशका १८९, र सुदुरपश्चिमका २०५ जना रहेका छन्।

कोरोना संक्रमणको प्रकोप विश्वभर फैलिएयता सरकारले विभिन्न ३० देशमा रहेका नेपालीहरुलाई उद्धार गरिसकेको छ। सिसिएमसीको २ भदौसम्मको तथ्यांकका अनुसार यी देशहरुमध्ये अफगानिस्तानबाट ५० जना, अष्ट्रेलियाबाट ९ सय ४३ जना, ओमानबाट ८ सय ११ जना, कतारबाट ६ हजार १ सय ९१ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३ सय २९ जना, जापानबाट १ हजार २ सय ८२ जना, थाइल्याण्डबाट ३ सय २६ जना, दक्षिण कोरियाबाट ९ सय ६७ जना तथा बंगलादेशबाट ८ सय ४१ जनाको उद्धार गरिएको छ।

त्यस्तै, मलेसियाबाट ७ हजार ७ सय ९५ जनाको उद्धार गरिएको छ। माल्दिभ्सबाट ७ सय ९ जना, श्रीलंकाबाट ५ जना, सिंगापुरबाट २ सय ९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९ सय ८० जना, अमेरिकाबाट ४ सय २३ जना, बेलायतबाट २ सय २९ जना, इजरायलबाट १ सय २७ जना, चीनबाट २ सय ८ जना, टर्कीबाट ३ सय १२ जनाको उद्धार भएको छ।

त्यस्तै, फिलिपिन्सबाट २ सय १ जना, स्विजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २ सय ५० जना, सिएआबाट ६८ जना, भारतबाट ७५ जना र इराकबाट ३९ जनालाई कोभिड-१९ का कारण अलपत्र परेकाले यो अवधिमा स्वदेश फिर्ता ल्याइएको छ।

बाँकीको उद्धार कहिले?

अन्तर्राष्ट्रिय नियमित उडान १६ भदौबाट सञ्चालन गर्ने भन्दै सरकारले सो मितिभन्दा अगाडिसम्मलाई सम्पूर्ण उडान स्थगित गरेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ- घर फर्किन चाहने नेपालीले १६ भदौसम्म नै कुनु पर्ने हो?

उपसचिव पौड्याल यसबीचमा पनि केही मुलुकहरु, जहाँ पिसिआर परीक्षण हुँदैन, त्यहाँ अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न भने ‘चाटर्ड फ्याईट’ हुनसक्ने बताउँछन्। पौड्याल भन्छन्, ‘स्थगित भएयता अब आगामी भदौ १६ बाटै उडान नियमित हुने निर्णय भएको छ। यसबीचमा नेपालीहरु रहेको केही मुलुकमा चाटर्ड फ्लाइट हुनसक्छ। पिसिआर परीक्षण नहुने देशहरुमा चाटर्ड फ्लाइट गरेर उद्धार हुनसक्छ।’ तर, सोबारे हालसम्म कुनै पनि निर्णय नभएको पौड्याल बताउँछन्।

उता सिसिएसीका अनुसार भने उद्धार फेरि कहिलेबाट सुचारु गर्ने भन्नेबारे बैठक भइरहेको छ। अर्को निर्णय नहुँदासम्म उद्धार यही मितिबाट सुचारु हुन्छ भनेर तोक्न नसकिने सिसिएमसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट