भैरहवा- कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। मृतक दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालको आई.सी.यू.(सघन कक्ष) भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
बुटवल उपमहानगरपालिका–१ की ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र सम्मरीमाई गाउँपालिका–२ मुडिलाका ३८ वर्षका पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको डा. विष्णु गौतमले जानकारी दिए।
मृतक ६७ वर्षीया महिला साउन ३१ गते कोभिड पोजेटिभ भई अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई स्वासप्रस्वासमा समस्या, दीर्घ रोग, प्रेसर र मृगौलासम्बन्धि रोग थियो। उनको आइतबार बिहानदेखि स्वास्थ्य थप गम्भीर भएको अस्पतालले जनाएको छ।
त्यस्तै सम्मरीमाई–२ का ३८ वर्षीय पुरुष भदौ १ गते कोभिड पोजेटिभ भए स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका थिए।
– भैरहवाबाट पत्रकार रविन्द्रप्रताप गुप्ताको सहयोगमा