सिन्धुपाल्चोक र सुनसरीमा थप एक साता निषेधाज्ञा-Sutra News

सिन्धुपाल्चोक र सुनसरीमा थप एक साता निषेधाज्ञा

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

सिन्धुपाल्चोक- छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।



आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ १४ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो। त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड–१९ का सङ्क्रमित देखिएकाले थप फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले जानकारी दिए।

यस निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।

लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।

सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा
सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ। यो भन्दा अगाडिको बैठकले आज राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तथा फैलिन नदिन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रजिअ पोखरेलले बताए। अति आवश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट