घरवारविहिनको विवरण विपद् समितिमा पठाइने-Sutra News

घरवारविहिनको विवरण विपद् समितिमा पठाइने

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

तनहुँ–व्यास नगरपालिकाले गत असार २९ र त्यसपछि परेको वर्षाका कारण आएको बाढीपहिरोले क्षति भएका घरहरुको विवरण जिल्ला विपद् समितिमा पठाउने भएको छ। बाढीपहिरोले घर क्षति भएकाहरुलाई सरकारले राहत दिने निर्णय गरेपछि नगरपालिकाले त्यस्ता घरहरुको विवरण विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो।



कार्यपालिकाको बैठकले क्षति भएका घरहरुको विवरण वडाबाट सङ्कलन गरी विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार भदौ १४ गतेभित्र वडाहरुबाट क्षति भएका घरहरुको विवरण सङ्कलन गर्ने निर्णय गरिएको छ ।

बैठकले कोभिड–१९ को नियन्त्रण, उपचार एवम् रोकथामका लागि हालसम्मको प्रगति विवरणउपर समीक्षा गर्नुका साथै क्वारेन्टिनको वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाभित्रका सामुदायिक भवनलाई प्रयोग गर्ने निर्णय गरेको छ । साथै नगरसभाबाट पारित वडा र नगरस्तरीय योजना कार्यान्वयन गर्न कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। कोभिड–१९ र लकडाउनका कारण नगरसभाले पारित गरेका विकास योजना प्रभावित भएका छन् ।

बैठकले व्यास–३ देउरालीनगरमा रहेको निर्माणाधीन बधस्थलको अधुरो कार्य सम्पन्न गर्न तत्काल प्रक्रिया अगाडि बढाउने, फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइई) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट