पार्टी नेतृत्वका लागि नेपाली कांग्रेसका पुुराना पुुस्ताका नेताहरूले उम्मेदवारी घोषणा गरिरहँदा कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वको जिम्मेवारी युवाको काँधमा ल्याउन बहस र छलफल चलाएका छन्। जस्तो, २७ साउनमा १२ जना ‘युवा’ केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गरेर नेतृत्व हस्तान्तरणको माग नै गरे । त्यसमध्ये एक थिए, केन्द्रीय सदस्य बद्री पाण्डे। तिनै पाण्डेसँग नेतृत्व हस्तान्तरण, सभापति देउवाको कार्यकाल, आगामी योजना लगायतका विषयमा गरिएको कुराकानी:
कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा तोकिएकै मितिमा महाधिवेशन होला त?
तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न व्यवधान ल्याउन सक्ने दुई जटिल विषय छन्। त्यसमध्ये कोरोना पहिलो हो। यसले हामीलाई समस्या पारिसक्यो। दोस्रो समस्या, समयमै संगठन र सदस्यता सम्बन्धी काम नगरिनु हो। २०७४ को चुनावपछि अधिवेशनको तयारी गरौं, गत फागुनमा विशेष महाधिवेशन गरौं भन्ने सम्मका कुराहरू उठेका थिए। त्यतिबेलासम्म कोरोनाको असर खासै थिएन।
गत कात्तिक मसान्तसम्म जिल्लाहरूमा समायोजनको काम गर्नुपर्ने थियो। तर अहिलेसम्म पनि प्रदेश–२ का सबै जिल्ला र पहाडका २/३ वटा जिल्लामा अहिले पनि समायोजन सकिएको छैन। कार्यतालिका अनुसार पहिले समायोजनको काम सक्ने र त्यसपछि निर्वाचनका अन्य काम अगाडि बढाउने थियो।
त्यसका लागि केन्द्रीय समितिले, केन्द्रीय कार्यालयले, केन्द्रीय सभापतिले केन्द्रीय निर्वाचन समितिले पहल कदमी गर्नुपथ्र्यो। त्यो नगरेको कारणले समायोजनको समस्या ज्युँका त्यूँ छ। समायोजन नभएका जिल्लामा यो काम गर्न समस्या छ, अहिले त काम गर्ने वातावरण नै छैन। पुरानो परम्परा अनुसार कुनै अलोकप्रिय निर्णय गर्नुपर्ने भए केन्द्रीय नेतृत्वले गर्थ्यो। अहिलेको नेतृत्वले अलोकप्रिय हुने डरले यस्ता कुुरा भन्नै छोड्यो। यसै कारण फागुनमा महाधिवेशन हुन सक्दैन भन्न पनि सकिरहेको छैन।
नेतृत्व पुस्तान्तरणका लागि युवा नेताहरूको तयारी कस्तो छ?
युवा भनेको पुरानो पुस्ताभन्दा वर्तमानको पदचापलाई बढी अनुभूत गर्ने पुस्ता हो। हामीभन्दा पनि पछिल्लो पुस्तामा यसको अनुभूति हुन्छ। नयाँ कुरालाई सुन्ने, महसुुस गर्ने, संवेदनशील हुने, आत्मसात गर्ने जुन खालको ‘ट्रेण्ड’ हुन्छ, सोही अनुसार हामी चलेका छौं। उमेरले नेटो काटिसकेका, लामो योगदान गरेका, पटक–पटक परीक्षण भइसकेकाहरू पार्टी नेतृत्वमा दोहोरिएर–तेहोरिएर अन्तिम अवस्थासम्म पनि पदमै टाँसी रहने परम्परा, संस्कार र संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने आवाज व्यापक छ। त्यो आवाजलाई (नेतृत्व) उहाँहरूले कम सुन्नुहुँदो रहेछ। हामीले बढी सुनेका हुन्छौं।
किनभने हामी नै बढी अन्तक्रियामा छौं। हामी ‘ग्रासरूट’ मा पुगेका छौं। हामीलाई सचिवालयले रोक्दैन। स्वकीय सचिवले रोक्दैन। सिधै टेलिफोन उठाउछौं। जानपर्ने ठाउँमा कुनै ‘सेक्युरिटी’ र ‘स्कर्टिङ’ विना जान्छौं। पुराना पुस्ताका नेताहरूले लामो समय संघर्ष गर्नुभयो। देशका लागि धेरै योगदान गरिसक्नुभयो। देशले पनि उहाँहरूलाई यथोचित भूूमिका प्रदान गर्यो। एउटा उत्कर्षमा उहाँहरू पुगिसक्नुभयो। त्योभन्दा माथि केही पनि छैन भन्ने खालको बुझाइ भएकोले पार्टी नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भन्ने दवाब सिर्जना भएको छ। सैद्धान्तिक रूपमा हामी यही विचारको पक्षमा छौं।
विज्ञप्ति जारी गरिसकेपछि तपाईहरूबीच पुनः छलफल भएको छ कि छैन ?
छैन। सामान्य अनौपचारिक कुराकानी भएको छ। छलफल गर्ने तयारीमा चाहिँ छौं।
युवा नेताहरूबीच अहिले एकता भएजस्तो देखिएको छ । तर, यो एकता महाधिवेशनसम्म जीवित रहला ?
तपाईंले भनेको एकदम सत्य हो। हामी गुटमा विभाजित हुन्छौं। एउटा परिवेशमा भावावेशमा आउँछौं, एक ठाउँमा उभिन्छौं। कालान्तरमा विभाजित हुन्छौं। आआफ्नो बाटो लाग्छौं। त्यसैले अब हामीले निर्णायक घडीमा पनि एकढिक्का हुने चरित्र देखाउनुपर्छ। हामीभित्रैका युवाले पनि गलत सन्देश जानेगरी काम नगरौं। म हुँदैमा या अर्को कोही हुँदैमा जादू हुनेवाला छैन। हाम्रा वरिष्ठहरूबाट सिकेर सामूहिक नेतृत्वको अवधारणा ल्याउने, सामूहिक छलफल गर्ने, जस–अपजसको भागीदार पनि सामूहिक रूपमा हुने परिपाटी विकास गर्नुुपर्छ। ‘डेमोक्रेशी’ मा व्यक्ति प्रधान हुँदैन, ‘अटोक्रेशी’ मा हुन सक्छ। ‘डेमोक्रेशी’ मा पद्दति प्रधान हुन्छ। हामी पद्दतिलाई कसरी स्थापित गर्नेतिर लाग्नु पर्छ।
अहिले पनि युुवाहरुमा महाधिवेशनबाट ‘म के हुन्छु’ भन्नेतर्फ छलफल केन्द्रीत देखिन्छ। नेपाली कांग्रेसको युवा पुस्तामा यतिबेला कोलाहल र आकांक्षा तीब्र देखिन्छ। आकांक्षा त स्वभाविक हो, तर आफूलाई मात्रै प्रधान बनाउनु भएन। यतिबेला हाम्रो उद्देश्य के हुुनुुपर्छ भने, ‘हामी सामूहिक रूपमा एउटा निर्णयमा पुग्छौं । र, नेपाली कांग्रेसलाई पद्दतिप्रधान पार्टीका रुपमा रूपान्तरण गर्छौं । देशलाई पनि पद्दतिमा लैजान्छौं।’ यसै अनुसार कार्यशैली अगाडि बढाउन सके सही बाटोमा जान सक्छौं।तर अहिले हाम्रा संकेत यततर्फ उन्मुख छैनन्। धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि आफूलाई केन्द्रविन्दु बनाउने प्रवृतिले आवश्यकतालाई सम्बोधन गर्न सक्दैनौं। इमान्दारीका साथ पार्टी र देशलाई कतातिर लैजाने भन्ने विषयमा छलफल गर्नुपर्छ । यसो गर्न सकियो भनेमात्र अहिले देखिएका जटिलता समाधान हुन्छन्।
कांग्रेसको वर्तमान नेतृत्वले निरन्तरता पायो भने भोलिको कांग्रेस कस्तो होला?
अहिले एकदम निराशाको स्थिति छ। सभापति शेरबहादुर देउवा र उहाँको समकालीन पुस्तालाई अपमान गरेर, लाञ्छित गरेर, आरोपित गरेर विदावारी हुनुहोस् भन्न मिल्दैन । ‘पार्टीको सभापति हुन्छु, प्रधानमन्त्री हुन्छु, मन्त्री हुन्छु, उच्च पदमा पुग्छु’ भन्ने आधारमा मात्रै उहाँहरूले आन्दोन र संघर्ष गर्नुभएको होइन। ‘आवस्यक पर्यो भने डेमोक्रेशीका लागि जीवन उत्सर्ग गर्छु, शहीद बन्छु’ भन्ने खालको जोखिम मोलेर राजनीतिमा आउनुभएको हो । उहाँहरूको योगदान र संघर्षले नै पञ्चायती व्यवस्था ढल्यो। उहाँहरूको संघर्षलाई हामीले बिर्सनु हुन्न। पछिल्लो पुस्ता पार्टी नेतृत्वमा पुगेपनि पुरानो पुुस्तालाई सम्मान गर्न कुनै कसुर बाँकी राख्नुहुन्न।
हाम्रो संघर्ष पार्टीमा पद्धति निर्माणका लागि हो। हामीले नेतृत्व नयाँ पुस्तामा जाने वातावरण बनाउन खोजेका हौँ। हामीपछिको पछिल्लो पुस्तालाई पार्टी र देश कसरी राम्रोसँग चलाउने भन्ने देखाउन चाहन्छौं।
हाम्रो संघर्ष पार्टीमा पद्दति निर्माणका लागि हो। हामीले नेतृत्व नयाँ पुस्तामा जाने वातावरण बनाउन खोजेका हौँ। हामीपछिको पछिल्लो पुस्तालाई पार्टी र देश कसरी राम्रोसँग चलाउने भन्ने देखाउन चाहन्छौं। तर, पुुरानो पुुस्ताले अन्तिमसम्म पनि छाडेन भने त्यो क्षमता हामी पछिको पुुस्तालाई देखाउने मौका हामीले पाउनेछैनौँ। त्यसैले, पुुरानो पुुस्ताका नेताहरुलाई सम्मान गर्दै, अभिभावकका रूपमा राख्दै कार्यकारी भूमिकाको नेतृत्व हामीले गरौं भन्न खोजेका हौँ।
दुई पटक केन्द्रीय सदस्य हुनुभयो। आगामी महाधिवेशनमा पनि केन्द्रीय सदस्यमै सीमित रहने या त्योभन्दा माथिको जिम्मेवारी लिने, के छ तपाईंको तयारी?
१२ औं महाधिवेशनमा सेती अञ्चलबाट भौगोलिक प्रतिनिधित्व गरेको थिएँ, केन्द्रीय सदस्यको रूपमा। अञ्चलनबाट प्रदेश बनिसकेकाले १३ औं महाधिवेशनमा प्रदेशको नभई खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य भएँ। अहिले साथीहरूले पदाधिकारीमा जान सल्लाह दिनु भएको छ। पदाधिकारी भएपछि भूमिका पनि निर्णायक हुन्छ। पार्टीमा थप योगदान पनि गर्न सकिन्छ।
पदाधिकारीमा आकांक्षा राख्नेहरुको संख्या ठूलै छ।
यस्तो स्थितिमा अवसर पाउनु होला?
पदाधिकारीको संख्या बढेको छ। त्यसैले, सम्भव छ जस्तो लाग्छ। जस्तो, समावेशी हिसावले ८ जना सहमहामन्त्रीको वैधानिक प्रवन्ध छ। महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारु, खस–आर्य र पिछडिएको क्षेत्रबाट यो जिम्मेवारीमा प्रतिनिधित्व हुन्छ। महासमितिले विधान बनाउँदा कम्तिमा सहमहामन्त्री सम्ममा समावेशी सुनिश्चित गरौं भनेको छ। त्यसभन्दा माथि महामन्त्री, उपसभापतिको पनि संख्या थपिएको छ। यसैपनि संख्या बढेको हुनाले पदाधिकारीमा धेरै जनाको उपस्थिति र प्रतिनिधित्व सम्भव छ।
केन्द्रीय सदस्यको हैसियतमा भन्नुुपर्दा सभापति देउवाको कार्यकाल कस्तो रह्यो?
संविधान जारी भएपछि नेपालको राजनीतिक कोर्स परिवर्तन हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था आइसकेको थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री हुनुभएपछि वैदेशिक सम्बन्धमा आएको उतार–चढावको कुरा होस् वा देशभित्रका अन्य शक्तिलाई निषेध र तिरस्कार गर्ने परिपाटीको प्रारम्भ भएको विषयले गर्दा देशको राजनीति सही ‘ट्र्याक’ मा नजाने खतरा थियो। संविधानमाथि प्रश्न उठेको थियो। संविधान जलाइएको थियो।
त्यो अवस्थामा केपी ओलीलाई विस्थापन गराउने सन्दर्भमा कांग्रेसको भूमिका रह्यो। पुष्पकमल दाहाल (प्रचण्ड) र हाम्रो सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बनेर देशलाई सहमतिको राजनीतिमा लिएर जानुभयो। ‘संविधान मान्दैनौँ’ भन्ने शक्तिलाई समेत तीन तहको निर्वाचनमा लिएर गयौं। संविधानको स्वीकार्यता बृद्धि गर्नुु वास्तवमा ठूलो उपलब्धि हो। हो, निर्वाचनमा पार्टी पराजित भयो, तर संविधानले जित्यो, देशले जित्यो। सभापति देउवाको कार्यकालको समीक्षा गर्दा उहाँको यो भूमिका हामीले बिर्सनु हुँदैन।
जहाँसम्म पार्टी–व्यवस्थापनको कुरा हो, उहाँको कार्यकाल आन्तरिक अभ्यासका दृष्टिले निकै कमजोर देखियो। गत फागुनमा नै कार्यकाल सकिएपछि थपिएको यो विशेष परिस्थितिमा सभापति पार्टीका विभागरू बनाउँदै हुनुहुन्छ। यो गलत हो। यस हिसावले देउवाको कार्यकाल फलदायी भएन भन्ने ठान्छु।