काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको पदावधि केही समयपछि सकिँदैछ। चार वर्षअघि सिइओमा नियुक्त भएका कुलमानको पदावधि भदौ २८ गते सकिँदैछ।
कुलमानको पदावधि सकिँदैगर्दा प्राधिकरणमा उनलाई फेरि दोहोर्याउनुपर्ने आवाज समाजिक सञ्जालमा उठिरहेको छ। कलाकारदेखि सर्वसाधारणसम्म सबैले उनलाई अर्को कार्यकाल पनि दोहोर्याउनुपर्ने माग राखिरहेका छन्।
अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा कुलमान घिसिङसँगको तस्बिर राख्दै आगामी कार्यकालका लागि पनि कुलमानलाई नै नियुक्त गर्नुपर्छ उल्लेख गरेकी छन्। ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्। कुलमन घिसिङ फेरि चाहिन्छ,’ उनले फेसबुकमा लेखेकी छन्।
त्यस्तै अर्की अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो फेसबुक स्टोरीमा कुलमानलाई फेरि नियुक्त गर्नुपर्ने उल्लेख गरेकी छन्। उनले स्टोरीमा ह्यासट्याग कुलमान घिसिङ भन्दै पोष्ट गरेकी छन्।
त्यस्तै, झापाका राजेन्द्र घिमिरेले पनि कुलमानलाई पुनः कार्यकाल थप गरेर विद्युत प्राधिकरणको सिइओ बनाउनुपर्ने उल्लेख गरेका छन्। उनले विगतमा नेपालमा हुने गरेको लोडसेडिङ र कुलमान आएछिको अवस्थालाई तुलना गर्दै फेसबुकमा स्टाटस लेखेका छन्।
‘दैनिक १८-१८ घण्टा लोडसेडिङ भोगेका हामी आम नागरिकलाई २४ घण्टा विद्युत उपलब्ध हुनु, २७ अर्ब घाटामा गएको संस्थालाई ४ वर्षभित्र वार्षिक ११ अर्ब नाफामा पुर्याउनु र तिनै व्यक्तिलाई आगामी कार्यकालका लागि काम गर्न दिनुपर्छ भनी जनस्तरबाट व्यापक आवाज उठाउनु एकदम जायज हो,’ उनले लेखेका छन्।
गायिका अभया सुब्बाले पनि आफ्नो फेसबुकमा कुलमानको समर्थनमा पोष्ट गरेकी छन्। कुलमान आउनुअघि प्राधिकरणको प्रमुख रहेका मुकेशराज काफ्लेले गरेको कामसँग तुलना गर्दै उनले कुलमानले नेपालीलाई अन्धकारबाट बाहिर ल्याएको उल्लेख गरेकी छन्। ‘मुकेशराज काफ्ले प्रमुख हुँदा हामी कति अन्धकारमा थियौं। हामीले यो कुरालाई व्यापक बनाउनुपर्छ र हामीलाई कुलमान नै फेरि चाहिन्छ,’ उनले लेखेकी छन्।
त्यस्तै, रेडियो प्रस्तोता सविना कार्कीले पनि फेसबुकमा तस्बिर राख्दै कुलमानलाई फेरि दोहोर्याउनुपर्ने बताएकी छन्। ‘कुलमानजस्ता कुशल मान्छे हिजो चाहिन्थ्यो, आज चाहिन्छ र भोलि चाहिन्छ। देश उज्यालो बनाउने मान्छे हामीलाई सधैं चाहिन्छ,’ उनले लेखेकी छन्।
सामाजिक सञ्जालमा अहिले कुलमानको समर्थनमा यस्ता थुप्रै पोष्टहरु आइरहेका छन्। ह्यासट्यागमा ‘कुलमान घिसिङ’, ‘सपोर्ट कुलमान घिसिङ’ लेखेर उनको समर्थनमा थुप्रैले आवाज उठाइरहेका छन्।
कुलमान र मुकेशराज काफ्लेको तस्बिर राखेर यी दुईको कामको तुलना गरी विभिन्न ट्रोलसमेत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।