बाढीपीडितलाई अमेरिकाबाट आर्थिक सहयोग-Sutra News

बाढीपीडितलाई अमेरिकाबाट आर्थिक सहयोग

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

मार्तडी–लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले आर्थिक सहयोग गरेका छन्। अमेरिकामा बसोबास गर्नेहरुले आर्थिक सङ्कलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले बताए।



बाजुरालगायत सुदूरपश्चिम घर भई हाल अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा रु छ लाख ६३ हजार २८० राहत सङ्कलन गरेर पठाएको अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका पदमबहादुर शाहीले बताए।

अमेरिकामा सङ्कलन गरिएको रकम पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाइसकेको शाहीले बताए। सङ्कलित रकम जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा पीडितलाई हस्तान्तरण गरिने भएको छ। बाढी र पहिरोबाट घरबास विस्थापित भएका र मृत्यु भएका पीडितलाई नगद राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीसँग बसेर टुङ्गो लगाइएको छ।

प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा बडीमालिका नगरपालिकाका बाढीबाट विस्थापित भएका ३८ परिवारलाई रु आठ हजारका दरले रु तीन लाख चार हजार र बाढीमा बेपत्ता भएकी घागरकी ऐसेनी महतका आफन्तलाई रु २० हजार प्रदान गर्ने सहमति भएको छ।

यस्तै गौमुल गाउँपालिकाका बाढीबाट विस्थापित परिवारलाई रु आठ हजारका दरले रु एक लाख ६० हजार, मृतक अनिश विकका आफन्तलाई रु २० हजार, बूढीनन्दाका विस्थापित सात परिवारलाई रु आठ हजारका दरले रु ५६ हजार र मृतक झिमु ल्वारका आफन्तलाई रु २० हजार दिने गरी समन्वय भएको हो।

त्यस्तै पहिरोमा बूढीगङ्गा नगरपालिकाका धर्मराज पाध्यायको आफन्तलाई रु २० हजार, बाढीले बगाएकी हिमाली गाउँपालिकाका बालिका इशु नेपालीका आफन्तलाई रु २० हजार र पहिरोमा परी मृत्यु भएकी बालिका सीमा बुढाका आफन्तलाई रु २० हजार राहतस्वरुप नगद सहयोग गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट