काठमाडौं- सन् २०१९ को अन्त्यतिर, चीनको उहानबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन थालेपछि काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले तिब्बतको न्याक्सोस सिटीका प्रमुखलाई सम्बोधन गर्दै एउटा इमेल लेखे।
‘चीनमा कोभिड–१९ को संक्रमण तीब्ररुपमा संक्रमण फैलिरहेको छ, तपाईँको नगरपालिकालाई पनि पक्कै त्यसले असर पारेको होला,’ इमेलमा उनले लेखेका थिए, ‘टोखा नगरपालिका र यहाँको जनसमुदायबाट के कस्तो सहयोग गर्नुपर्छ, हामी तयार छौं।’
त्यतिबेला न्याक्सोस सिटी र टोखा नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध अगाडि बढ्ने प्रक्रियामा थियो। महामारीको सामना गर्न तयार भएर बसेको उक्त नगरका प्रमुख मेयर अधिकारीको इमेल पाएपछि खुसी भए उनले ‘रिप्लाइ’ पठाए, ‘अहिले हाम्रो सहरमा संक्रमण छैन। यद्यपि, चीनमा संक्रमण भएको विषयवस्तुलाई जोडेर जुन सहयोगको प्रतिबद्धता देखाउनुभयो, त्यसका लागि म अत्यन्त आभारी छु। मैले हाम्रो सम्बन्ध प्रगाढ भएको महसुस गरेको छु।’
विश्वव्यापी बन्दै गएको संक्रमण नेपालमा समेत फैलियो। दिनानुदिन थप नेपाली संक्रमित हुँदै गएका छन्। काठमाडौंको टोखा नगरपालिका पनि यसबाट अछुतो छैन।
‘गुनको बदला गुन’ भनेजस्तै टोखा नगरपालिकामा पनि संक्रमितहरुको संख्या बढिरहेको छ भन्ने जानकारी पाएपछि न्याक्सोस सहरका प्रमुखले पनि नगरप्रमुख अधिकारीलाई सम्झे। उनलाई उताबाट इमेल आयो, ‘हामीलाई दुःख परेको बेला तपाईँहरुले सम्झिनुभयो। तपाईँको नगरपालिकामा स्वभाविकरुपमा संक्रमण दर बढ्दो क्रमलाई मध्यनजर गर्दै नियन्त्रणको लागि स्वास्थ्कर्मीलाई उपयोगी हुने सामग्री पठाउन तयार छौं। यसले कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने हामीलाई लागेको छ।
उताबाट आएको अनुरोधलाई टोखा नगरपालिकाले हार्दिकताका साथ स्वीकार गर्यो।
नेपाली समाजमा नकरात्मक भावमात्र छैन, सकरात्मकता पनि उत्तिकै छ। राम्रो काम गर्नेहरुले प्रोत्साहन र हौसला पनि पाउँछन्। कोभिड-१९ बाट संक्रमितहरुको मनोबल उच्च पार्न उनले नगरपालिकाले उपरोक्त निर्णय गरेको थियो, जसले अरुले नहेरे ‘स्थानीय सरकार छ, त्यसले हेर्छ है’ भन्ने सन्देश पनि दिलायो।
न्याक्सोस सिटीबाट ३ महिनाअघि ६५ लाखको सामान टोखा नगरपालिकाले सहयोग प्राप्त गर्यो। तिनमा मास्क, पीपीई, सेनिजाइजर, टिस्यु पेपर, ग्लासलगायतका अन्य उपकरणहरु थिए।
‘यो संकटको घडीमा न्याक्सोस सिटीले पठाएका ती सामाग्रीबाट यहाँ दैनिकरुपमा ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको छ, स्वाव परीक्षणका लागि पनि ती सामाग्री उपयोगी भएका छन्,’ नगरप्रमख अधिकारी सुनाउँछन्, ‘दैनिक ८-१० जना स्वास्थ्यकर्मीले स्वाव लिने गरेका छन्। स्वाव लिँदा लगाउने पीपीईलगायत सामग्रीका कारण हामीलाई कोभिड-१९ विरुद्धको लडाईँमा सहज भएको छ।’
नगरप्रमुख अधिकारी न्याक्सोस सिटीको सहयोगले नै अहिलेसम्म आफूहरुलाई काम गर्न सहज भएको बताउँछन्। भन्छन्, ‘मैत्रीपूर्ण सम्बन्धले अप्ठेरो परिस्थितिमा साथ दिने रहेछ, यति महत्वपूर्ण साथ पाएकोमा हामी न्याक्सोस सिटीप्रति आभारी छौं।’
टोखा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि जस्तो भूमिका निर्वाह गरिरहेको छ, काठमाडौंभित्रका अन्य नगरपालिकाको तुलनामा उदाहरणीय छ। र, यही कारण नगरपालिका नेतृत्वको प्रशंसासमेत भइरहेको छ।
नगरपालिकाले केहीदिन अघि एउटा निर्णय गरेको थियो- आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई दैनिक ३ सय ५० रुपैयाँ भत्ता दिने।
कोभिड-१९ समुदायमा गइसकेको छ। यस्तो स्थितिमा जो कोही यसबाट संक्रमित हुनु उसको अपराध होइन। सामान्य अवस्थाको मानिसमा आत्मबल भयो भने उसले कोभिड-१९ लाई सहजै पराजित गर्न सक्छ।
तर, कतिपय ठाउँमा कोही कोभिड-१९ बाट संक्रमित भयो भने त्यसलाई अपराधिजस्तो व्यवहार गरियो। ‘फ्रन्टलाइन’मा खटिएर संक्रमित भएका स्वास्थ्यकर्मीलाई अपमान गरिएका समाचार सार्वजनिक भए। काठमाडौंको मुटु बानेश्वरमै स्वास्थ्यकर्मीहरु सेल्टर लिएर बसेको घर घेराउ गर्ने काम भयो। संक्रमितहरुको मनोबल बढाउने भूमिका खेल्नुपर्ने बेला यस्ता कृत्यहरु साँच्चिकै घृणायोग्य थिए।
खासमा संक्रमित भएका बेला पोसिलो खानेकुरा जरुरत पर्ने बताउँदै नगरपालिकाले संक्रमित व्यक्तिहरुलाई दैनिक ३ सय ३० रुपैयाँ भत्तास्वरुप दिने निर्णय गरेको थियो। टोखा नगरपालिकाको जुन निर्णय थियो, त्यो कोभिड-१९ बाट संक्रमितहरुको स्वास्थ्यलाई ख्याल गर्दै उनीहरुको मनोबल बढाउन गरिएको थियो।
टोखा नगरपालिकाले गरेको यो निर्णयबारे विभिन्न सञ्चारमाध्यमले प्रशंसा गर्दै समाचार पनि प्रकाशित गरे। नगरप्रमुख अधिकारी भन्छन्- ‘धेरैले मुक्तकण्ठले प्रशंसा गरेका छन्। सही बेलामा सही निर्णय गर्यो भनेर भनिरहेका छन्।’
नेपाली समाजमा नकरात्मक भावमात्र छैन, सकरात्मकता पनि उत्तिकै छ। राम्रो काम गर्नेहरुले प्रोत्साहन र हौसला पनि पाउँछन्। कोभिड-१९ बाट संक्रमितहरुको मनोबल उच्च पार्न उनले नगरपालिकाले उपरोक्त निर्णय गरेको थियो, जसले अरुले नहेरे ‘स्थानीय सरकार छ, त्यसले हेर्छ है’ भन्ने सन्देश पनि दिलायो।
समाजबाट जस्तो प्रतिक्रिया प्राप्त भयो, त्यसले नगरपालिकाको मनोबल र हौसला अरु बढायो। अनि, सँगसँगै नगरपालिकाले यसै हप्ता अर्को निर्णय गर्यो, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको तलबमा १ सय ५० प्रतिशत भत्ता दिने निर्णय। यो निर्णयले ‘फ्रन्टलाइन’ उभिएका स्वास्थ्यकर्मीमा हौसला बढेको नगरप्रमुख अधिकारीको ठम्याइ छ।
‘स्वास्थ्यकर्मीलाई हामीले वर्गीकरण गरेका छौं। जो आइसोलेसन राखिएका ठाउँमा स्वाव संकलनका लागि प्रत्यक्षरुपमा फ्रन्टलाइनमा खटिनुभएको छ उहाँहरु अत्यन्तै जोखिमयुक्त स्थितिमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले जोखिम मोलेर गरेको काममा उत्प्रेरणा र उत्साह होस् भनेर तलबको १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेका हौं।’
यतिमात्र होइन, यो नगरपालिकाले आफ्नो क्षेत्रभित्र कोभिड-१९ को संक्रमण थप फैलिन नपाओस् भनेर सय वटा स्कूललाई मास्क र थर्मल पनि बाँडेको छ।
नगरमा हालसम्म १ सय २० भन्दा बढीको कोरोना संक्रमण देखिएको छ भने ४५ भन्दा बढी निको भएर घर गइसकेका छन्। हालसम्म ३५ जना ‘होम आइसोलेसन’ मा छन्।
टोखा नगरपालिकासँग हालः १७ बेडको आइसोलेसन छ। नगरप्रमुख अधिकारीका भनाईमा, बाँकी १५ बेड थप्ने तयारीमा नगरपालिका रहेको छ।
संक्रमण नियन्त्रण गर्न पीसीआर दायरा बढाइरहेको नगरप्रमुख अधिकारी बताउँछन्। ‘हामीले १५ सय जति पीसीआर टेस्ट गराइसकेका छौं। एक दिन बिराएर लगभग डेढ सयको स्वाव परीक्षण गरिरहेका छौं,’ उनी भन्छन्, ‘परीक्षणको दायरा अझै बढाउने योजनामा छौं।’
नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि टिम पनि बनाएको छ। प्रत्येक वडामा फ्रन्टलाइनमा खटिएर काम गरिरहेकाहरुको पनि परीक्षण गराउन निर्देशन दिइसकेको छ। साथै कोरोनासम्बन्धी बीमा गरिदिएर स्वयंसेवक दस्तासमेत तयार पारेको छ।