सैनामैनासँग जोडिएका सीमा बन्द-Sutra News

सैनामैनासँग जोडिएका सीमा बन्द

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चार सहित २३ मा कोरोना सङ्क्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ।



सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेष्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका ब्यापारी र आवतजावत गर्न रोक लगाइएको छ।

वडा नं ११ का वडाध्यक्ष सनिल मरासिनीले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गरे। वडा नं ११ को दक्षिण सीमामा पर्ने कञ्चन गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन्।

नगरपालिकाको वडा नं ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टिाइनमा बस्न निर्देशन गरेको छ।

सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले आज सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बासगढी बजार क्षेत्रलाई बन्द गरिएको बताए। नगरपालिकाको वडा नं ९को वडास्तरीय विपद् व्यवस्थापन समितिले कञ्चन गाउँपालिका वडा नं १ स्थित लौसामा कोरोना सङ्क्रमण देखिएकाले छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ।

वडा नं ९ का वडाध्यक्ष डोलराज भण्डारीले आज सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ। नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले आज सूचना जारी गर्दै सङ्क्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताए। भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालकमा समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास वढेको छ।

सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ। कोरोना सङक्रमित १८ देखि ४५ वर्षसम्मका छन्। सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ। रुपन्देहीका विभिन्न स्थानीय तहमा मङ्गलवार मात्रै ६९ कोरोना सङक्रमित फेला परेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट