झापामा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकास्थित कामाटोलीमा भएको झडपमा प्रहरीको गोलीबाट स्थानिय रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले बताए ।
बुधबार दिउँसो साढे १२ बजे कटुवामारी भन्ने स्थानियबाट प्रहरीले गोरु काटेको अभियोगमा ५२ वर्षिय अबदुल सलाम र ५० वर्षिय ताजबुल हकलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई स्थानिय इलाका प्रहरी कार्यलयबाट मुद्दा थप तथा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय झापा लाने क्रममा स्थानियवासीले घेराउ गरेका थिए । ‘प्रहरीको गाडी तोडफोड गर्ने र हतियार खोस्नेसम्मको स्थिती सिर्जना भएपछि प्रहरीले स्थिती नियन्त्रण गर्न हवाइफायर गरेको थियो,’ डिआइजी अर्यालले सूत्रन्यूजसँग भने, ‘तैपनि स्थानिय नरोकिएपछि प्रहरीले घुडामुनी गोली हान्ने क्रममा आलमको मृत्यु भएको हो । ’
भिडलाई तितरबितर बनाउन सशस्त्र प्रहरी बलको टोलीले हवाइफायर गर्ने क्रममा गोली लागेका आलमलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिआइजी अर्यालका अनुसार झडपमा क्रममा शसस्त्रका तर्फबाट एक र जनपथका तर्फबाट दुई प्रहरी घाइते भएका छन् । त्यस्तै गोरु काटेको अभियोगमा पक्राउ परेका सलाम र हकलाई हाल इलाका प्रहरी कार्यलय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।