काठमाडौं- डिएसपीसहित २२ जना प्रहरी कोरोना भाइरस संक्रमित भएका छन्। बुधबार आएको रिपोर्टअनुसार महानगरीय प्रहरी वृत्त, महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन्। एक जना निको भइसकेका छन्।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको एसपी राठौरको भनाइ छ। उनले भने, ‘लक्षण देखिएपछि मात्रै अस्पतालमा लगिएको छ। अरू होम आइसोलेसनमै छन्।’
महानगरीय प्रहरी परिसर महाराजगञ्ज वृत्तका एक थुनुवासँगै उनीसँग सम्पर्कमा आएका सात प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महाराजगन्जमा यि सबै प्रहरीमा हत्या अभियोगमा पक्राउ परेका थुनुवाबाट संक्रमण सरेको प्रहरीले जनाएको छ । गत साउन ३० गते काठमाडौंस्थित मनमैजुमा नुवाकोटका लक्ष्मण तामाङलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाको परिक्षण गर्दा प्रहरीमा पनि संक्रमण देखिएको हो ।