काठमाडौं–रौतहटको माधवनारायण नगरपालिका–२, खेसहरियास्थित हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गरेको छ। मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक र सबै जिल्ला प्रशासन कार्यालयहरूलाई विरोध प्रदर्शन रोक्न पठाएको गोप्य सर्कुलर बाहिरिएको हो।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका महानिरीक्षक र प्रमुख जिल्ला अधिकारीहरूलाई गोप्य र अत्यन्त जरुरी भन्दै पठाएको पत्रमा पूजारी हत्याको विरोधमा हने विरोध प्रदर्शनहरु रोक्न निर्देशन दिइएको छ।
भदौ ७ गते पठाइएको पत्रमा पूजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन र ज्ञापन पत्र बुझाउने कार्यहरू भएको बताउँदै अवाञ्छित गतिविधि रोक्न भनिएको छ।
मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा भनिएको, ‘घटनाको विषयलाई लिएर जिल्लाहरूमा हुनसक्ने अवाञ्छित गतिविधिहरू हुन र गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुनविपरितका कार्य भए/गरेको पाइएमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ।’
भदौ ३ गते राति करिब साढे ९ बजे खाना खाइरहेको अवस्थामा अज्ञात व्यक्तिहरूले ६५ वर्षीय पूजारी साहको गोली प्रहार गरी हत्या गरेका थिए। घटनाको ९ दिन बितिसके पनि प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन।