Logo

आइतवार, कार्तिक ९ गते २०७७

आफैंलाई किन मारिरहेका छन् प्रहरी ? 

आफैंलाई किन मारिरहेका छन् प्रहरी ? 

अनिल यादव

१५ भाद्र २०७७
  • 3.0K
    SHARES
  • आफैंलाई किन मारिरहेका छन् प्रहरी ? 

    घटना १-

    ‘तैंले मेरो जिन्दगी बर्बाद पारिस्, अब मेरो श्रीमतिलाई लगेर राम्रोसँग पाल्नू !’

    १६ असार (०७७) मा जिल्ला अदालत सुनसरीको छतमा आफ्नै पेस्तोलबाट आफैंलाई मार्नुअघि प्रहरी हवल्दार ओमप्रकाश खतिवडा आफ्नै श्रीमतीको प्रेमी विशाल तामाङसँग यस्तै शुभेच्छामिश्रित गुनासो पोखिरहेका थिए। र, खतिवडाको आत्महत्यापछि पक्राउ परेका तामाङले प्रहरीसँगको बयानमा ओकलेको सत्य यही थियो।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक रहेका हवल्दार खतिवडाले आत्महत्या गर्नुअघि तामाङसँग कुराकानी गरेको ‘कल डिटेल’ समेत प्रहरीले फेला पारेको थियो। एसपी थापाका अनुसार त्यसको केही समयअघि उनी श्रीमतीसँग पनि गफिएका थिए।

    त्यसपछि खतिवडाका दाइ तारानिधिले  दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई तत्काल पक्राउ गर्यो भने श्रीमतीलाई १३ दिनको काजिक्रियापछि। एसपी थापाका अनुसार अनुसन्धानका क्रममा खुलेका तथ्यका आधारमा खतिवडाकी श्रीमती र तामाङबीच दुइवर्षदेखि ‘अफयर’ मात्रै पुष्टि भएन, सोही कारण खतिवडाले आत्महत्या गरेको समेत देखियो। त्यसैले दुवैलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइयो। मुद्दाको फैसला हुन बाँकी छ। तर, दुवै अहिले धरौटीमा छुटिसकेका छन्।

    घटना २-

    ९ जेठ (०७७) साँझ महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत असई विष्णुप्रसाद कार्की ड्युटी सकेर कोठामा पुगेका थिए। तर, उनको अनुहार पहिलेजस्तो उज्यालो थिएन। वृत्तमा कार्यरत भइन्जेल सधैं कोठा आइरहने उनको भोलिपल्टदेखि नजिकैको हलचोक बिटमा डिउटी सरेको थियो। भनिरहेका थिए, ‘भोलिदेखि लकडाउनभर बिटमा बस्नुपर्ने भयो, घर आउन पाइँदैन।’ त्यसैले उनकी श्रीमति सबितालाई लाग्यो, सायद त्यही कारण आज श्रीमान्को ‘मुडअफ’ छ।

    शनिबार साँझ जतिबेला उनी ओढ्ने ओछ्याउने लिएर सरुवा भएको बिटतिर लागे, त्यतिबेला उनले श्रीमतीलाई भनेका थिए, ‘लकडाउन छ, महामारीको डर छ, बच्चाहरुलाई तल झर्न नदिनू, राम्रोसँग बस्नु है।’

    ‘अघिल्लो दिन घर आउन नपाइने भइयो भनेर मुख अँध्यारो बनाउनुभएको जस्तो लागेको थियो। भोलिपल्ट त्यस्तो घटना घट्यो। उहाँले त हामीलाई छाडेर जानुभयो। तर, ‘सुसाइड’ किन गर्नुभयो भन्ने प्रश्नले हामीलाई कहिल्यै नछाड्ने भयो। मनमा सधैँ यही प्रश्न खेलिरहन्छ।’


    यति प्रेमपूर्वक बच्चाहरुको चिन्ता प्रकट गरेर गएका उनी भोलिपल्ट आफैंले आफैंलाई मारेको अवस्थामा फेला पर्लान् भन्ने सबिताले कहिल्यै सोच्ने कुरै थिएन। तर, आइतबार बिहानै ८ बजे प्रहरीको भ्यानमा तीनजना महिला उनको कोठा आइपुग्दा उनी चकित भइन्।  ‘सरले बोलाउनुभएको छ, अफिसमा जाऊँ’ भन्दा एकछिन त उनले पत्याउनै सकिनन्। कारण, कहिल्यै कोही प्रहरीलाई उनले कोठामाथि ल्याएका थिएनन्,न पठाएका नै थिए। त्यसैले उनले जवाफमा फर्काएकी थिइन्, ‘होइन होला, तपाईंहरू झुक्किनुभयो।’

    तर, ‘हो’ नै भन्ने अडान आएपछि उनी प्रहरी भ्यान चढेर वृत्त पुगिन्। वृत्त पुगेपछि थाहा भयो, श्रीमान्‌ले आफ्नै बन्दुकबाट दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका रहेछन्। ०५५ सालमा प्रहरीमा भर्ति भएका उनले सेवा गरेको २२ वर्ष भइसकेको थियो। 

    तत्कालीन डिएसपी लालध्वज सुवेदीका अनुसार राति १२ बजे ड्युटी सकेर कोठामा सुत्न गएका उनले बिहान अबेरसम्म पनि ढोका नखोलेपछि ढोका फोरेर हेर्दा आफैलाई गोली हानी मारेको अवस्थामा मृत भेटिएका थिए उनी।

    ‘आँखाले केही देखिएन। पुलिसको घरभित्र घटेको घटना हो। उहाँहरु (प्रहरी)ले जे निष्कर्ष निकाल्नुभयो, त्यही पत्याइयो,’ यता विष्णुकी श्रीमती गीता बताउँछिन्।

    गीताका अनुसार परिवारमा त्यस्तो आर्थिक असन्तुष्टि केही थिएन, न कसैको ऋण दिनुपर्ने थियो, न लिनुपर्ने। ‘अघिल्लो दिन घर आउन नपाइने भइयो भनेर मुख अँध्यारो बनाउनुभएको जस्तो लागेको थियो। भोलिपल्ट त्यस्तो घटना घट्यो,’ गीता भन्छिन्, ‘उहाँले त हामीलाई छाडेर जानुभयो। तर, ‘सुसाइड’ किन गर्नुभयो भन्ने प्रश्नले हामीलाई कहिल्यै नछाड्ने भयो। मनमा सधैं यही प्रश्न खेलिरहन्छ।’

    उता डिएसपी सुवेदी भन्छन्, ‘विष्णु अन्तरमुखी स्वभावका थिए। कसैलाई केही सेयर गर्दैन थिए। आफ्नो ड्युटी गर्थे, घर जान्थे। केही कुरामा पीडा भएपनि मनभित्रै गुम्साएर राख्थे। त्यसैले किन आत्महत्या गरे, थाहा पाउन सकिएन।’

    000

    माथिका घटना कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा भएका दुई प्रहरीका आत्महत्या हुन्। तर,यो संख्या यतिमै सीमित छैन, पछिल्ला केही वर्षयता झन्झन् बढिरहेको छ।

    आइतबारमात्रै काठमाडौं, सुन्धारास्थित जंगी अड्डामा कार्यरत सिपाही तनहुँ, रानी पोखरीका २७ वर्षिया दामोदर क्षेत्रीले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरे। नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका बेला बिहान ३ बजे उनले आफूले बोकेको एसएलआर राइफलबाट घाँटीमा गोली हानी आत्महत्या गरेका हुन्। नौ वर्षदेखि सेनामा कार्यरत उनले किन आत्महत्या गरे, प्रहरी अनुसन्धानमा जुटेको छ।

    ‘पुलिसमा भर्ती भएपछि गाउँमा बाआमाको दुःख, आर्थिकस्थिति सबै सुधार गर्छु भन्ने लागेको हुन्छ, परिवारको आकांक्षा पनि त्यही नै हुन्छ। तर, जागिर सुरु भएपछि सोचेजस्तो हुन सक्दैन। त्यसपछि ऊ निराशाको अवस्थाबाट गुज्रिन्छ। प्रहरी आत्महत्याको सबैभन्दा ठूलो कारण यही हो जस्तो लाग्छ।’

    प्रहरी मुख्यालयको तथ्याङ्कअनुसार गत चार वर्षमा १६ जना प्रहरीले आत्महत्या गरिसके। तीमध्ये सबै तल्लो दर्जाकै छन्। सबैभन्दा बढी १२ जना प्रहरी जवान छन् भने तीनजना प्रहरी हवल्दार, एक जना प्रहरी सहायक निरीक्षक।

    अब प्रश्न उठ्छ, कानुन कार्यान्वयन गराउने निकायमा रहेका सुरक्षाकर्मी नै किन आत्महत्याको बाटो रोजिरहेका छन्? पूर्व प्रहरी प्रवक्तासमेत रहेका एआइजी निरज शाही भन्छन्, ‘प्रहरीको आत्महत्यापछाडि व्यक्ति र पारिवारिक समस्या हुनसक्छन्। तर, हामीले विश्लेषण नै गरेका भने छैनौं।’

    तर,पूर्वडिआइजी हेमन्त मल्ल पछिल्लो समय बढिरहेको प्रहरी आत्महत्या पछाडि पारिवारिक र सांगठिनक दुवै कारण जिम्मेवार रहेको बताउँछन्। ‘पुलिसमा भर्ती भएपछि गाउँमा बाआमाको दुःख, आर्थिकस्थिति सबै सुधार गर्छु भन्ने लागेको हुन्छ, परिवारको आकांक्षा पनि त्यही नै हुन्छ, ’उनी भन्छन्, ‘तर,जागिर सुरु भएपछि सोचेजस्तो हुन सक्दैन। त्यसपछि ऊ निराशाको अवस्थाबाट गुज्रिन्छ। प्रहरी आत्महत्याको सबैभन्दा ठूलो कारण यही हो जस्तो लाग्छ।’

    समाजशास्त्री डा.मीना उप्रेती समाजमा देखिएको अस्थिरता, विचलन, समस्या र निराशाको प्रभाव देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा समेत परिरहेको बताउँछिन्। ‘परिवारबाट टाढा हुनु, जागिरमा पदोन्नति नहुनु, राम्रो काम गरेपनि त्यसबाट ‘अवार्ड’ नपाउनु, समाजलाई प्रहरीले राम्रो नजरले हेर्न नसक्नुजस्ता कारणले प्रहरीमा निराशा पैदा गरिरहेको हुन्छ। त्यहीकारण ऊ आत्महत्याको बाटो रोज्न विवश भइरहेको छ,’ उनले भनिन् ।

    विवाहेत्तर सम्बन्ध
    प्रहरी अधिकृतहरु भन्छन्, ‘धेरैजसो प्रहरीहरु युवतीको चक्करमा लागेर आत्महत्या गरिरहेका छन्।’ पछिल्ला केही घटना केलाउँदा विवाहेत्तर सम्बन्ध पनि आत्महत्याको कारण देखिन्छ। हाल जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत डिएसपी लालध्वज सुवेदी एक वर्षअघि महानगरीय प्रहरी परिसर स्वयम्भु वृत्तको इन्चार्ज भएर पुगेका थिए। त्यतिबेला सम्पूर्ण प्रहरीलाई ब्रिफिङ गर्ने क्रममा उनले भनेका थिए, ‘परिवारसँगको सम्बन्धलाई राम्रो बनाउनू, नत्र मानसिक रुपमा समस्या हुनसक्छ।’

    ‘प्रहरीमा माथिल्ला तह अर्थात् अधिकृत तहकाहरु आफू सरुवा भएर जहाँ-जहाँ पुग्छन्, त्यहाँ-त्यहाँ परिवार लगिरहेका हुन्छन्, परिवारसँगै बसिरहेका हुन्छन्। तर, तल्लो दर्जाका प्रहरी आफ्नो कम तलबका कारण परिवारलाई आफूसँगै लैजान सक्दैनन्। त्यसपछि विवाहेत्तर सम्बन्ध जोडिने हो।’

    तर, दुर्भाग्य उनी पुगेको केही दिनमै वृत्तका एक प्रहरी जवान शंकर ठगुन्ना स्वयम्भुस्थित उनकै प्रेमिकाको कोठामा सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएको अवस्थामा फेला परे। अनुसन्धानबाट खुल्यो, प्रेमिकासँगको विवादपछि उनले झुण्डिएर आत्महत्या गरेका रहेछन्।

    डिएसपी सुवेदीका अनुसार, दार्चुलाका विवाहित ठगुन्ना ठूलो भर्‍याङ नजिकै बस्ने ती युवतीसँग ‘लिभिङ टुगेदर’ रहँदै आएका थिए। ‘युवतीले दिएको बयानअनुसार राति ११ बजेतिर खुट्टै टेक्न नसक्ने अवस्थामा मादक पदार्थ सेवन गरेर उनी कोठा पुगेका रहेछन्,’ डिएसपी सुवेदीले महिलाको बयानलाई उद्धत गर्दै भने, ‘त्यसपछि किन जाँड खाएर आएको भनेर गाली गर्दा उनीहरुबीच विवाद भयो। केही समयको विवादपछि युवती सुतिन्। सुतेकै बेला ठगुन्नाले आत्महत्या गरे। ’

    त्यसपछि प्रहरी जवानको परिवारले दिएको उजुरीका आधारमा ती युवतीलाई आत्महत्या दुरुत्साहनमा मुद्दासमेत चलाइयो। सतहमा हेर्दा प्रहरी, सेना र सशस्त्रमा विवाहेत्तर सम्बन्धका कारण आत्महत्या दर बढिरहेको देखिए पनि यसको अन्तर्य खोज्न जरुरी रहेको बताउँछन् पूर्वडिआइजी हेमन्त मल्ल। उनी भन्छन्, ‘प्रहरी, सेना र सशस्त्रमा किन विवाहत्तर सम्बन्ध बढिरहेको छ, यसको कारण खोज्नु महत्वपूर्ण कुरा हो।’ 

    ‘बढीजसो आत्महत्या गर्नेहरु तल्लो दर्जाका प्रहरी छन्,’ पूर्वडिआइजी मल्ल भन्छन्, ‘प्रहरीमा माथिल्ला तह अर्थात् अधिकृत तहकाहरु आफू सरुवा भएर जहाँजहाँ पुग्छन्, त्यहाँ-त्यहाँ परिवार लगिरहेका हुन्छन्, परिवारसँगै बसिरहेका हुन्छन्। तर,तल्लो दर्जाका प्रहरी आफ्नो कम तलबका कारण परिवारलाई आफूसँगै लैजान सक्दैनन्। त्यसपछि विवाहेत्तर सम्बन्ध जोडिने हो।’

    जब कोही प्रहरी बिहे गरेको एक-दुइ महिनामै श्रीमतीलाई घरमा छाडेर ड्युटीमा जान्छ, अनि वर्षौसम्म घरमा आउन चाहँदाचाहँदै विदा पाउँदैन। त्यसपछि उसले आफ्ना मनमा भएका कुराहरु सेयर गर्न अर्थात् उसका शारीरिक आवश्यकताहरु पूर्ति गर्न जहाँ पुग्छ, त्यतै साथी बनाउन थाल्छ। अनि, दुइटा सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको अवस्थासम्म पुग्छ।’

    मल्लका अनुसार प्रहरीमा एकभन्दा बढी विवाह गरेका घटनाहरु, दुइटा बिहे गरेपछि तलब आधा-आधा गर्नुपर्ने बाध्यता अर्थात् विवाहेत्तर सम्बन्ध जस्ता समस्या परिवारदेखि टाढा हुनुपर्दा सिर्जना भएका समस्या हुन्। ‘त्यसैले विवाहत्तर सम्बन्धको जरो नखोज्ने हो भने आत्महत्याको क्रम रोकिनेवाला छैन’ उनले भने।

    यस विषयमा समाजशास्त्री डा.मीना उप्रेतीको मत पनि मल्लको जस्तै देखियो। ‘कुनै पनि मान्छे के कारण विवाहेत्तर सम्बन्धको अवस्थामा पुग्छ, त्यो केलाउन आवश्यक छ,’ उनी भन्छिन्, ‘जब कोही प्रहरी बिहे गरेको एक-दुई महिनामै श्रीमतीलाई घरमा छाडेर ड्युटीमा जान्छ, अनि वर्षौसम्म घरमा आउन चाहँदाचाहँदै विदा पाउँदैन। त्यसपछि उसले आफ्ना मनमा भएका कुराहरु सेयर गर्न अर्थात् उसका शारीरिक आवश्यकताहरु पूर्ति गर्न जहाँ पुग्छ, त्यतै साथी बनाउन थाल्छ। अनि, दुइटा सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको अवस्थासम्म पुग्छ।’

    समाजशास्त्री डा.उप्रेतीको विश्लेषणमा विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको यदि बालबच्चा छैन या अर्को सम्बन्धलाई कानूनी रुपमा व्यवस्थापन गर्न कुनै समस्या छैन र सहजै व्यवस्थापन हुनसक्छ भने उसले आत्महत्याको बाटो रोज्दैन, विकल्पविहीन भएको अवस्थामा मात्रै आत्महत्याको बाटो रोज्ने हो। उनी भन्छिन्, ‘जतिबेला उसले अब म यो समाजसँग हारेँ भन्ने महसुस गर्छ, त्यसपछि आत्महत्या गर्ने हो।’ 

    त्यसो त विवाहपछिको प्रेम सम्बन्धका कारण तल्लो दर्जाका प्रहरीमात्रै आत्महत्याको स्थितिमा पुगेका छैनन्, केही वर्षअघि दुई डिएसपीको आत्महत्या पनि यस्तै कारणसँग जोडिएको थियो। ०६७ सालमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी कञ्चन थापाले बसुन्धारास्थित आफ्नै फ्ल्याटमा आफ्नै पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका थिए। त्यतिबेला उनले प्रेमिकाकै कारण आत्महत्या गरेको प्रहरी अधिकारीहरु अहिले पनि सम्झिन्छन्।

    त्यस्तै यो घटनाको ठीक २ वर्षपछि अर्का डीएसपी बसन्त थापाले गोकर्णको जंगलमा झुन्डिएर आत्महत्या गरेको घटना पनि प्रहरी बृत्तमा सेलाएको छैन। बसन्तले आत्महत्या गरेको भोलिपल्ट काठमाडौमै प्रहरी जवान पवित्रा भट्टराईले धोबीघाटस्थित आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यतिबेला भट्टराईको कोठामा भेटिएका बसन्तसँगका तस्वीर र बसन्तले आत्महत्या गर्नुअघि अन्तिमपटक भट्टराईसँग गरेको फोन सम्पर्कले उनीहरुबीचको प्रेम सम्बन्ध पुष्टि भएको थियो।

    ‘अहिले पनि २० देखि ४० प्रतिशत प्रहरी १२ घन्टाभन्दा बढी डिउटी गरिरहेका हुनसक्छन्,’ उनी भन्छन्, ‘यसले पनि प्रहरीलाई निराशातिर धकेलिरहेको हुनुपर्छ। परिवारसँग बिग्रह ल्याउनमासमेत यसले भूमिका खेलिरहेको हुन्छ। राज्य तथा प्रहरी संगठन यसमा सचेत हुनुपर्छ।’

     

    डिउटीको प्रेसर
    सन् २०१९ को फ्रेबुरीतिर भारतको गृह मन्त्रालयबाट सार्वजनिक भएको विवरणअनुसार भारतमा गएको पाँच वर्षमा ९ सय ३० जना प्रहरीले आत्महत्या गरे। यसरी प्रहरीको आत्महत्या बढ्नुमा त्यहाँ ड्युटीको अत्यधिक प्रेसर, पारिवारिक आवश्यकतामा समेत विदा नपाउनु आदि कारण बताउने गरिएको छ।  

    छिमेकी मुलुकको यो समस्या नेपालमा समेत रहेको बताउँछन्, पूर्व डिआइजी मल्ल। ‘नेपालमा अहिले ७२ हजार प्रहरीको दरबन्दी छ। तर, दरबन्दी अनुसारको संख्या कहिल्यै हुँदैन’ उनी भन्छन्, ‘जहिल्यै दरबन्दी खालि हुन्छ। खालि दरबन्दी पूर्ति गर्न भर्नाको प्रक्रिया लामो हुन्छ। भर्ना भएको प्रहरी फिल्डमा पुग्न करिब एक-डेढ वर्ष लाग्छ । त्यसैले मलाई लाग्छ, अहिले पनि फिल्डमा २० देखि २५ प्रतिशत प्रहरी कम भएको हुनुपर्छ। ’

    यसरी दरबन्दी खाली हुँदा अन्य प्रहरीमा ड्युटीको प्रेसर बढ्ने बताउँछन् उनी। ‘अहिले पनि २० देखि ४० प्रतिशत प्रहरी १२ घन्टाभन्दा बढी ड्युटी गरिरहेका हुनसक्छन्,’ उनी भन्छन्, ‘यसले पनि प्रहरीलाई निराशातिर धकेलिरहेको हुनुपर्छ। परिवारसँग बिग्रह ल्याउनमा समेत यसले भूमिका खेलिरहेको हुन्छ। राज्य तथा प्रहरी संगठन यसमा सचेत हुनुपर्छ।’

    समाजशास्त्री डा.मीना उप्रेती पनि ड्युटी प्रेसरले प्रहरीको जीवन मेसिनजस्तै भइरहेको बताउँछिन्। ‘प्रहरीको जीवनमा परिवार, मनोरञ्जन भन्ने कुरा जब टाढा हुँदै जान्छ, त्यसपछि ऊ डिप्रेसनको शिकार हुँदै आफैंलाई गोली हान्ने बाटोतिर लम्कने बाहेक अर्को विकल्प दैख्दैन’ उनले भनिन्।

    सुरक्षाकर्मीले आत्महत्या गर्दा प्रायः आफ्नै हतियार प्रयोग गरेको पाइन्छ। ७ असोज ०७५ मा स्याङ्जास्थित कारागारमा कार्यरत २५ वर्षीय प्रहरी जवान जीतेन्द्र थापाले पनि आफैंले बोकेको राइफलबाट आफैंलाई गोली हानी आत्महत्या गरेका थिए। नवलपरासीको त्रिवेणी नगरपालिका-६, का उनले डिउटीकै समयमा बिहान किन आत्महत्या गरे, त्यसको खास कारण अझै खुल्न सकेको छैन। 

    ‘हामीकहाँ अध्ययन गर्ने चलन छैन। बहुत कम अध्ययन भएका छन्,’ पूर्व डिआइजी मल्ल भन्छन्, ‘जति भएका छन्, त्यो पनि विभागीय प्रचलनका लागि मात्रै भएका छन् । त्यस्ता अध्ययन बाहिर सार्वजनिक पनि हुँदैनन्। आत्महत्याका कारणमाथि जबसम्म अध्ययन हुँदैनन्, तबसम्म यो समस्या समाधान हुनसक्दैन । तर, यस्ता खाले अध्ययनमा संगठनमात्रै अघि सरेर हुन्न, राज्य नै अघि सर्नुपर्ने अवस्था हुन्छ।’

    जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी कमल थापा लामो ड्युटी समय, विदा नपाइने समस्या, आवासीय समस्या, कम तलबमा धानिनुपर्ने अवस्था आदि नै प्रहरीमा नैराश्यता, पारिवारिक झगडा, सम्बन्धमा दरारका मुख्य कारण भएको बताउँछन्। उनी भन्छन्, ‘यस्तै कारणले प्रहरीहरुलाई आत्महत्याको निर्णयतर्फ धकेलिरहेको हुनसक्छ।’ 

    ‘प्रहरी पनि सोसाइटीकै ‘प्रोडक्ट’ त हो नि! बर्दी लगउनेवित्तिकै प्रहरी अर्कै मान्छे हुने होइन,’ उनी भन्छन्, ‘त्यसैले प्रहरीको आत्महत्या पछाडि पनि सामाजिक कारण नै हुन्छन्। चरित्र, नैतिकताका कुरा प्रहरीको एक वर्षको तालिममा सिकेर पर्याप्त हुन्छ जस्तो मलाई लाग्दैन, समाजमा जे छ, प्रहरीमा त्यसको ‘रिफ्लेक्सन’ देखिन्छ, समाजमा चोर-फटाहा छन् भने प्रहरीमा पनि त्यो देखिन्छ नै।’

    उता समाजशास्त्री डा.उप्रेती विश्वमा सधैँ ठूल्ठूला संकटपछि आत्महत्या दर बढ्ने बताउँछिन्। ‘सुसाइड भन्ने कुरा कुनै कानूनले बाँध्न सक्दैन। किनभने यो कुनै कानूनी झन्झटबाट उत्पन्न भएको हुँदैन,’ उनी भन्छिन्, ‘समाजबाट उत्प्रेरित समस्यासँग लड्न नसकेपछि मान्छे आत्महत्याको निर्णयमा पुग्ने हो।’

    मान्छेलाई सामाजिक घटना र सामाजिक परिवेशले आत्महत्या गर्न प्रेरित गर्ने बताउने डा.उप्रेती यसबाट जोगाउने हो भने समाज नै चनाखो हुनुपर्नेमा जोड दिन्छिन्। भन्छिन्, ‘समाज चनाखो हुन परिवार चनाखो हुनुपर्छ, उसको बच्चा के गरिरहेको छ, उसको श्रीमतीले के चाहिरहेको छ, सबै ख्याल गर्नुपर्छ। ’


    प्रकाशित :भाद्र १५, २०७७ सोमवार - १२:३५:२२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.