पहिरो जाने सम्भावित स्थानको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह-Sutra News

पहिरो जाने सम्भावित स्थानको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल (प्रचण्ड) ले पहिरो जाने सम्भावित स्थानको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।



आइतबार बिहान सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा गएको पहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सो कुरा उल्लेख गरेका हुन्।

‘यस्ता पहिरो जाने सम्भावित स्थानहरूको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु,’ दाहालद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘ सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं–७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ।’

अध्यक्ष प्रचण्डले पहिरोमा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध पनि गरेका छन्।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर धनजनको क्षति भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट