Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

घरबेटीले श्रीमानको हत्या गरेपछि नितुको चित्कार- अब हामीलाई कसले हेर्छ? [भिडियोसहित]

घरबेटीले श्रीमानको हत्या गरेपछि नितुको चित्कार- अब हामीलाई कसले हेर्छ? [भिडियोसहित]

अनिल यादव

२९ भाद्र २०७७
  • 7.7K
    SHARES
  • घरबेटीले श्रीमानको हत्या गरेपछि नितुको चित्कार- अब हामीलाई कसले हेर्छ? [भिडियोसहित]

    काठमाडौं– सुरुमै पीडित पक्षले आग्रह गरे– यो ठेगानाचाँही नलेखिदिनुस् है, फेरि यहीँ आएर मार्लान् । आइतबार दिउँसो ४ बजेतिर सानो गल्लीबाट छिर्दै केराको गोदामले भरिएको घरको तेश्रो तल्लामा चढेपछि हामी उनको कोठामा पुग्यौँ । वरिपरि तरकारी राख्ने क्यारेट, केही थान डोका छरपस्ट थिए । छेवैमा थियो, फलफुल बोक्ने एउटा पुरानो साइकल । र, भुईमा आफ्ना तीन छोरासहित ओछ्यान लगाएर सुतिरहेकी थिइन्, नितु महतो ।

    ‘मलाई थाहा छैन, हाम्रो शम्भु कहाँ छ,’ श्रीमान्को हत्या भएको दुई दिनपछि रुँदारुँदा गलिसकेको स्वरमै भएपनि उनी बोलिरहेकी थिइन्, ‘ न हाम्रो घर छ, न केही । मेरा तीनटा बच्चा छन्, अब यिनीहरुलाई कसले खान दिन्छ, कसले पढाइदिन्छ ? मलाई मेरो शम्भु चाहिन्छ ।’

    पतिको हत्यायता उनले केही खाएकी छैनन्। सिर्फ, श्रीमानको न्यायका खातिर चिच्याइरहेकी छिन्, जोड-जोडले रोइरहेकी छन्। ‘म केस लडेरै छाड्छु, मेरो श्रीमान् मार्नेलाई फासी दिलाएरै छाड्छु,’ अवरुद्ध गलाकै सहारामा उनी हामीसँग बोल्न तयार भइन्, ‘मलाई पैसा-कौडी केही चाँहिदैन, शम्भु चाहिन्छ।’

    बारम्बार उनी हामीसँग एउटै कुरा दोर्याइरहेकी थिइन्, ‘अब कसले हेर्छ हामीलाई। मलाई केही चाहिँदैन, मलाई शम्भु चाहिन्छ।’

    शुक्रबार दिउँसो डेरावालको कुटपिट र आग्लो प्रहारबाट नितुका श्रीमान शम्भु महतोको मृत्यु भयो। काठमाडौं, कीर्तिपुर-६ स्थित भाजंगलमा स्थानीय प्रेमकृष्ण महर्जनको घरमा करिब १४ महिनादेखि श्रीमती र तीन छोरा (१५, १२ र ५ वर्षीय)सहित शम्भु डेरामा बस्दै आइरहेका थिए। दुइटा कोठा लिएका थिए, प्रति महिनामा चार हजार रुपैयाँ भाडा तिर्थे।

    ४२ वर्षीया शम्भुको खास घर भारत मोतिहारी, पूर्वी चम्पारण ग्राम पोष्ट संग्रामपुर वडा नं ५ मा हो। करिब २२ वर्षदेखि उनी कीर्तिपुरमा कहिले माइक्रोका सहचालक त कहिले घर बनाउने मिस्त्रीको काम गर्दै पाँच जनाको परिवार चलाउँदै आइरहेका थिए।


    महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डिएसपी रुकेश तन्डुकारका अनुसार प्रारम्भिक अनुसन्धानबाट डेरा सर्ने क्रममा भएको सामान्य विवादपछि ६६ वर्षीया डेरावाल प्रेम महर्जनले ढोकाको आग्लोले हानेर उनको हत्या भएको खुलेको छ।

    प्रहरीको दाबीअनुसार महतोको घटनामा एक वृद्धको मात्रै संलग्नता रहेको छ। तर, पीडित परिवारले हत्या भएकोमा पूरा परिवारको संलग्नता दाबी गरेको छ।  प्रहरीमा महर्जन परिवारका ६ सदस्य श्रीमान, श्रीमती, दुई छोरा र दुई छोरीविरुद्ध जाहेरी दर्ता भएको छ।

    तर, घटना भएको दिन गत शुक्रबार प्रहरीले परिवारका अन्य सदस्यलाई पक्राउ गरेपनि पछि वृद्ध महर्जनलाई मात्रै हिरासतमा राखेर अरुलाई छाडेको थियो। त्यसपछि कीर्तिपुरबासी, शम्भुका सहकर्मीलगायतको सहभागितामा जम्मा भएको ठूलो भीडले शनिबार र आइतबार दुई दिन महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा धर्ना नै गर्यो– परिवारका सबै सदस्यलाई पक्राउ गरेर छानविन गर्नुपर्ने मागसहित।

    शम्भुलाई न्याय माग्दै उनीहरुले ‘गरिब मार्न पाइँदैन’ भन्दै नारावाजी गरे। यतिमात्रै होइन, पीडित पक्ष आइतबार राष्ट्रपति कार्यलय र भारतीय दूतावासमा समेत पुग्यो, न्यायको निवेदनसहित।

    यो दबाब थेग्न नसकेपछि कीर्तिपुर प्रहरीले आइतबार पुनः परिवारका ६ जना सदस्यलाई नै प#क्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु पठाएको थियो।

    Nitu2.jpg

    ‘हामीले ६ जनालाई नै पक्राउ गरेका छौं, अब माथिबाट क-कसलाई मुद्दा थप हुन्छ, हेरौं,’ सूत्रन्युजकर्मी कीर्तिपुर वृत्त पुग्दा डिएसपी तन्डुकारले यसै भनेका थिए। तर, प्रहरीले प्रेम मर्हजनसहित उनका दुई छोराहरु परमेश्वर र प्रमोदविरुद्ध मात्रै अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए। ‘अन्य तीन जनाको म्याद भने थप भएन। तर, हामीले उहाँहरुलाई निगरानीमै राखेका छौं,’ उनले भने।

    कोठा भाडापछि निम्तिएको विवाद

    यो घटनालाई नियाल्दा कोठा भाडाबाट उत्पन्न विवादले शम्भुको ज्यानै लिएको देखिन्छ। हत्या शुक्रबार भए पनि डेरावालसँग मंगलबारबाटै विवाद सुरु भएको शम्भुकी श्रीमती नितु बताउँछिन्।

    नितुका अनुसार मंगलबार घरबेटी आमा छोरीसहित शम्भु कोठामा नभएका बेला भाडा माग्न आइपुगेकी थिइन्। ‘मैले लकडाउनले कमाइ छैनभन्दा, त्यसो भए कोठा छाडेर जा’ भन्नुभयो,’ नितु सुनाउँछिन्, ‘मैले लकडाउन छ, यतिबेला कहाँ जाने भन्दा पनि मान्नुभएन।’

    साँझ साढे ६ बजे शम्भु कामबाट फर्किनासाथ नितुले यो सबै विवाद सुनाइन्। नितुका अनुसार त्यसपछि शम्भुले दुई महिनाको भाडा र थप एक महिनाको एडभान्स रकमसहित १२ हजार पैसा घरबेटीलाई बुझाए।

    तैपनि विवाद सुल्झिएन। भोलिपल्ट बुधबार पनि कोठा छाडेर जान उर्दी जारी भयो। ‘कोठा छाडेर जा, नत्र मार्दिन्छु भन्न थाले,’ थाकेको मलिन अनुहारमै नीतु सुनाउँछिन्, ‘मैले १२ हजार मार्नलाई दिएको हो? हो भने, बरु मलाई मार्दिनु, तर कोठा छाडेर जान्न भनेँ। तैपनि धम्की आइरह्यो।’

    अत्ति भएपछि शम्भु बिहीबार काममा गएनन्। नजिकै कोठा खोजे। आधा सामान बिहीबार नै सारे। आधा बाँकी रह्यो। ‘त्यसपछि हामीले घरबेटीलाई आज यहीँ बस्छौं, यहीँ खान्छौं, यही सुत्छौं भन्यौं। अनि तीन जना बच्चाहरु नयाँ डेरामा गए। हामी बुढाबुढी यहीँ सुत्यौं,’ नितुले भनिन्।

    डिएसपी तन्डुकारका अनुसार जारको पानी लिएर जाने निहुँमा भएको सामान्य विवादले शम्भुको हत्या भएको देखिन्छ। यता नितुका अनुसार दराज ओसारिरहेका बेला शुक्रबार साढे १२ बजेतिर प्रेमसहित उनका दुई छोराहरुले आएर कुटपिट गर्दै शम्भुलाई आग्लोले हानेका थिए। ‘अनि, मलाईचाहिँ घरबेटी आमैसहित उनका दुई छोरीहरुले समेत कपाल जगट्दै पिटे,’ उनले भनिन्, ‘बाउ-छोरा मिलेर हाम्रो शम्भुलाई टाउको र छातीमा हानेको मैले देखेँ। त्यसपछि उसको नाकमुखबाट रगत आयो। तर, म न बोल्न सकेँ, न समात्न। त्यसपछि मैले अनुहारमा पानी छर्किदासमेत बोलेन शम्भु।’

    १० कक्षामा पढिरहेका शम्भुका जेठा छोराका अनुसार घटना भएको समय उनीहरु तीन भाइ खाना खाइरहेका थिए। ‘तीन जना मिलेर मेरो बुबालाई पिटेछन्, तीन जनाले मेरो ममीको कपाल जगेटेछन्,’ ममीको छेउमै बसिररहेका उनी भन्दै थिए, ‘त्यसपछि बुबा झगडा भएको घरबाट हिँड्दाहिँड्दै ओरोलामा आइपुग्नुभएछ। पुलिस १०-१५ मिनेट छिटो आइदिएको भए सायद मेरो बुबा बाँच्नुहुन्थ्यो कि!’

    घटनापछि घरबेटी आमाले हात बाँधेर जति पनि पैसा दिन तयार हुने तर केस मिलाइदिनु भन्दै आफूलाई दबाब दिएको समेत उनले हामीसँग दाबी गरे। निन्याउँरो अनुहार पारेर उनी भन्दै थिए, ‘बुबा कहिलेकाहीँ काम नभएको बेला रक्सी पिउनुहुन्थ्यो होला, तर सधैं आफ्नो ठाउँमा बस्नुहुन्थ्यो, कहिले अरुजस्तो झगडा गर्नुहुन्थेन। अब हाम्रो विचल्ली भयो। हामीलाई कसले हेर्छ यहाँ?’
    शम्भुका तीनैजना छोराहरु नजिकै स्कुलमा पढ्छन्।

    उता शम्भुकी श्रीमती आफ्नो श्रीमानको शव हेर्न नपाएको गुनासो गरिरहेकी छन्। यता महानगरीय प्रहरी परिसरका प्रवक्ता सोमेन्द्र राठौरसँग सम्पर्क गर्दा पीडितले फर्म नभरेका कारण शम्भुको शव अहिलेसम्म पोष्टमार्टम हुन नसकेको बताउँछन्। ‘अब भोलि होला कि,’ उनी अड्कल काट्छन्।

    nitu3.jpg

    शुक्रबार यो घटना भइरहँदा नजिकै छिमेकीकहाँ घर खन्ने काम भइरहेको थियो। त्यतिबेला इट्टा बोकिरहेका उदयपुर घर भएका जीतबहादुर तामाङ घरबेटीले शम्भुलाई ढोकाको आग्लोले हानेको आफूले देखेको बताउँछन्। ‘म इट्टा बोक्न लागिरहेका थिए। शम्भु पछाडिबाट कराउँदै आइरहेको थियो। त्यतिबेलै घरबेटी बुढोलाई घरभित्र गएको देखेँ,’ उनले सूत्रन्युजसँग भने, ‘अनि पछाडिबाट आएर ढोकाको आग्लोले शम्भुलाई ड्याम्मै हिर्काए। त्यसपछि मलाई बोकेको इट्टा बोक्नु कि फाल्नु भो। कोही पनि थिएनन् वरिपरि। पछि दुई जना भाइहरु आइपुगे। मैले देखेको त्यति हो।’

    हामी घटनास्थल पुग्दा उनी प्रहरीले बोलाएका छ भन्दै प्रहरी कार्यलयतर्फ हिँड्दै गइरहेका थिए। पछि सूत्रन्युजसँग गफिइरहेका बेला नजिकै रहेको प्रहरीको भ्यानले उनलाई चढाएर कार्यलयतर्फ लग्यो।

    हामी घटना भएको टोल भाजगंल पुग्दा त्यहाँ टोलबासीहरु मिडियासँग रिसाइरहेका भेट्टिए। ‘युट्युबले कुरा बंग्याएर जे पायो त्यही हालिरहेका छन्। केही पनि सत्य कुरा आइरहेको छैन,’ स्थानीय रविन्द्र महर्जन भन्दै थिए, ‘हामी पनि न्यायको पक्षमा छौं। तर, युट्युबमा आएजस्तो घटनामा सबै परिवारको संलग्नता छैन।’

    उता भाजंगलमै चटपटे बेचेर बसिरहेका स्थानीय लक्ष्मण महर्जनले आफू घटना घटेको १५ सेकेन्डपछि घटनास्थलतर्फ पुगेको दाबी गरे। ‘मैले शम्भुलाई लडेर बसेको देखेँ। त्यसपछि स्थानीयबासी आए। यहाँ बसिन्जेलसम्म ऊ होसमा थियो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई बोलायौं। एम्बुलेन्स आउन पाएन। अनि, प्रहरीको भ्यानमा चढाएर कीर्तिपुर अस्पताल पठायौं।’

    प्रहरीका अनुसार उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पीडित पक्षले यतिबेला महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख रुकेश तन्डुकारविरुद्ध जातीय सम्वेदना देखाएको आरोपसमेत लगाइरहेको छ। राष्ट्रपति कार्यलय, भारतीय दूतावासतिर गरिएको निवेदनमै यो कुरा उल्लेख छ।

    शम्भुका २० वर्षदेखिका साथी घरसम्बन्धी काम गर्दै आइरहेका समिर खान आइतबार हामी कीर्तिपुर प्रहरी वृत्त पुग्दा त्यहीँ धर्ना दिइरहेको भेटिए।

    ‘घरबेटीले रुम खाली गर भनेपछि गरेको पनि थियो, त्यही पनि उसको हत्या गरियो,’ उनी भन्दै थिए, ‘२२ वर्षदेखि कीर्तिपुरमा दुःख गरेर बसिरहेको थियो । तीन जना बालबच्चा पढाइरहेको थियो। अब त्यसको परिवारको बिजोग भयो।’

    उनी यत्तिमै रोकिएनन्, आक्रोशित भावमा बोल्दै थिए, ‘यदि हामीले कुनै घरबेटीलाई मारेको भए आज हामीलाई चौकीमा लगेर जिउँदै जलाइदिन्थे, यहीँ कीर्तिपुरका बासिन्दाले। तर, हामीलाई मार्दा कोही कीर्तिपुरको मान्छे अहिले बोलेको छैन, सब गायब छ। खोइ डिएसपी साब नेवार हुनुहुँदो रहेछ, त्यसैले मिलेको हो कि?’

    माइक्रोचालक चन्द्रबहादुर श्रेष्ठसमेत दुःखी थिए। ‘शम्भुले मसँग पनि केही महिना सहचालक भएर काम गरेको थियो,’ उनी भन्दै थिए, ‘लकडाउनमा अरु काम ठप्प भएपछि साइकल किनेर फलफूल बेचेर भए पनि परिवार पालिरहेको थियो। धेरै अन्याय भयो ऊमाथि। हाँसिरहने, बोलिरहने स्वभावको थियो। एक चड्कन हान्दा पनि हाँसेर बस्थ्यो। प्यासेन्जरले पैसा नतिर्दा पनि कहिल्यै झगडा गर्दैनथ्यो।’

    कीर्तिपुर माइक्रो बसपार्कमै आयुर्वेद पसल चलाइरहेका प्रमोदकुमार सिंहसमेत शम्भुको घटनाले आक्रोशित छन्।

    ‘कोरोना महामारीले संसार पीडित छ। पेट पाल्ने पैसा छैन, यस्तो बेला एउटा मजदुरले कसरी भाडा तिर्न सक्छ?,’ वर्षौदेखि शम्भुसँग राम्रो चिनाजानी भएका उनी दुःखी सुनिन्थे।

    कोटेश्वरबाट प्रहरीलाई निष्पक्ष अनुसन्धान र पीडितलाई न्यायका लागि धर्ना दिन आइपुगेका दीपक महतो कुटपिटमा संलग्न परिवारका सबै सदस्यलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइरहेका थिए। ‘सोसियल मिडियाबाट जानकारी पाएपछि हामी यहाँ आएका हौं। यो मानवीयताविरुद्धको जघन्य अपराध हो। शम्भुले न्याय पाउनैपर्छ।’

    फोटो/भिडियो– सागर लामिछाने मगर


    प्रकाशित :भाद्र २९, २०७७ सोमवार - १२:३४:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.