काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थायी कमिटी बैठकमा पेश गरेका प्रतिवेदनका केही गल्ती सच्याउँदै र प्रतिवेदनमा भएका अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै आन्तरिक परिपत्र (सर्कुलर) जारी गरेका छन्।
२६ भदौमा भएको स्थायी कमिटीको बैठकका सन्दर्भमा अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनका गल्ती र अस्पष्ट विषयलाई थप स्पष्ट पार्दै अध्यक्षद्वयले सोमबार (२९ भदौ) मा सर्कुलर जारी गरेका हुन्।
स्थायी कमिटी बैठकमा पेश भएको अध्यक्षद्वयको प्रतिवेदनमा माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहलाई जनयुद्धको साटो ‘सशस्त्र आन्दोलन’ का रूपमा मात्र चित्रित गरिएको थियो।
प्रतिवेदनको ‘एकताको महाधिवेशन आयोजना गर्ने’ खण्डमा भनिएको थियो, ‘महाधिवेशनबाट माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिस्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवं सृजनात्मक सिद्धान्तहरूलाई संस्थागत गर्ने।
यसक्रममा साविक नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनका सकारात्मक वैचारिक पक्षहरुको संश्लेषण गर्ने।’
खासमा माओवादीद्वारा सञ्चालिन १० वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध मान्ने कि नमान्ने भन्ने सम्बन्धमा एकताअघि र पछि पनि नेकपाभित्र लामो विवाद भएको थियो। एकताको बेला सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ स्वीकार गर्न सहमत भएपनि एकतापछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख गर्न राजी भएनन्, जसका कारण लामो समय राजनीतिक प्रतिवेदन नै तयार हुनै सकेन।
ओली राजी भएपछि मात्र एकता भएको एक वर्षपछि मात्र राजनीतिक प्रतिवेदन प्रकासित भएको थियो।तर, लामो आन्तरिक विवादपछि २६ भदौमा बसेको स्थायी कमिटीको बैठकमा ओली–प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेरि ‘जनयुद्ध’ को उल्लेख नै गरिएन। ‘एकताको महाधिवेशन’ सम्बन्धी सोही खण्डमा माओवादी जनयुद्धलाई ‘सशस्त्र आन्दोलन’ का रूपमा मात्र चित्रित गरियो।
यसले गर्दा पूर्वमाओवादी पक्ष असन्तुष्ट हुन पुग्यो भने प्रचण्डसमेत पूर्वमाओवादी पक्षधरहरूद्वारा आलोचित भए। तर, सोमबार जारी सर्कूलरमा भने सोही ‘गल्ती’ सच्याउँदै ‘सशस्त्र आन्दोलन’ को साटो ‘जनयुद्ध’ शब्द नै प्रयोग गरिएको छ।
स्थायी कमिटी बैठकमा जुन राजनीतिक प्रतिवेदन अध्यक्षद्वयले पेश गरेका थिए, सम्पन्न भएको तीन दिनपछि सोमबार जारी सर्कूलरमा सोही राजनीतिक प्रतिवेदनको केही विषयमा संसोधन गर्नुबाहेक अन्य विषय हुबहु राखेर जारी गरिएको छ।
यद्यपि, ओली–प्रचण्डले पेश गरेको प्रतिवेदन १५ पृष्ठ लामो भएकोमा सर्कूलर चाहिँ ४ पेज बढी अर्थात् १९ पृष्ठको छ। सर्कूलरमा बैठकको पृष्ठभूमि र अन्त्यमा धन्यवाद खण्ड समेत थपिएको र राजनीतिक प्रतिवेदनका केही विषयलाई थप स्पष्ट बनाउन खोज्दा सर्कूलरको आकार लम्बिन पुगेको हो।
सर्कूलरमा स्थायी कमिटी बैठकको पृष्ठभूमि उल्लेख गर्नेक्रममा अध्यक्षद्वयले पार्टीभित्रको अन्तरविरोध अप्रिय एवं कटुतापूर्ण बन्दै गएको उल्लेख गर्दै बैठक सफलतापूर्वक सञ्चालन गर्न सक्ने–नसक्ने, पार्टी एकता अक्षुण राख्न सकिने–नसकिने भन्ने आशंका सिर्जना भएको बताएका छन्।
नेकपाभित्र सिर्जित विवाद र विग्रहका कारण देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू उत्साहित बनेको दाबी पनि अध्यक्षद्वयले गरेका छन्। तर, अन्तरविरोध व्यवस्थापन गरी पार्टी एकताको रक्षा गर्न सफल भएको सर्कूलरको सुरुवातमै उल्लेख गरेका छन्।
अन्तरविरोध व्यवस्थापन र पार्टी एकता रक्षा गर्न सफल भएको भन्दै अध्यक्षद्वयले २६ भदौको बैठकलाई ऐतिहासिक भएको दाबी समेत गरेका छन्।
‘कटुतापूर्ण अन्तरविरोधको चक्र पार गर्दै सर्वसम्मतिका साथ निर्णयमा पुग्न सफल स्थायी कमिटीको यो बैठक हरेक दृष्टिकोणले ऐतिहासिक महत्वको हुन पुगेको छ’ अध्यक्षद्वयको संयुक्त हस्ताक्षर रहेको सर्कूलरमा भनिएको छ, ‘हाम्रा सामु स्थायी कमिटीको यस बैठकका निर्णयहरुको महत्वलाई ठीक ढंगले आत्मसात गर्ने र सक्रिय एवं सिर्जनशील भएर तिनको कार्यान्वयनमा लाग्ने गुरुत्तर जिम्मेवारी आएको छ।’