रोजगार गुमाएकालाई राहत उपलब्ध गराउन छायामन्त्री संग्रौलाको सरकारसँग ५ माग-Sutra News

रोजगार गुमाएकालाई राहत उपलब्ध गराउन छायामन्त्री संग्रौलाको सरकारसँग ५ माग

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ तथा छाया सरकारकी श्रम तथा रोजगार मन्त्री डा.डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन्। बुधबार प्रेस वक्तव्य जारी गर्दै छाया मन्त्री संग्रौलाले सो माग गरेकी हुन्।



‘कोरोना कहरले गर्दा देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कनपर्खि रहेका लाखौं नेपालीलाई दशैंअघि नै फर्काउन विशेष योजना संचालन गर्न म नेपाल सरकारसँग माग गर्दछु’ वक्तव्यमा भनिएको छ।

मन्त्री संग्रौलाले महंगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीलाई स्वदेश फर्काएको जानकारी गराउँदै अझै पनि खाडी मुलुकमा झन्डै ३ लाख नेपाली स्वदेश फर्कन पर्खिरहेका बताएकी छिन्। कोरोना माहामारीका कारण रोजगाए गुमाएका उनीहरूले विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन्।

नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर-आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्था र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह आफूले प्रधानमन्त्री तथा श्रममन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गरेकी छिन्।

यसै विषयमा मंगलबार (भदौ ३०) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टछुट्टै फोन गरी नेपालीलाई जति सक्दो छिटो नेपाल ल्याउन आग्रह गरेको पनि बताएकी छिन्। उनीहरूले सरकार यस विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको जानकारी दिएको बताइन्।

रोजगाएर गुमाएर मानिसहरूको अवस्था जटिल बन्दै गइरहेको बताउँदै छायामन्त्री संग्रौलाले राहत उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।

यस्ता छन् ५ माग

१. कोरोना महामारीका कारण काम गुमाएर लामो समदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकको पहिचान गरि तत्काल निःशुल्क उद्धार गरियोस्।

२. श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस्।

३. विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ–दिदिबहिनीलाई दशैं अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरि ७ दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टीनको व्यवस्था गरियोस्।

४. विदेशमा अनुभव बटुलेका श्रमिकको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार–व्यवसाय गर्नेहरुलाई कम व्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस्।

५. अहिले कोरोना संकट भन्दा पहिले नै निधन भएका नेपालीका शव विदेशमा अलपत्र छन्। उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट