Logo

मंगलवार, कार्तिक ४ गते २०७७

भारतीय राजदूतले राजा त्रिभुवनलाई चढ्न नदिएको त्यो जहाज 

भारतीय राजदूतले राजा त्रिभुवनलाई चढ्न नदिएको त्यो जहाज 

सीताराम बराल

३१ भाद्र २०७७
  • 3.3K
    SHARES
  • भारतीय राजदूतले राजा त्रिभुवनलाई चढ्न नदिएको त्यो जहाज 

    काठमाडौं- भोलि (१ असोज) देखि देशभरका विमानस्थलमा आन्तरिक विमानसेवा अन्तर्गतका जहाजहरु औपचारिकरुपमा सञ्चालन हुनेछन्। कोभिड-१९ का कारण चैत दोस्रो साता विमानसेवा सञ्चालन स्थगित भएयता झण्डै ६ महिनापछि आन्तरिक विमानसेवाहरु सञ्चालन हुन लागेको हो। आन्तरिक विमानसेवा सञ्चालन गर्ने सरकारको निर्णयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि भोलिदेखि गुल्जार हुन थाल्नेछ।

    आन्तरिक विमानसेवा सञ्चालन खुला गर्ने सरकारको निर्णयसँगै संयोगवस सामाजिक सञ्जालहरुमा यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ल्याण्ड गरिएको ठूलो जहाजको पुरानो तस्बिर भाइरल बनिरहेको छ। ऐतिहासिक दस्तावेज र तस्बिरहरुको खोजी गरी तिनीहरुबारे लेख्दै आएका पत्रकार सन्तोष खडेरीले भारतीय टेलिभिजन च्यानल ‘एनडिटिभी’को अनलाइन संस्करणबाट साभार गरी ‘नेपालमा पहिलोपटक जहाजको अवतरण’ भन्दै राखेको तस्बिरले अहिले धेरैको ध्यान खिचेको छ।

    राणाकालसम्म काठमाडौँमा ठूलो र सानो गौचरण गरी दुई गौचरन थिए। त्यसमध्ये हालः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको ठाउँलाई ठूलो गौचरणको रुपमा चिनिन्थ्यो। ‘त्यही ठूलो गौचरणमा दलिपसिंह मजेठियाले पहिलो पटक जहाज अवतरण गरेका हुन्’ नेपालको ‘परराष्ट्रका पात्र’ पुस्तकका लेखक तथा पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराई भन्छन्, ‘नेपालमा राजदूत रहेका उनका काका सुरजितसिँह मजेठियाको अनुरोधमा उनले काठमाडौँमा जहाज अवतरण गरेका थिए।’

    डा. भट्टराईलाई पहिलो अवतरणबारे केही रोचक खुलासा गरेका थिए। डा. भट्टराई भन्छन्, ‘राजा त्रिभुवनले त्यो जहाज चढेर उड्ने इच्छा प्रकट गरेका रहेछन्। तर, राजदूतले त्यसका लागि स्वीकृति दिएनछन्।’

    जहाजको कथा

    सन् १९४७ मा ब्रिटिस-भारतीय वायुसेनाबाट अवकास प्राप्त गर्नुअघि दलिपसिँह वायुसेनाको ‘क्वार्डन चिफ’ थिए। र, कैयौं युद्धमोर्चामा जहाजहरुको उडान भरे। ब्रिटिसहरुले भारत छाडेको केही समयपछि उनले भारतीय वायुसेनाको जागिर छाडे। ‘वायुसेवा विजनेस’मा सरिक हुने पारिवारिक योजना बनेलगत्तै त्यो योजनालाई सघाउन २७ वर्षे लक्का जवान दलिपसिँहले जागिर छाड्ने निर्णय लिएका थिए।

    विश्वयुद्धका लागि अमेरिकाले उत्पादन गरेका जहाज ब्रिटिस सेनाले खरिद गरी प्रयोग गरेको थियो। विश्वयुद्ध समाप्तीलगत्तै ती जहाज बेकामे भए। झण्डै कौडीको भाउमा तिनको किनबेच हुन थाल्यो। भनिन्छ, राणा शासनसँग असन्तुष्ट भई कलकत्ता गएर बसेका महावीर शमशेरलगायतका राणाहरुले पनि यस्तै जहाज र अंग्रेजका सम्पत्ति किनबेच गरेर प्रशस्त पैसा कमाएका हुन्।

    विश्वयुद्धको प्रयोजनका लागि अधिक संख्यामा उत्पादन गरिएका, तर युद्ध समाप्तीपछि बेकामे बनेका चार सिटवाला दुई जहाज निकै सस्तो मूल्यमा दलिपसिँहका काका सुरजितसिँहले खरिद गरे। र, जहाज मर्मत गर्ने मेकानिक्सको व्यवस्था गरी युद्धकालीन जहाजलाई उड्न लायक बनाए। ‘एनडिटिभी’सँग केही महिनाअघिको कुराकानीमा दलिपसिँहले भनेका छन्, ‘त्यसपछि मैले ती दुबै जहाजलाई सफलतापूर्वक उडाउन थालेँ।’  

    जहाज खरिद गर्ने दलिपसिँहका काका सुरजितसिँह पनि भारतीय वायुसेनाका कमाण्डर थिए। सन् १९३९ मा विश्वयुद्ध सुरु हुनुभन्दा दुई महिनापछि मात्र सेनामा प्रवेश गरेका उनले सन् १९४३ मा वायुसेनाको जागिर छाडी राजनीतिमा प्रवेश गरे। सन् १९४५ देखि १९४७ सम्म भारतको केन्द्रीय व्यवस्थापिका सभाको सदस्य भए। सुरजित राजनीतिमा लागेकाले ती जहाज सञ्चालन गर्ने जिम्मेवारी दलिपसिँहले नै पाए।

    वायुसेनाबाट राजीनामा दिएर राजनीतिमा लागेका सुरजितसिँह मजेठियालाई स्वतन्त्रतालगत्तै प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका लागि पहिलो राजदूत बनाएर पठाए। नेपालमा श्री ३ मोहन शमशेर सत्तामा थिए। उनकी नातिनी यसोधराको जम्मु-काश्मीरका राजा डा. कर्ण सिँहसँग विहे हुँदै थियो। जन्ती जहाजै लिएर आउने भएको थियो। त्यसैले, श्री ३ मोहन शमशेर काठमाडौँमा जहाज अवतरण गर्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्न चाहन्थे।  

    पहिलो अवतरण

    यस सम्बन्धमा श्री ३ मोहनले राजदूत मजेठियासँग कुरा गरे। मजेठियाले आफ्नो स्वामित्वमा भएमध्ये एउटा जहाजको परीक्षण अवतरण गर्ने योजना सुनाए। यो योजनालाई श्री ३ मोहनले पनि स्वीकृति दिए। त्यो जहाज भारतको कुन विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेको हो, दलिपसिँहले बताएका छैनन्। तर, राजदूत मजेठियासँग भेट गरेका डा. भट्टराईको भनाईमा, मुजफ्फरपुरबाट सो जहाजले काठमाडौँका लागि उडान गरेको थियो।

    dilip sing majethiya.jpeg

    ‘हिले मैदानमा जहाज अवतरण गर्न सक्छु कि सक्दिनँ भन्ने कुरामा म सोचमग्न थिएँ,’ दलिपसिँहले ‘एनडिटिभी’ सँगको कुराकानीमा भनेका छन्, ‘यदि सकेँ भने त्यो ठाउँ पछि डकोटा विमान अवतरणका लागि पनि उपयोगी हुनसक्छ भन्ने मलाई लागेको थियो।’ यस्तो सोचाईका साथ मुजफ्फरपुरबाट काठमाडौँ प्रस्थान गरेका दलिपसिँहको पहिलो प्रयास असफल भयो। दोस्रो प्रयासमा भने वि.सं ११ वैशाख २००६ मा उनले साँच्चिकै ठूलो गौचरणमा जहाज सफलतापूर्वक अवतरण गरे।

    काठमाडौँको आकासमा बादल लागेकाले उनको पहिलो प्रयास असफल भएको थियो। दोस्रो अवतरणको प्रयास गर्नुअघि चाहिँ उनले गौचरणको अवस्थिति बुझ्न काठमाडौँको आकासमा तीन फन्को लगाए। ‘कतातिरबाट धेरै हावा चल्छ र कहाँनिरबाट अवतरण गर्नुपर्छ’ भन्ने जानकारी उनलाई थिएन। दलिपसिँहका भनाईमा, कतातिरबाट हावा बहन्छ र कहाँनिर लगेर जहाज अवतरण गर्ने भन्ने निर्देशन उनका काका राजदूत सिँहले मैदानमा बसेर गरिदिए। 

    ‘त्यो गाई चराउने मैदान थियो, जुन दिन मैले त्यहाँ जहाज अवतरण गराएँ, भाग्यवस त्यो दिन त्यहाँ गाइवस्तु थिएनन्,’ उनले भनेका छन्, ‘जब मैले जहाज अवतरण गरेँ, काका मलाई रिसिभ गर्न आइपुग्नुभयो।’ काठमाडौँमा पहिलो पटक अवतरण भएकाले जहाज हेर्न राजा त्रिभुवन र अन्य नेपाली अधिकारीहरु पनि ठूलो गौचरण पुगेका थिए। त्यो तस्बिरमा पनि राजा त्रिभुवन पाइलट दलिपसिँहसँगै देखिएका छन्।

    मुजफ्फरपुरबाट उडान भरेर ठूलो गौचरणमा सफल अवतरण गराएका राजदूत मजेठियाका भतिज दलिपसिँह अझै जीवितै छन्। र, १३ साउन (०७७) मा शतवार्षिकी मनाएका छन्। र, सन्दर्भ आउँदा काठमाडौँमा कसरी पहिलो पटक विमान अवतरण गरिएको थियो भन्नेबारे भारतीय पत्रकारहरुलाई बताउने गरेका छन्। उनका काका राजदूत सुरजितसिँह मजेठियाको भने ८३ वर्षको उमेरमा २४ वर्षअघि ७ असोज २०५२ मा निधन भइसकेको छ। 

    निधनअघि डा. भट्टराईले मजेठियासँग भेट गरेका थिए। त्यसक्रममा उनले डा. भट्टराईलाई पहिलो अवतरणबारे केही रोचक खुलासा गरेका थिए। डा. भट्टराई भन्छन्, ‘राजा त्रिभुवनले त्यो जहाज चढेर उड्ने इच्छा प्रकट गरेका रहेछन्। तर, राजदूतले त्यसका लागि स्वीकृति दिएनछन्।’ त्रिभुवन त्यो जहाज चढ्न इच्छुक थिए भन्ने कुरा सार्वजनिक तस्बिरबाट पनि अनुमान लगाउन सकिन्छ। किनभने, त्रिभुवन जहाजको बाहिरी भागमै चढेर जहाजको भित्री भाग निकै चासोपूर्वक हेरिरहेका छन्।


    प्रकाशित :भाद्र ३१, २०७७ बुधवार - १६:५१:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.