अनेकौं असफल प्रयासपछि वामदेवको संसदमा ‘इन्ट्री’-Sutra News

अनेकौं असफल प्रयासपछि वामदेवको संसदमा ‘इन्ट्री’

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पनि संसदमा प्रवेश पाउने भएका छन्।



सरकारको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गरेपछि उनलाई संसदको ढोका खुल्ला भएको हो। गौतमले आजै राष्ट्रियसभा सदस्यको सपथ लिइसकेका छन्।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया क्षेत्र नम्बर १ मा पराजित भएपछि गौतमका लागि संघीय संसद छिर्ने ढोका बन्द भएको थियो। तर, त्यसयता गौतमले संसद सदस्य बन्न कम्ता मेहनत गर्नुपरेको छैन । यसअिघ  संसद जाने उनका २२औं प्रयास असफल भएका थिए।

ती असफल प्रयास
प्रतिनिधिसभा चुनावमा पराजित भए लगत्तै गौतमले झलनाथ खनाललाई राजीनमा गराएर उनको क्षेत्रबाट चुनाव लड्ने प्रयास गरेका थिए। खनाललाई राष्ट्रपति बनाउन नसकिने अवस्था आएपछि गौतमको पहिलो प्रयास असफल भएको थियो। खनालपछि गौतमले माधव नेपाललाई राष्ट्रपतिको लोभ देखाए।

नेपाल आफैंले पनि राष्ट्रपति बन्ने चाहाना नराखेको र दल भित्रको समीकरणले पनि त्यो सफल भएन र गौतमको दोस्रो प्रयास पनि खेर गयो।

त्यसपछि गौतमले निर्वाचित भए पनि शपथ लिन नपाएका ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नवराज सिववालको क्षेत्रमा आँखा लगाए। तर, केही समयपछि सिलवाललाई शपथ खाने बाटो खुल्यो र गौतमको संसद छिर्ने तेस्रो प्रयास पनि असफल भयो।

चौथो प्रयासका रुपमा गौतमले बर्दिया क्षेत्र नम्बर २ का सन्तकुमार थारुलाई राजीनमा गराउने कोसिस गरे। थारुले छाडेर चुनाव लड्ने अवस्था आइहाले पनि आफ्नो विजय शुनिश्चत नदेखेपछि गौतम आफै पछि हटे।

Bamdev Sapath.jpg

पूर्वी रुकुमबाट निर्वाचित कमला रोकालाई राजीनामा गराउने गौतमको पाँचौं प्रयास पनि सफल भएन। रोकाले आफ्नो क्षेत्र छोड्न नमानेपछि उनको प्रयास खेर गएको थियो। नवलपुर क्षेत्र नम्बर २ बाट उठ्ने चर्चा चलेको थियो तर त्यो पनि कुनै टुंगोमा पुगने। यो उनको छैटौं प्रयास थियो।

गौतम त्यसपछि दैलेख १ का रवीन्द्रराज शर्मालाई राजीनामा गराउने प्रयास लागेका थिए। तर, उनको सातौं प्रयास पनि सफल हुन सकेन। आठौं प्रयासका रुपमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराउने प्रयत्न गौतमले गरे। तर, पराजित हुने डरले गौतम आफैं पछि हटे।

धनकुटाका सांसद राजेन्द्र राईललाई राजीनमा गराउने गौतमको नबौं प्रयास थियो। तर, त्यो पनि कुनै टुंगोमा पुगेन।

दशौं प्रयासका रुपमा नेकपा महासचिव विष्णु पौडेलले बाँके क्षेत्र नम्बर ३ का नन्दराल रोकायलाई राजीनामा गराउने प्रयास गरे। गौतमका लागि गरिएको यो प्रयत्न पनि असफल भयो।

त्यसपछि गौतमको नजर बैतडीतिर पर्यो। त्यहाँका सांसद दामेदर भण्डारीले राजीनामा दिन नमानेपछि एघारौं प्रयास पनि खेर गयो।

कञ्चनपुर ३ का दीपक प्रकाश भट्टलाई पनि राजीनामा गराउने प्रयास असफल भएको थियो। भट्टलाई राजदूतको लोभ देखाएर गरिएको प्रयास सफल हुन सकेन। यो गौतमको बाह्रौं असफल प्रयास थियो।

तेह्रौं प्रयासका रुपमा प्युठानबाट निर्वार्चित जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराउने प्रयत्न उनकै दलले औपचारिक रुपमा विरोध जनाएपछि असफल भएको थियो।

गौतमका लागि आफूले राजीनामा दिन तयार रहेको सार्वजनिक घोषणा काठमाडौं ७ का रामवीर मानान्धरले गरे। तर प्रधानमन्त्री केपी ओली यसमा बाध बनिदिएपछि गौतमको चौधौं प्रयास पनि असफल भए।

पहिलो पटक गौतमलाई राष्ट्रिय सभामा लैजाने चर्चा। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा सदस्य बनाउने प्रयास गरेका थिए। गौतमलाई राष्ट्रिय सभामा लैजाँदा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न खोजेको प्रयत्न प्रत्युत्पादक बनेको थियो। गौतममाथिको पन्ध्रौं प्रयास पनि असफल भएको थियो।

प्रचण्डपछि ओलीले पनि गौतमलाई राष्ट्रिय सभा सदस्यमा प्रस्ताव गरे। तर, त्यसको कुनै टुंगो लागेन र सोह्रौं प्रयास पनि असफल भयो। गौतम त्यसपछि गत मंसिरमा भएको उपनिर्वाचनमा कास्कीबाट उठ्ने प्रयासमा लागे। तर, हार्ने डरले अन्तिम सयमा आफैं पछाडि हटे। त्यसपछि सत्रौं प्रयास पनि खेर गयो।

नेकपाले नै राष्ट्रिय सभाको गत पुसको निर्वाचनमा उठ्न सुझायो। तर गौतमले नै यसप्रति अनिच्छा देखाए। यो अठारौं असफल प्रयास थियो। नेकपा सचिवालयद्वारा १४ फागुनमा राष्ट्रियसभामा गौतमलाई लैजाने निर्णय भयो। तर ओलीले नमानेपछि उन्नाइसौं प्रयास पनि असफल रह्यो।

२० बैशाखमा उपयुक्त समयमा गौतमलाई प्रनिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय नेकपा सचिवालयले लियो। तर, लामो समय त्यसको पनि कार्यान्वयन नहुँदा बीसौं प्रयास पनि असफल भयो।

ओलीले पुनः दुई पटक गौतमलाई डोल्पाबाट चुनाव लड्न प्रस्ताव गरे। एक्काइसौं प्रयत्न चुनाव हारिने डरले गौतम आफैं पछाडि हटेपछि असफल भयो। र, डोल्पा भन्दा राष्ट्रिय सभा सदस्य बन्ने गौतमको चाहानाले बाइसौं प्रयास पनि असफल भयो।

र, अन्ततः राष्ट्रिय सभामा पठाउने १४ फागुनको निर्णय कार्यान्वयन भएपछि गौतम संसद सदस्य बन्न सफल भए। यो गौतमको तेइसौं प्रयास थियो, जुन सफल पनि भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट