जिल्ला सभापतिमाथि भएको दुर्व्यवहारप्रति कांग्रेसको गम्भीर आपत्ति, घटना दोहोर्‍याएर प्रतिपक्षलाई नजिस्काउन चेतावनी-Sutra News

जिल्ला सभापतिमाथि भएको दुर्व्यवहारप्रति कांग्रेसको गम्भीर आपत्ति, घटना दोहोर्‍याएर प्रतिपक्षलाई नजिस्काउन चेतावनी

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- कांग्रेसले आफ्ना गुल्मी जिल्ला सभापतिमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार पार्टी प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै दुर्व्यवहारप्रति आपत्ति जनाएका हुन्।



विज्ञप्तिमा भनिएको छ, ‘आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो। कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्यालीपछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकियो। रोकिए पश्चात ज्ञापनपत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो। पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुर्व्यवहार गरियो।’

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी.लगायत घाइते भएको कांग्रेसले जनाएको छ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएकोप्रति कांग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थानीय प्रशासनको दुर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत ध्यानाकर्षण गराउँदै कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरणको माग गरेको छ।

सो घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कारवाही गर्न पनि कांग्रेसले माग गरेको छ। साथै, यस्ता प्रकारका घटना दोहोर्‍याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई कांग्रेस चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट