काठमाडौं- सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ। हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको स्पष्ट पारेका हुन्।
उनले हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको बताए। त्यति बेला पनि सरकारले गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गरेको उनको भनाइ छ।
‘अहिले पनि त्यही ठाउँमा घरहरू बनाएको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘नेपाल-चीनबीचमा सीमा समस्याहरू छैनन्। कहीं कतै त्यस्ता समस्या देखिए पनि बसेर छलफल गर्ने सौहार्द्ध सम्बन्ध हाम्रो छँदैछ।’