भैरहवा- विश्वराज बराल ‘अनुप’ र उनकी श्रीमती गंगा कार्की राजनीतिकर्मी हुन्। दुवै अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विभिन्न जिम्मेवारी पनि छन्।
‘अनुप’ अहिले नेकपाका पूर्णकालीन कार्यकर्ता हुन्। उनी नेकपाको प्रदेश नम्बर कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज पनि हुन्। त्यस्तै गंगा नेकपा रुपन्देहीकी जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (१) की इन्चार्ज हुन्।
तर, अहिले दुवैको परिचय राजनीतिकर्मी र कृषक बनेको छ। राजनीतिले मात्रै आफ्नो जीवनशैली नचल्ने भएपछि उनीहरु कृषि कर्ममा जुटेका हुन्। उनीहरु हाल रुपन्देहीको तिलोत्तमा–१४ मा १ कठ्ठा २ धुर आफ्नै जग्गामा कुखुरापालन गरिरहेका छन्।
उनीहरुले भरोसा कुखुरापालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा कुखुरा पालन गरेका छन्। पहिलो चरणको लकडाउनको समयमा कुखुरापालनका लागि खोर निर्माण गरेका उनीहरुले असारमा चल्ला हालेका थिए। पहिलो लटमा १९२ वटा कुखुरा, ७९ वटा बट्टाई र ६ वटा कालो कुखुरा राखेको फर्मकी सञ्चालक कार्कीले बताइन्।
‘जीवनलाई सहज बनाउन कुखुरापालन व्यवसायमा लागेका छौं, यद्यपि हाम्रो राजनीतिक यात्रा भने जारी नै छ,’ उनले भनिन्, ‘समाजको नेतृत्व गर्ने मान्छेले जीवनलाई सहज तरिकाले जिउन कृषि नै राम्रो कार्य भएकोले यसमा लाग्यौं।’
‘जीवनलाई सहज बनाउन कुखुरापालन व्यवसायमा लागेका छौं, यद्यपि हाम्रो राजनीतिक यात्रा भने जारी नै छ,’ उनले भनिन्, ‘समाजको नेतृत्व गर्ने मान्छेले जीवनलाई सहज तरिकाले जिउन कृषि नै राम्रो कार्य भएकाले यसमा लाग्यौं।’
बरालले कुखुरापालन व्यवसायलाई विस्तार गर्दै लैजाने सोचमा रहेका बताए। ‘अहिले हामी सिकाइको क्रममा रहेका छौँ, यसलाई राम्रोसँग हुर्काउन सकियो भने यसलाई थप व्यवस्थित रुपमा अलि ठूलो परिमाणमा लैजाने सोच छ,’ उनले भने।
व्यवसाय किन?
राजनीतिले मात्रै जीवनशैली नचल्ने भएपछि परिचयलाई फराकिलो बनाएको बताउँछन्, बराल। राजनीति मात्रै गर्ने व्यक्तिहरुको अपत्यारिलो जीवनशैलीप्रति आम नागरिकको प्रश्न उब्जिरहेका बेला उनले आफ्नो राजनीतिक जीवनलाई समस्यामा नपार्ने गरी कृषि कर्ममा जुटेको बताए।
‘आम नागरिकले नेताहरुको आर्थिक स्रोत र जीवनशैलप्रति प्रश्न चिन्ह उठाइरहेका छन्, यो राजनीतिकर्मीका लागि राम्रो होइन,’ बराल भन्छन्, ‘देखिने खालको आर्थिक स्रोत अगाडि बढ्नुपर्छ भन्ने लागेर म र श्रीमती कुखुरापालनमा लागेका हौँ।’
राजनीतिकर्मीहरु अब उत्पादनसँग जोडिएपछि मात्रै जनताको भरोसा बढ्ने बरालको भनाइ छ। ‘राजनीतिकर्मीहरु अब उत्पादनसँग जोडिनुपर्छ,’ उनको भनाइ छ,‘ उत्पादनसँग जोडिएर आएको आर्थिक स्रोतबाट जीविकोपार्जन गर्न सकियो भने नेताप्रति जनताको आसा र भरोसा विस्तारै बढ्दै जान्छ।’
अनुपको राजनीतिक विगत
प्राथमिक तहको अध्ययन गर्दादेखि नै राजनीतिमा रुचि राख्दै विद्यार्थी राजनीतिमा होमिएका अनु्प अहिले पनि सक्रिय राजनीतिमै छन्।
तत्कालीन नेकपा (एमाले) निकट अनेरास्ववीयूबाट राजनीतिक यात्रा सुरु गरेका अनुपले २०५५ सालदेखि तत्कालीन नेकपा (माओवादी)को पूर्णकालीन कार्यकर्ता भएर काम गरे। कास्कीको दुर्गम ठाँउ मादी गाउँपालिकामा जन्मिएका उनी पढ्दै राजनीति गर्ने क्रममा छोटो समयमा धेरै जिल्लाको राजनीतिक नेतृत्व तहमा बसेर काम गरे।
गएको प्रतिनिधिासमा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए उनी। तर, पराजित भए। झण्डै दुई दशक अघि तत्कालिन माओवादीको चितवन जिल्ला सैन्य कमाण्डर समेत थिए उनी।
तत्कालीन समयमा उनी विद्यार्थी इलाका अध्यक्ष, पार्टी सदस्य हुँदै पार्टीको जिल्ला सदस्य भएर काम गरेको अनुभव उनमा छ। एकवर्षे सैन्य जीवन बिताएपछि उनी २०५९ सालमा रुपन्देही आएको बताउँछन्। २०५९ सालमा उनी तत्कालीन समयमा बुटवल–भैरहवा इञ्चार्ज, २०६३ सालमा नवलपरासीको पार्टी सचिव, २०६५ सालमा कपिलवस्तु सचिव हुँदै २०७१ सालमा पुनः रुपन्देही आए।
माओवादी पार्टी विघटन हुँदा मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टीमा गएका उनी वैद्यको विचार ठीक भए पनि अहिलेको समयमा विचारले मात्र काम नगर्ने भएकाले पुनः प्रचण्डले नेतृत्व गरेको माओवादीमा फर्किएको बताउँछन्। तत्कालीन माओवादीमा रामबहादुर थापा ‘वादल’ निकट मानिने उनी बादलसँगै ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) मा फर्किएका थिए।
थप तस्बिरहरू हेर्नुहोस्