Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

भारतीय सेनाका भूपू हवल्दार, उपराष्ट्रपतिलाई तोप चलाउन सिकाउने बुढो छापामार

भारतीय सेनाका भूपू हवल्दार, उपराष्ट्रपतिलाई तोप चलाउन सिकाउने बुढो छापामार

सीताराम बराल

१९ आश्विन २०७७
  • 3.0K
    SHARES
  • भारतीय सेनाका भूपू हवल्दार, उपराष्ट्रपतिलाई तोप चलाउन सिकाउने बुढो छापामार
    पासाङ (उपराष्ट्रपति पुन, बीचमा) सँगै अग्नि बा (दायाँं) र ‘क्याप्टेन बा’ (दायाँ) युद्धको योजना बनाउने क्रममा

    आइतबार (१८ असोज) दिउँसो नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका एक बृद्ध नेताको निधनमा शोक वक्तव्य जारी गरे। मृत्यु भएका ती नेता प्युठानको माण्डवी गाउँपालिका–२ का रिखबहादुर खत्री (अग्नि) थिए। खत्रीको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै प्रचण्डले उनको निधनले सिंगो पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको उल्लेख गरेका छन्।

    देशको सबैभन्दा ठूलो पार्टीका अध्यक्षले शोक वक्तव्य जारी गरेर श्रद्धाञ्जली दिएका खत्री को थिए, नेकपाका देभभरिका अधिकांस नेता–कार्यकर्तालाई जानकारी छैन। प्रचण्डले पनि वक्तव्यमा आन्दोलनमा उनको के योगदान थियो, खासै बताएका छैनन्। शोक वक्तव्यमा उनले ‘खत्री (अग्नि) जनमुक्ति सेनाको प्रशिक्षक रहेर नेपाली क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याएको’मात्र उल्लेख गरेका छन्।

    एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि खत्री नेकपाको सामान्य कार्यकर्तामा रुपान्तरित भए। तर, सशस्त्र विद्रोहकालको माओवादीका लागि उनी सामान्य व्यक्ति थिएनन्। उनले माओवादी छापामारहरुलाई सेनाबाट कब्जा भएका ती हतियार चलाउन सिकाए, सेनाबाट कब्जा गरेका ती हतियार चलाउन नजान्दा माओवादीका लागि ‘बाँदरका हातमा लौरो’ सरह भएका थिए।

    भारतीय सेनामा हवल्दार, कम्युनिस्ट राजनीति

    खासमा भारतीय सेनाको हबल्दार पदबाट अवकास प्राप्त गरेका भूपू हवल्दार थिए उनी। ग्रामीण क्षेत्रका अन्य युवाहरु झैँ उनी पनि उमेरमा भारतीय सेनामा भर्ति भए। अवकास पाउनुअघि हबल्दारसम्म पुगेर अवकास पाए। अवकास पछि गाउँ फर्के, खेती किसानी सुरु गरे। एमालेको स्थानीय राजनीतिमा पनि सहभागी भए।

    २०५५ मा एमाले छाडेर माओवादीलाई समर्थन गर्न पुगे। हाल उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को प्रमुख निजी सचिव रहेका माओवादी सेनाका पूर्वडिभिजन कमाण्डर सुकबहादुर रोका (शरद) ले भने, ‘२०५५ मा हाम्रो छापामार दस्ताको एउटा स्वायडको नेतृत्व गर्दै प्युठान पुगेको थिएँ, त्यो बेला उहाँ माओवादीमा समाहित भइसक्नु भएको थियो।’

    ८ मंसिर ९०५८० मा माओवादीले दाङको घोराहीस्थित सेनाको ब्यारेकमा हमला गर्यो। खत्री त्यतिबेलासम्म माओवादीको ‘होल टाइमर’ कार्यकर्ता बनिसकेका थिए। तर, अझैपनि उनी माओवादीका लागि सामान्यपात्र नै थिए। तर, दाङ आक्रमणपछि जब सेना–माओवादी छापामारबीच श्रृङ्खलाबद्ध मोर्चाबद्ध युद्ध हुन थाल्यो, त्यसपछि ‘अग्नि बा’ को महत्व एकाएक बढ्यो।

    २०६४ मा प्रकासित ‘इतिहासका रक्तिम पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकमा वर्तमान उपराष्ट्रपति पुन (पासाङ) ले उल्लेख गरे अनुसार, घोराहीबाट उनीहरुले ठूलो आकारको मेसिन गन अर्थात् जिपिएमजी २ वटा हात पारेका थिए भने १३ वटा एलएमजी र करिव १ सय थान एसएलआर र ४८ वटा एसएमजी पनि कब्जा गरेका थिए।

    त्यसबाहेक घोराहीको ब्यारेक आक्रमणबाट उनीहरुले ठूलो आकारको मेसिन गन अर्थात् जिपिएमजी २ वटा हात पार्यो भने १३ वटा एलएमजी हात पारेका थिए। यी भन्दा पनि उच्चस्तरका हतियार पनि उनीहरुको हात पर्यो। तिनमा रकेट लञ्चर, २ इञ्च मोर्टार र ८१ एमएमका मोर्टार (तोप) थिए।

    चलाउन नजान्दा थन्क्याइए तोप

    नेपाली सेनाले प्रयोग गरेका एलएमजी, एसएमजी, एसएलआरजस्ता हतियार त माओवादी छापामारहरुले तत्कालै चलाउन सिके। कतिपय हतियार चाहिँ पासाङले चलाउन सिकाए। हतियार कब्जा गरेर रोल्पातर्फ लाग्ने क्रममै उनीहरुले जिपिएमजी, रकेट लञ्चर र २ इञ्च मोर्टार पनि चलाउन सिके। तर, ८१ एमएमको तोप चाहिँ उनीहरुले कत्ति गर्दापनि चलाउन जानेनन्।

    ‘गन (राइफल) हरु त जसोतसो सिकेर चलायौँ, तर कहिल्यै नदेखेका मोर्टारहरु हात पर्दा ती हतियारहरु ‘बाँदरको हातमा लौरो’ झैँ भएको थियो’ युद्धकालमा माओवादी जनसेनाको डिभिजन कमाण्डर र हाल उपराष्ट्र पुनको स्वकीय सचिव रहेका सुकबहादुर रोका (शरद) ले फेसबुकमा लेखेका छन्। तर, ‘बाँदरको हातमा लौरो’ ८१ एमएमका तोप चलाउन चाहिँ माओवादी छापामारहरुले खत्रीकै आगमन कुर्नुपर्यो।

    ‘पछिसम्म पनि ८१ एमएमको मोर्टार (तोप) चाहिँ हामी कसैल चलाउन जानेनौँ, हाम्रो स्थिति कस्तो थियो भने, त्यो कस्तो हतियार हो भन्ने जानकारी समेत हामीलाई थिएन’ रोकाले सम्झे, ‘गोला प्रहार गर्दा ८१ एमएमको तोपलाई एउटा प्लेट (बेस) मा राख्नु पर्दो रहेछ। तोपका लागि प्लेट महत्वपूर्ण हुन्छ भन्ने नजान्दा पाँच वटा मोर्टारमध्ये दुईवटा मोर्टारको प्लेट हाम्रा साथीहरुले ब्यारेकमै छाडेर हिँडेछन्।’

    यसरी तोप अड्याउने प्लेट नहुँदा दाङबाट कब्जा भएका पाँचमध्ये दुई वटा तोप बेकामे भए। प्लेट भएका ३ वटा तोप पनि ६ महिना जति बेकामे भएर जंगलमा रहे। ‘तिनलाई कसरी चलाउने हो, हामीलाई थाहै थिएन’ रोकाले सुनाए, ‘त्यसैले हामीले त्यसलाई जंगलमा थन्क्याएर राखेका थियौँ।’

    घोराही ब्यारेक आक्रमणपछि माओवादीले सेनासँग थुप्रै मोर्चामा युद्ध लड्यो। कुनै भीडन्तमा सेना हावी भयो, कुनैमा माओवादी हावी भए। आफ्नै हतियारले माओवादी सुसज्जित र ठूल्ठूला आक्रमण हुन थालेपछि सेनाले पनि ब्यारेकलाई किल्लाबन्दी गर्न थाल्यो। सेनाको किल्लाबन्दी तोड्न ८१ एमएमको सो तोप प्रभावकारी हुनसक्थ्यो। तर, रोकाले भनेझैँ चलाउन नजाँदा, ८१ एमएमका तोप उनीहरुका लागि ‘बाँदरको हातमा लौरो’ सरह झैँ भएका थिए।

    घोराही आक्रमणको पाँच महिनापछि माओवादी छापामारहरु प्यूठान सदरमुकाम खलङ्गामाथि आक्रमणको तयारीमा थिए। त्यही तयारीमा रहेका बेला सेनाबीच रोल्पाको लिस्नेमा भयंकर भीडन्त ९१९ वैशाख (५९) भयो। त्यो भीडन्तमा पनि माओवादी छापामारहरु हावी भएपनि सरकारी पक्षले ५ सय माओवादी मारिएको दावी गर्यो। सरकारी दावीलाई व्यवहारबाटै चिर्ने योजनामा छापामारहरु लागे।

    त्यसैक्रममा लिस्नेबाट एक दिनको दुरीमा रहेको गाम (रोल्पा) मा रहेको गामस्थित नेपाली सेनाको आधार शिविरमाथि हमला ९२४ वैशाख (५९) गरे। सो क्याम्पमा नेपाली सेनामात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि रहेका थिए। गामबाट पनि उनीहरुले भारी संख्यामा सेनाका हतियार प्राप्त गरे। यहाँ पनि उनीहरुको हातमा ८१ एमएमको तोपहरु हात लागे।

    गाममाथिको आक्रमणमा खत्री पनि सहभागी थिए। त्यो बेलासम्म उनलाई माओवादीसँग ८१ एमएमको तोप छ भन्ने जानकारी थिएन। होस् पनि कसरी, दाङमा कब्जा भएका तोप चलाउन नजानेका ती तोप उनीहरुले जङ्गलमा थन्क्याएका थिए, लुकाएका थिए।

    खोजियो तोप, ‘अग्नि बा’बने प्रशिक्षक

    आक्रमण सकिएको भोलिपल्ट (२५ बैशाख ०५९) दिउँसो माओवादी छापामारहरुले गाम आधार शिविर छाड्ने तयारी गर्दै थिए। माओवादीमाथि माथि प्रत्याक्रमण गर्न काठमाडौँबाट कमाण्डो फौजसहितको नेपाली सेनाका दुई हेलिकोप्टरसहित रोल्पातर्फ लागे। जडित मेसिनगन जमिनतर्फ चलाउँदै हेलिकोप्टरहरु जलिरहेको ब्यारेक नजिकै ल्याण्ड गर्ने प्रयास गरे।

    ‘विहान (२५ वैशाख) २ वटा हेलिकोप्टर आए, हेलिकोप्टरमाथि आक्रमण गर्न थालियो। त्यसमाथि पनि प्रत्याक्रमण गर्न थालेपछि हेलिकोप्टर बस्न सक्ने स्थिति रहेन, फर्कर गयो’ सो पुस्तकमा उपराष्ट्रपति पुन (पासाङ) ले लेखेका छन्, ‘गस्ती गएको टोली र बाँकी फोर्स हेलिकोप्टरबाट थप गरेर करिव ४ बजेतिर मात्र बल्लबल्ल घटनास्थलतिर पुगे।’

    खासमा जमिनमा रहेका माओवादीहरुले जिपिएमजी, एलएमजी जस्ता प्रभावकारी हतियार त प्रयोग गरे नै। थप ८१ एमएमको मोर्टार पनि प्रयोग गर। माओवादी जनयुद्धको इतिहासमा पहिलो पटक सो मोर्टारको प्रयोग गाम आधार शिविर कब्जापछि हुन पुग्यो। त्यसका लागि ‘अग्नि बा’ नै अघि सरे।

    ‘गामबाट पनि ८१ एमएमको तोप कब्जा भयो, तर त्यहाँ हामी कसैले चलाउन जानेका थिएनौँ, त्यहाँ ‘अग्नि बा’ पनि हुनुहुन्थ्यो, उहाँले त्यो तोप चलाउन जान्नुहुँदो रहेछ’ रोकाले सुनाए, ‘तोप एकातिर थियो, प्लेट अर्कोतिर। उहाँले नै तिनलाई जोड्नु भयो र त्यसमा गोला हालेर हेलिकोप्टर ल्याण्ड गर्न लागेको ठाउँतिर प्रहार गर्न थाल्नुभयो। तोपका गोला जुन ठाउँमा खसाल्नुपर्ने हो, मिस नगरी उहाँ त्यहीँ खसालिदिनु हुन्थ्यो।’

    त्यसपछि उनले पासाङ लगायत माओवादी छापामारहरुलाई त्यो तोप कसरी चलाउने भनेर पनि सिकाए। विस्तारै अन्य छापामारहरुले पनि त्यो तोप चलाउन सिके। यसरी भारतीय सेनाबाट पेन्सन पकाएर गाउँ फर्केका उनी अब एकाएक माओवादी जनसेनाका लागि महत्वपूर्ण व्यक्ति हुन पुगे।

    96241907_847474885658098_2946560569664077824_n.png

    त्यसपछि माओवादीहरुले घोराही आक्रमणपछि चलाउन नजानेर जंगलमा लुकाएका तोप पनि खोजेर ल्याए। माओवादीले ‘अग्नि बा’ कै कमाण्डमा तोप कसरी चलाउने भनेर प्रशिक्षण दिन थाल्यो। रोल्पा–प्युठान सीमानामा पर्ने सेरम, दावा लगायतका स्थानमा यस्ता प्रशिक्षण आयोजना गरिए। ‘त्यतिबेलासम्म हामी उहाँलाई ‘अग्नि बा’ भन्थ्यौँ’ रोकाले फेसबुकमा लेखका छन्, ‘त्यसपछि उहाँ ‘८१ बा’ का नामले चिनिन थाल्नुभयो।’

    बेनी र खारामा ‘तोप कमाण्डर’

    १० वर्षे माओवादी युद्धमा माओवादीले ८१ एमएमको तोप (मोर्टार) अत्याधिक प्रयोग गरेका दुई आक्रमण छन्, खारा (रुकुम) को खारा (१३ जेठ २०५९) माथिको पहिलो आक्रमण। र, म्याग्दीको सदरमुकाम बेनी (७ चैत्र ०६१) माथिको आक्रमण। यी दुबै आक्रमणमा ‘अग्नि बा’ तोप चलाउने कमाण्डर रहे।

    अन्य आक्रमणमा पहिले छापामारहरु व्यारेक नजिकै पुगेर राइफलबाट पहिलो फायर खोल्थे। त्यसपछि भीडन्त सुरु हुन्थ्यो। तर, खारा र बेनीका दुई आक्रमणमा चाहिँ उनीहरुले ८१ एमएमको तोपबाट पहिलो फायर खोले। तोपको गोला प्रहारमार्फत सैनिक व्यारेकभित्र विध्वंस र अस्तव्यस्तता सिर्जना गरी ब्यारेक कब्जा गर्ने युद्धनीति उनीहरुले बनाएका थिए।

    खासमा गाम आक्रमणमा प्राप्त सफलताबाट माओवादीहरु यति हौसिएका थिए कि, त्यही जोशमा छापामार दस्ताले जोशैजोशमा रुकुमको खारामा डाँडामाथि रहेको ब्यारेकमाथि हमला गर्न पुगेको थियो। त्यहाँ उनीहरु असफल भए। सो १० वर्षे माओवादी जनयुद्धको सबैभन्दा बढी असफलमध्येको एक आक्रमणमा दर्ज हुन पुग्यो। दर्जनौँ छापामारले सो आक्रमणमा ज्यान गुमाए। उनीहरुले थुप्रै आधुनिक हतियार पनि गुमाए।

    माओवादी छापामार दस्ताले खाराको डाँडामा रहेको ब्यारेकलाई मुख्य लक्ष्य बनाएको थियो। सदरमुकाम मुसिकोटमुनि रहेको बोरा गाउँमा सेनाको अर्को ब्यारेक थियो। खारामा आक्रमण जारी रहँदा सदरमुकामबाट सेना आइदिन सक्थ्यो। खारामा मद्दतका लागि आउन नदिन बोरा गाउँमा रहेको सैनिक ब्यारेकलाई ‘इन्गेज’ गराइरहनु पथ्र्यो।

    बोरा गाउँस्थित ब्यारेकलाई ‘इन्गेज’ गराउन माओवादीले अर्को डाँडाबाट ८१ एमएमको तोप प्रयोग गर्यो। त्यसका लागि ‘अग्नि बा’ नै खटिए। उता मुख्य छापामार फौज खारामाथि आक्रमण गरिरहेको थियो, यता ‘अग्नि बा’ अर्को नजिकैको डाँडामा फिट गरिएको ८१ एमएमको तोपका गोला बर्साइरहेका थिए। त्यही कारण त्यो ब्यारेकका सेना त्यहीँ ‘इन्गेज’ भए, खारामा थप क्षति हुन पाएन।

    बेनी आक्रमणका बेला पनि तोप चलाउने जिम्मा उनैलाई दिइयो। बेनीमा रहेको नेपाली सेनाको गणमाथि सबैभन्दा पहिले माओवादीहरुले ८१ एमएमको सोही तोपबाट अन्धाधुन्ध गोला प्रहार गरे। त्यसपछि मात्र ब्यारेक कब्जा गर्न छापामाहरु अघि बढे। ब्यारेकमाथि तोपबाट पहिलो फायर ‘अग्नि बा’ ले खोलेको रोका बताउँछन्।

    रोकाका भनाईमा, भारतीय सेनामा रहँदा उनको जिम्मेवारी ८१ एमएमको सोही तोप चलाउँथे। ‘भारतीय सेनामा रहँदा पछिल्लो १४ वर्ष त उहाँको पुरै समय तोप चलाएरै बितेको रहेछ’रोकाले भने, ‘त्यही तोप चलाएर पेन्सन पकाउनु भएको रहेछ। भारतीय सेनामा उहाँले हासिल गरेको अनुभव हाम्रा लागि पनि महत्वपूर्ण बन्यो।’

    आफ्नो सैन्य शक्ति र लडाईंको मात्रा बढोत्तरीसँगै माओवादीले युद्धका नयाँ–नयाँ तरिका र प्रविधिबारे जानकारी लिनुपर्ने भयो। त्यसका लागि माओवादीले छुट्टै प्रशिक्षण इकाई बनाएको थियो। त्यसमा प्यूठानका अग्नि बा, बाग्लुङका पूर्णबहादुर राना (प्रभात) र नेपाली सेनाबाट विद्रोह गरेका ‘विद्रोही’ नामका अर्का छापामार रहेको रोका बताउँछन्।

    त्यसमध्ये ‘विद्रोही’ बेनीको आक्रमणमा मारिए भने ‘प्रभात’ उपनामका राना चाहिँ पहिलो संविधान सभाका सदस्य पनि भए। भारतीय सेनाको क्याप्टेनबाट अवकास पाएका उनी माओवादी सेनाभित्र ‘क्याप्टेन बा’ का नामले चिनिन्थे। रोकाका भनाईमा, ‘विद्रोही’, ‘अग्नि बा’ र क्याप्टेन बा नयाँ नयाँ हतियारका अलावा सञ्चार उपकरण सञ्चालन र ‘म्याप रिडिङ’ का काममा सघाउँथे।

    photo 2. .jpg

    शान्ति प्रक्रिया शुरु भएपछि माओवादीले ‘जनसैन्य प्रतिष्ठान’ निर्माण गर्यो। शान्तिवार्ता कालमा लडाकूहरुलाई नयाँ खालका तालिम दिन, उनीहरुको सैद्धान्तिक स्तर बढाउन यस्तो प्रतिष्ठान गठन भएको थियो। तत्कालिन माओवादी सेनाका ब्रिगेड सहकमाण्डर निर्मल महरा (एटम) का भनाईमा, शान्ति प्रक्रिया सुरु भएपछि ‘अग्नि बा’ जनसैन्य प्रतिष्ठानमा सरुवा भए। तर, त्यहाँ पनि लामो समय रहेनन्।

    उनी भारतीय सेनाका ‘पेन्सनर’ थिए। बुढ्यौली सुरु भइसकेको थियो। एकातिर बुढ्यौली उमेर, अर्कोतिर भारतीय सेनाका ‘पेन्सनर’ पनि भएकाले सेना समायोजनमा जाने कुरा पनि थिएन। त्यसैले, माओवादी लडाकूहरुको क्यान्टोनमेन्ट बसाईं सुरु भएपछि क्यान्टोनमेन्टमा बस्नुको साटो पार्टी घर व्यवहार सम्हाल्ने गरी गाउँतिर लागे।

    जनयुद्धमा लागेपछि उनको पेन्सन आउन छाडेको थियो। पेन्सनका लागि आवस्यक कागजात हराएका थिए। शान्ति प्रक्रिया सुरु भएर जब उनी घर फर्के, पेन्सनका लागि आवस्यक पर्ने कागजात मिलाउनतिर लागे। कागजात बनाएपछि एकमुष्ट पेन्सनपनि प्राप्त गरे। रोकाले भने, ‘उहाँ गाउँमा गएर बस्नुभयो। तर स्थानीय राजनीति र समाजसेवा छाड्नु भएन।’

    उनी शनिवार (१७ असोज) दिउँसो गाउँमा स्थानीयवासीबीचको झै–झगडा मिलाउन गएका थिए। मिलापत्रका लागि छलफल हुँदै थियो। कुर्सीमा रहेका उनी अचानक बेहोस भए। कुर्सीबाट ढले। तुरुन्त स्थानीय अस्पताल लगियो। अस्पतालमै उनको निधन भयो।

    पार्टी एकता हुनुअघि तत्कालिन माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य थिए। एकतापछि भने उनलाई पूर्व माओवादीले जेष्ठ कम्युनिस्ट मञ्चको केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेको थियो। तर, एकता प्रक्रिया नटुङ्गिदै संसार छाडे। ‘ईतिहास नलेखिएका योद्धा’ बनेर उनी सदाका लागि विदा भए।

    खत्रीको निधनपछि महराले आफ्नो फेसबुकमा लेखेका छन्, ‘भारतीय सेनाको पुरा कार्यकाल सकेर घरमा आराम गर्नु भएन, बुढो शरीर लिएर जनयुद्धमा अभूतपूर्व त्याग, बलिदान गर्नुभयो, लालसेनालाइ परेड खेलाउनु भयो, हामीले तपाईंसँगै परेड खेल्यौँ, तपाइका हातबाट पड्किएका तोपहरुको सम्झना अहिले पनि मेरो फोटो एल्बममा ताजै छन् ।’


    प्रकाशित :आश्विन १९, २०७७ सोमवार - ११:२२:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.