Logo

मंगलवार, कार्तिक ४ गते २०७७

‍चे ग्वेभाराले नेहरुको भव्य स्वागत पाए, तर भारतीय कम्युनिष्टहरूले वास्ता गरेनन्

‍चे ग्वेभाराले नेहरुको भव्य स्वागत पाए, तर भारतीय कम्युनिष्टहरूले वास्ता गरेनन्

ओम थानवी

२४ आश्विन २०७७
  • 756
    SHARES
  • ‍चे ग्वेभाराले नेहरुको भव्य स्वागत पाए, तर भारतीय कम्युनिष्टहरूले वास्ता गरेनन्
    तीन मूर्ति भवनमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूका साथ

    उनी छ महिना पहिले क्युवामा भएको सशस्त्र क्रान्तिका नायक थिए। क्युबामा क्रान्तिकारी सरकार गठन भएलगत्तै राष्ट्रपति फिडेल क्यास्ट्रोले उनलाई तेस्रो विश्वसँग सम्बन्ध कायम राख्नका लागि जिम्मेवारी सुम्पिए। क्युबाली क्रान्तिको दुत बनेर उनले केही देशको यात्रा गरे। भारत सरकारले त उनलाई विशेष निम्तो नै दिएको थियो। क्युबाली क्रान्ति लगत्तै फिडेल क्यास्त्रोको नेतृत्वमा बनेको क्रान्तिकारी सरकारलाई भारतले तुरुन्तै मान्यता प्रदान गरेको थियो।

    त्यसैक्रममा चे इजिप्ट (मिश्र) हुँदै भारत आइपुगे। ३० जुन १९५९को साँझ उनलाई विदेश मन्त्रालयका प्रोटोकल अधिकारी डिएस खोसलाले स्वागत गरे। चेको नेतृत्वमा आएको क्युबाली प्रतिनिधि मण्डलमा पाँच जना सदस्य थिए। सुनौलो तारा अंकित टोपी, लामो सिगार र फितावाल अग्लो जुत्ताका कारण चे प्रतिनिधिमण्डलका अन्य सदस्य भन्दा फरक देखिन्थे।

    9.jpg

    चे नेतृत्वको क्युबाली प्रतिनिधिमण्डललाई नयाँ दिल्लीको चाणक्यपुरीमा भर्खर बनेको होटल ‘अशोका’ मा राखिएको थियो। नयाँदिल्ली आइपुगेको अर्काे दिन चे र उनी नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे। नेहरुका साथ उनीहरुले खाना पनि खाए। (भेटका क्रममा नेहरुले चेलाई उपहारस्वरुप दिएको वस्तुमध्ये खुकुरी पनि एक थियो।) त्यसपछि ओखला औद्योगिक क्षेत्रमा काठ सम्बन्धी कारखानाको भ्रमण गरे। त्यो साँझ उनीहरूको भेटवार्ता कानुनमन्त्री नित्यानन्द कानूनगोसँग भयो। भारत र क्युबाबीचको सम्बन्धका दृष्टिले यो बैठक निकै महत्वपूर्ण थियो। किनभने, त्यो बैठकमा दुई देशबीच आयात–निर्यातका विषयमा कुराकानी भएको थियो।

    क्युबाबाट आएको यो प्रतिनिधि मण्डल राष्ट्रिय योजना आयोगमा पनि पुग्यो। चेको टोली कृषि अनुसन्धान परिषद्पनि गयो। त्यहाँ उनीहरूले गहुँको एउटा उन्नत प्रजातिबारे जानकारी लिए।

    ३ जुलाईका दिन चेले दिल्लीसँगै जोडिएको पिलाना गाउँस्थित सामुदायिक (सहकारी) परियोजनाका केही कार्यक्रमहरु निरीक्षण गरे। त्यहाँ रहेको खेत र स्कूल पनि हेरे। त्यहाँबाट फर्केर यो क्युबाली भ्रमण दलले सामुदायिक विकास र सहकारी मन्त्री एस के डोलासँग भेट गर्‍यो। ४ जुलाईका दिन चेको खाद्य र कृषिमन्त्री एपी जैनसँग भेट भयो। लगत्तै वाणिज्य र उद्योग मन्त्रालयका अधिकारीहरूले भारतीय चिया र कफीसँगै चेसँग भेट गरेका थिए।

    यी घटनासँग सम्बन्धित तस्वीरहरू लामो खोजविनपछि फोटो विभागका निर्देशक देवतोष सेनगुप्तबाट प्राप्त भएका हुन्। खासमा हामीले ‘चे ग्वेभारा’को नामबाट सम्बन्धित तस्वीरहरूको खोजी गरिरहेका थियौँ। तर त्यहाँ उनको नाम थिएन। त्यसको साटो फाइलमा ‘अर्नेष्ट गेवारा’ नाम दर्ज गरिएको भेटियो।

    नयाँदिल्ली भ्रमणको दौरान चेले रक्षामन्त्री कृष्ण मेनन र सैन्य अधिकारीहरूसँग पनि भेट गरेका थिए। ५ वा ६ जुलाईका दिन सोही प्रतिनिधि मण्डल कलकत्ताका लागि प्रस्थान गरेको थियो। हवानामा रहेका दस्तावेजहरूमा चेको टोली लखनउको कुनै चिनी अनुसन्धान केन्द्र हेर्न गएको दावी गरिएको छ। तर, यसलाई पुष्टि गर्ने जानकारी प्राप्त हुन सकेको छैन।

    भारतबाट सायद उनी बर्मा गए, त्यसपछि भियतनाम । उनका पत्रमा ‘बीत्रिज’ नाम गरेका कुनै नातेदारले रंगुन (बर्मा) बाट लेखेको पत्र छ, जसमा १३ जुलाई १९५९ को मिति उल्लेख छ। त्यहाँबाट फर्केपछि फेरि भएको चेको भारत यात्राको विस्तृत विवरण हामीसँग उपलब्ध छैन।

    भारतबाट फर्केपछि चे क्युबामा राष्ट्रिय बैंकका अध्यक्ष र उद्योग मन्त्री बने। खासमा उनी बित्त –अर्थ) मन्त्री पनि बनेका थिए। उनको भारत भ्रमण निकै लामो थियो। ६–७ दिन त उनी नयाँदिल्लीमै रहे। त्यसपछि भारतका अन्य सहरहरूमा पनि गए। तर यहाँ छापिएका सामाग्रीहरूमा यस सम्बन्धी कुनै पनि जानकारी प्राप्त भएका छैनन्। केही जानकारी मलाई प्राप्त भएको छ। चे को विचार–दर्शनमा विश्वास गर्नेहरूले चेको भारत भ्रमण सम्बन्धी विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्नु जरुरी छ।

    चे ग्वेभाराको भारत भ्रमणका विवरणहरू जोन ली एण्डरसनद्वारा लिखित चे को जीवनी ‘अ रिभोल्यूशनरी लाइफ’ र बयोबृद्ध पत्रकार केपी भानुमतीको पुस्तक क्यानडिड कन्भर्सेसन्स’ मा पाइन्छन्। एण्डरसनद्वारा लिखित उपरोक्त पुस्तक चेमाथि लेखिएका पुस्तकमध्ये सबैभन्दा बढी चर्चित पुस्तक हो । आठ सय पृष्ठ रहेको सो पुस्तकमा उनले चे कसरी चिकित्सकबाट विश्व प्रसिद्ध क्रान्तिकारी बन्न पुगे भन्ने कुराको निकै मिहिन पारामा वर्णन छन्। बोलिभियामा गुपचुप तबरमा भएको चेको हत्याको चालिस वर्षपछि एण्डसनकै सहयोगमा चे र उनका साथीहरूको शव फेला पारिएको थियो।

    pp-photo-picture.jpg

    तर, एण्डरसनले लेखेको जीवनीमा चेको भारत भ्रमणबारेको निष्कर्ष अप्रामाणिक छन्। भ्रमणका सहयोगी पार्दाे लादाले एण्डरसनलाई दिएका विवरणहरू किस्सा जस्ता लाग्छन्। पार्दाेका अनुसार, भारतीय प्रधानमन्त्री नेहरु चेका लागि नायक सरह थिए। नेहरुसँग चेको भेटघाट शानदार लञ्चका साथ भएको थियो। सरकारी भवन ‘तीनमूर्ति भवन’मा खानाका साथ भएको भेटमा इन्दिरा गान्धी, गान्धीका पुत्रद्वय राजीव र सञ्जय गान्धी समेत थिए। पार्दो भन्छन्, ‘चेले नेहरुसँग चीन र माओका बारेमा केही कुरा सोधिरहेका थिए। तर, नेहरुले भने चेले सोधेका गम्भीर प्रश्नहरूको नसुनेझैँ गरी टेबलमा सजाइएका खानेकुरा र फलफूलहरूको बारेमा बताउँदै थिए।’

    चे क्युबाका राष्ट्रनायक थिए। र, उनका बारेमा उनका कनिष्ट सहयोगीहरूले तथ्यहरुमाथि रंग भरेर बताउनु सजिलो छ। तर, हैरानी त्यतिबेला हुन्छ, जब एण्डरसन बताउँछन् कि, ‘चे भारतबाट यस्तो झुर अनुभव लिएर फर्के कि आधुनिक भारतका संस्थापक (नेहरु) सँग सिक्ने कुरा केही पनि छैनन्। नेहरु सरकार कृषि सुधारका कुनै कार्यक्रम लागू गर्ने अथवा धार्मिक र सामन्ती संस्थाहरुको शक्ति शिथिल पार्न अनिच्छुक देखिएका छन्।’ एण्डरसनका अनुसार, चेले यसका पछाडि भारतको सांस्कृतिक र ऐतिहासिक परम्परा अवरोधका रुपमा रहेको विश्लेषण गरेका थिए।

    संयोगवस हवानास्थित ‘चे अध्ययन संस्थान’ मा मलाई एउटा यस्तो रिपोर्ट प्राप्त भयो, जुन रिपोर्ट भारत भ्रमणबाट फर्केलगत्तै चेले राष्ट्रपति फिडेल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए। साप्ताहिक ‘वेरदे ओलिवो’ को १२ अक्टोवर १९५९ को अंकमा त्यो रिपोर्ट प्रकाशित भएको थियो। त्यो रिपोर्ट पढ्ने जो कोहीले बुझ्न सक्छ, चेले भारतलाई हताशाको भावमा होइन, तटस्थ दृष्टिकोणका साथ मूल्यांकन गरेका थिए।

    यो कुरा पनि ख्याल राख्नै पर्छ कि, चे भारत आउँदा अंग्रेज राजबाट भारत मुक्त भएको १२ वर्षमात्रै भएको थियो। चेले यो तथ्यलाई पनि मध्यनजर गरेका थिए। तीन पृष्ठको सो रिपोर्टमा चेले भारतलाई विविध विषयमा विरोधाभास भएको देश भनेका छन्। औद्योगिक विकास र भयानक दरिद्रताको बीचमा रहेको विचित्रको देशको रुपमा व्याख्या गरेका छन्। उनले ‘कृषि सुधार’का लागि प्रविधितर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन्। भारत र क्युबाको सामाजिक–आर्थिक ढाँचाको विश्लेषण गर्दै यी दुई उद्योगशील मुलुक ‘साथ–साथै अघि बढ्नुपर्ने र त्यसो गर्दा उन्ततिको सम्भावना रहेको विचार व्यक्त गरेका छन्।

    7.jpg

    प्रविधिको विकासमा भारतीय वैज्ञानिकहरुले गरेको सफलतालाई निकै महत्वपूर्ण भन्दै उनी लेख्छन्, ‘भारतको यो भ्रमण हाम्रा लागि लाभदायक बनेको छ, हामीलाई आवश्यक पर्ने कुरा हामीले यो भ्रमणबाट सिकेका छौं। सबैभन्दा महत्वपूर्ण कुरा, कुनै देशको आर्थिक विकास उसले प्रविधिमा गरेको विकासमा निर्भर हुँदो रहेछ।’

    चेको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय यो हो कि, उनले विना हिच्किचाहट भारतको स्वतन्त्रतामा गान्धीको सत्याग्रहको महत्व बुझ्ने मौका पाए। सो रिपोर्टमा भनिएको छ, ‘अंग्रेजहरूले डेढ सय वर्षदेखि भारतमा शोषण गर्दै आएका थिए। तर, जनतामा उत्पन्न असन्तोषका कारण सिर्जित ठूल्ठूला शान्तिपूर्ण प्रदर्शनपछि अंग्रेजहरु सधैंका लागि भारत छाड्न बाध्य भए।’

    मेरो मनमा चेबारेको उही पुरानो पुरानो खुलदुली फेरि जाग्न थालेको छ। किनकि भनाइ र गराइबीच तादात्म्यता खोज्ने चेजस्ता संवेदनशील युवाले भारत भ्रमणबाट फर्केपछि फेरि किन कुनै निष्कर्ष निकाल्न नसक्ने त्यही हिंसाको बाटो रोजेका होलान्?

    केपी भानुमतीले जब दिल्लीको अशोक होटलमा अल इण्डिया रेडियोका लागि चेको अन्तर्वार्ता लिन पुगिन्, मेरो मनमा रहेको पुरानो प्रश्नको जवाफ चेले नै भारतमा रहँदा दिने कोसिस गरेका थिए। भानुमतीका अनुसार चेले भनेका थिए, ‘तपाईंहरूका लागि त यहाँ गान्धी छन्। दर्शनको पुरानो परम्परा पनि छ। तर ल्याटिन अमेरिकामा यस्तो केही पनि छैन। यही कारण हाम्रो ‘माइन्डसेट’ फरक ढंगले विकसित भएको छ।’ भलै, यो कुरा भानुमतीको पुस्तकमा उल्लेख छैन, किनकि प्रकाशकले सो पुस्तकका कतिपय अध्याय अन्धाधुन्ध रुपमा काँटछाँट गरिदिएका थिए।

    पहिलो जुलाई १९५९ बिहान ८ बजे भानुमती होटलको छैटौं तलामा पुगेकी थिइन्। चे ग्वेभारा भानुमतीको स्वागतका लागि आफै ढोका खोल्न आइपुगेका थिए। त्यो बेला चे एक्लै थिए, साथमा सुरक्षाकर्मी थिएनन्। चेका साथमा ‘ब्लिट्ज’ का संवाददाता राघवन र फोटोग्राफर पीएन शर्मा पनि गएका थिए। राघवन भानुमती र चेबीचको कुराकानी रेकर्ड गरिदिन गएका थिए। उनले चेसँग केही कुरा पनि नसोध्ने सर्तमा भानुमतीले लगेकी थिइन्। भानुमती भन्छिन्, राघवनले मेरो सर्त अफ्ठेरोका साथ स्वीकार गरे जबकी चेको भारत भ्रमणबारे मलाई उनले नै जानकारी दिएका थिए।’ फोटोग्राफर शर्मा भने ‘भ्वाइस अफ अमेरिका’ का फोटोग्राफर थिए। यस हिसाबले उनको पनि ‘अल इण्डिया रेडियो’सँग कुनै सम्बन्ध थिएन। ध्यान दिनुपर्ने कुरा यो पनि छ कि, रेडियो भएकाले न ‘अल इण्डिया रेडियो’लाई चेको फोटोको जरुरत थियो, नत वासिङ्टनको रेडियोका लागि नै। तर पनि किन उनीहरू भानुमतीले लगेकी होलिन्?

    5.jpg

    उनीहरूले चेसँग आधा घण्टा कुराकानी गरे। तर, रेडियोले मुस्किलले चेसँगको कुराकानीको अंश दुई मिनेट जतिमात्रै प्रसारण गर्‍यो। ‘न्यूजरिल’ कार्यक्रममा अन्य केही घटना समेट्नैपर्ने भयो, त्यही कारण चेको अन्तर्वार्ता थोरै मात्र उपयोग गरिएको थियो।

    भानुमतीले गरेको चेसँगको कुराकानीको त्यो टेप अहिले सुरक्षित छैन। किनभने, त्यो बला रिलको चक्कालाई मेटिने गरी फेरि त्यसैमा अर्काे रेकर्ड गर्ने चलन थियो। तर अन्तर्वार्ताका लागि नोटबुकमा तयार गरिने प्रश्नहरु भानुमतीले सुरक्षित राखेकी थिइन्।

    एक दिन क्युवाका राजदूत भानुमतीले चेसँग सोध्न तयार पारिएका प्रश्नको प्रति लिनका लागि आएका थिए। भानुमतीले खुसीका साथ चेसँगको कुराकानीका लागि तयार पारिएको प्रश्न मात्र होइन, चेसँगको आफ्नो तस्वीर समेत दिएर पठाइन्।

    भानुमती भन्छिन्, ‘चेसँगको साक्षात्कार मेरा लागि सम्झनालायक थियो।’ उनकै शब्दमा, ‘चेले लगाएको फौजी बर्दीतिर ध्यान नदिने हो भने चे गुरिल्ला हुन् भनेर अनुमान समेत गर्न सकिँदैन थियो। उनी वकिल वा नेताजस्तो चलाख पनि थिएनन्। उनको आवाज एकदमै नरम थियो। र, कतिपय मानेमा उनी भद्र व्यक्ति थिए। कुनै सन्दर्भमा उनी सहज रुपमा बोल्थे कुनै सन्दर्भमा चाहिँ ज्योतिषीलेझैं लामो समय लगाएर सोचविचार गरिकन बोल्थे। कुराकानीको पूरै समय उनले मोन्टी–कारलो ब्राण्डको सिगार पिएका थिए। सिगारको डिब्बा उनी अगाडिको टेबुलमा राखिएको थियो। बचपनदेखि नै दमको रोगी रहेका चेको सिगार पिउने बानी देखेर मलाई आश्चर्य पनि लाग्यो। उनी हरेक प्रश्न सुन्ने क्रममा सिगारको धुवा लिन्थे, जवाफ दिने बेलाचाहिँ सिगार राख्थे, अनि माइक्रोफोन तर्फ थोरै झुकेर जवाफ दिन थाल्थे।’

    अन्तर्वार्ताका क्रममा भानुमतीले सबैभन्दा पहिले चे भारत आउनुको कारण सोधेकी थिइन्। चेले भनेका थिए, ‘क्युबामा बातिष्ता सत्ताको पतन लगत्तै म भियतनाम लगायतका ती मुलुकहरूको भ्रमणमा निस्केको छु, जहाँ औपनिवेशिक शासनले चरम दमन गरेको थियो। भारतमा चाहिँ तपाईंका प्रधानमन्त्री जवाहरलाल नेहरूले नै निम्तो दिनु भएकाले आएको हुँ। म पनि चाहन्थेँ कि, स्वतन्त्रता प्राप्तगरेपछि भारतले हासिल गरेको विकासलाई आफ्नै आँखाले नजिकबाट देख्न सकुँ। ल्याटिन अमेरिकामा हामीले पनि साम्राज्यवादलाई निकै नराम्रोसँग बेहोरेका छौँ। हामी तलैदेखि माथिसम्म उठ्नु परेको छ।’

    भानुमतीले सोधिन्, ‘तपाईं समाजवादी अर्थव्यवस्था र समाजवादी मानिसको कुरा गरिरहनु भएको छ। यो कुरालाई थप कसरी प्रष्ट पार्नुहुन्छ?’

    चेको उत्तर थियो, ‘हामी जस्ता अल्पविकसित देशहरू साम्राज्यवादी पराधिनता, कठपुतली हुकुमत र शोषणको कुचक्रबाट पिल्सिएका छौं। हामी उपनिवेश अर्थात् परनिर्भर मुलुक हौं, जहाँ एकदमै कम विकास भएको छ। भोकले स्वाधिनताको संघर्षका लागि उत्तम परिस्थिति सिर्जना गर्छ। बाहिरी शक्तिको गुलाम हुनु परेपनि समाजवादी मानसिकताको विकास र समाजवादी अर्थव्यवस्था निर्माण गर्न सक्नुहुन्छ। अल्पविकसित देशले कहिल्यै पनि भ्रष्टाचारबाट मुक्त भएको व्यवस्था देख्न सक्दैन भन्ने होइन।’

    6.jpg

    भानुमतीसँगको कुराकानीका क्रममा चेले भारतको निकै तारिफ गरेका थिए। उनको भनाइ थियो, ‘भारतले लामो संघर्षपछि स्वतन्त्रता प्राप्त गरेको हो। नेहरुप्रति मेरो हृदयमा विशाल आदरभाव छ। उहाँ भारतमा आर्थिक आत्मनिर्भरता हासिल गर्न सफल हुनुहुनेछ। साथै भविष्यमा भारत एक शक्तिशाली मुलुक पनि हुनेछ।’

    उनी अझ अघि बढे । र, भने, ‘हामी यस्तो समाजको निर्माण गर्न चाहन्छौं, जहाँ सबै मानिस व्यक्तिगत मानवीय आकांक्षालाई सामूहिक चेतनाको रुपमा साझेदारी गरुन्। नव उपनिवेशवाद दक्षिण अमेरिकाबाट प्रारम्भ भएको हो। यसले एसिया र अफ्रिकामा जह्रा गाड्न सफल भयो। हेर्नुहोस्, भियतनाम र कोरियामा अहिले के भइरहेको छ? एसियाका केही देशमा नृशंसताले भयानक रुप लिएको छ। साम्राज्यवादी षड्यन्त्रलाई पराजित गर्न हामी जस्ता अल्पविकसित अर्थात् तेस्रो विश्वका मुलुकहरु एकजुट हुनु जरुरी छ।’

    विचारधाराको बारेमा पनि भानुमतीले चेसँग प्रश्न सोधेकी थिइन्। उनको प्रश्न थियो, ‘तपाईंको पहिचान एक कम्युनिष्टको रुपमा बनेको छ। तर बहुधर्मी समाजमा कम्युनिष्ट (साम्यवादी) विचार कसरी स्वीकार्य होला?’

    चेले जवाफ दिए, ‘म आफूलाई कम्युनिष्ट हुँ भन्न चाहन्नँ। म एक क्याथोलिकका रुपमा जन्मेँ। तर म समाजवादी हुँ। शोषणबाट मुलुकहरू मुक्त हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्छु। मैले सानैदेखि भोकमरी देखेको छु, कष्ट, भयंकर गरिबी, विमारी र बेरोजगारी पनि देखेको छु। क्युबा, भियतनाम लगायत अफ्रिकाको हालत यस्तै छ। स्वतन्त्रताको लडाईंको जन्म भोकबाट नै हुन्छ। हो, मार्क्स–लेनिनको सिद्धान्तमा हामीलाई काम थुप्रै उपयोगी शिक्षा छन्। तर, असली क्रान्तिकारीले मार्क्र्सले देखाएको मार्गको आधारमा आफ्नो संघर्षको बाटो आफै तय गर्छ। भारतमा पनि गान्धीजीको सिद्धान्तको आफ्नै महत्व छ। त्यही सिद्धान्तका आधारमा भारतले स्वतन्त्रता प्राप्त गरेको हो।’

    के शिष्टाचारवसमात्र गान्धी र नेहरुप्रति चेले यस्तो प्रसंशा र आदर प्रकट गरेका होलान् त? वा यो उनको कुटनीतिमात्रै पो थियो कि?

    मलाई लाग्छ, भारत आएर चेले खुला आँखाले कहिल्यै नपर्ने जीवन्त र आकर्षक विचारलाई बुझ्ने कोसिस गरेका थिए। गान्धीजीको बारेमा उनले केही नबोले पनि त हुन्थ्यो। किनकि उनीसँग गान्धीबारे प्रश्न सोधिएकै थिएन। ‘सत्याग्रह’ वा ‘शान्तिपूर्ण’ राजनीतिक मार्गको पनि उनले आफ्नो हिसावले जवाफ दिन सक्थे। तर, हवाना फर्केर उनले जस्तो रिपोर्ट पेस गरे, त्यसमा स्पष्टसँग लेखिएको छ कि, ‘महात्मा गान्धीको सत्याग्रहको माध्यमबाट भारतले स्वतन्त्रता प्राप्त गरेको हो र जनअसन्तोषका कारण शान्तिपूर्ण प्रदर्शनबाट अंग्रेजहरू भारत छाड्न बाध्य भएका हुन्।’

    10.jpg

    चेको यस्तै भावनाको संकेत कलकत्ता बसाईंका क्रममा प्रकट गरेका थिए। कलकत्तामा भेट गरेका ‘कृष्ण’ नामका व्यक्तिको नाम उल्लेख गर्दै त्यो रिपोर्टमा चेले भनेका छन्, ‘उनले महाविनासक हतियारका बारेमा मेरो आँखा खोलिदिएका छन्।’ रिपोर्टमा उनी लेख्छन्, ‘कलकत्तामा कृष्ण नामका एक विद्वानसँग मेरो भेटघाट भएको थियो। उनी एकजना यस्ता व्यक्ति थिए, जो आजको दुनियाँ भन्दा निकै पर छन् जस्तो लाग्छ। उनले नम्र र निष्कपट रुपमा हामीसँग लामो कुराकानी गरे। उनले अहिलेको सम्पूर्ण प्रविधि शक्ति, सामर्थ्य र आणविक ऊर्जालाई शान्तिपूर्ण उद्देश्यका लागि जोड दिए। अन्तर्राष्ट्रिय राजनीतिमा जारी त्यो बहसको निन्दा गरे, जो आणविक हतियारलाई विनासक हतियारका रुपमा प्रयोग गर्न समर्पित छन्।’

    ती व्यक्तिसँगको संवादबाट प्रभावित भएका चेले थप लेखेका छन्, ‘भारतीय जनताको हृदयबाट ‘युद्ध’ भन्ने शब्द यति दुर भइसकेको छ कि, स्वतन्त्रताको आन्दोलनका बेला समेत युद्ध भन्ने शब्द उनीहरूको मनमा एकरत्ति आएको थिएन।’

    कलकत्तामा ती मानिससँग भएको कुराकानीको चर्चा हवाना पुगेको दुई महिनापछि आठ सेप्टेम्बरको भ्रमणबाट फर्केको एक घण्टापछि पत्रकारहरूसँगको एउटा कुराकानीमा चेले गरेका थिए।

    अमेरिकामा एउटा गजबको चलन छ, तीस वर्षपछि गोप्य दस्तावेजहरु सार्वजनिक गरिन्छन्। नाम र स्रोत कालो रंगले पोतेर गोप्य दस्तावेज सार्वजनिक गर्ने गरिएको छ। पुरानो हवानामा एक कवाडी बजारबाट मलाई एउटा यस्तै दस्तावेज हात पर्‍यो, जसमा चे ग्वेराको बारेमा अमेरिकी गुप्तचर एजेन्सीले क्युबाबाट पठाएको सूचनाहरूको संकलन थियो। यो संकलन अमेरिकी फाइलको फोटोकपी थियो। सो पुस्तिका दश वर्ष पहिले अष्ट्रेलियामा छापिएको थियो।

    त्यहाँ रहेको एउटा कुराले मलाई आश्चर्यमा पार्‍यो। त्यो दस्तावेज १९५२ ताकाको थियो। त्यतिबेला चे र फिडेल क्यास्ट्रोबीच भेटघाट समेत भएको थिएन। त्यसपछि अमेरिकाले चेमाथि लगातार नजर राख्ने काम सुरु गरेको देखिन्छ।

    त्यो गुप्तचर रिपोर्टबाट थाहा पाइन्छ कि, भारत भ्रमणमा आउँदा चे पूर्वी पाकिस्तान (हाल बंगलादेश) पनि गएका थिए, जहाँ विशेषज्ञहरूहरुको आवतजावत सम्बन्धमा एक सम्झौता पनि भएको थियो।

    त्यो पुस्तिकामा चेको हवानामा ८ सेप्टेम्बरमा भएको पत्रकार भेटवार्ताको पनि विवरण छ। ‘मोर्स’ पद्धतिबाट अघिल्लो दिन अमेरिका पठाइएको दुई पेजको रिपोर्ट भाषा शैलीको दृष्टिले पत्रकारले पठाएको समाचार जस्तो लाग्छ। त्यसमा चेले कसरी युरोप, मध्यपूर्व, एसिया र अफ्रिकाको आफ्नो तीन महिने यात्राको खुलाशा गरेका थिए भन्ने कुराको उल्लेख गरिएको छ। भारतको सन्दर्भमा त्यसमा रहेको कथन यस प्रकार उद्धृत गरिएको छ, ‘क्युबाली जनताप्रति भारतीयहरु सहृदयी छन्। उनीहरू खेती गर्न लायक थोरै जग्गा र ठूला जमिन्दारबीचको समस्या समाधानका लागि प्रयास गरिरहेका छन्। एक भारतीय विद्वान् कृष्णसँगको कुराकानीका क्रममा महाविनासका साधनहरुले सिर्जना गर्ने खराबीबारे जानकारी प्राप्त भयो। उनले भनेका थिए, लोकतान्त्रिक शक्तिले हिरोसिमामा अणुबम खसालेका बेला हामीले जसरी खुसी मनाएका थियौँ, आफै हिरोसिमा पुगेर हेरेपछि त्यहाँको दृष्यले मलाई निकै ग्लानी भयो।’

    कसैले भन्न सक्ला, चेले भेटेका कृष्ण नामका ती व्यक्ति वास्तवमा को थिए? यसबारेमा मैले आवश्यक जानकारी पाउन सकिनँ। ती पात्र धेरै मानिसले ख्याल गर्ने उनै जिद्दू कृष्णमूर्ति पनि जो चेले रिपोर्टमा उल्लेख गरेजस्तो ‘साँच्चिकै आजको दुनियाबाट परका अनुहार’ हुन्।

    तर, चेले उल्लेख गरेका कृष्ण उनै हुन् भन्ने सम्भावना छैन। यसबारेमा मैले बैंगलोरस्थित कृष्णमूर्ति न्यासमा कुराकानी गरेँ। वरिष्ठ लेखक र मुसाफिर कृष्णनाथ त्यो बेला तीन दिनमा त्यहीँ (कलकत्तामा थिए भन्ने कुराको पुष्टि हुन सकेन। पुपुल जयकरद्वारा लिखित जीवनीका अनुसार, १९५९ को मईताका कृष्णमूर्ति दिल्लीमा थिए र अत्यधिक गर्मीले हायलकायल पारेपछि कास्मीरतिर लागेका थिए।

    चाहे जोसुकै होस्, जो टाढा–टाढाका देशबाट भारत भ्रमणमा आउँछन्, ती हस्तीहरूले भारतबाट केही न केही चिज सिकेर जान्छन्। चेले रिपोर्टमा जे कुरा उल्लेख गरेका छन्, त्यो पनि त्यसैको सिलसिला हो।

    भारतबाट फर्केपछि चेले जुन रिपोर्ट बुझाएका थिए, त्यो स्पेनिस भाषामा भएकाले त्यसमा उल्लेखित विषयबारे त्यति धेरै जान्न सकिएन। तर, दुर्भाग्यको कुरा यो हो कि हाम्रो देशमा मार्क्सवादी समुदायका यति धेरै मानिसहरू छन्, तर उनीहरूलाई चेको भारत भ्रमणको बारेमा सम्झना र जानकारी नै छैन। कलकत्तामा समेत जानकारी भएका मानिस छैनन्।

    यसको एउटा कारण त्यतिबेलाका बेलाका अखवारमा क्युबाली प्रतिनिधिमण्डलको भारत भ्रमणबारे छिटपुटमात्र समाचार छापिएकाले हुनसक्छ। दिल्लीमा ममुलगांवकरले मात्र चेको भ्रमणलाई महत्व दिएका थिए। उनले दुई पटक ‘हिन्दुस्तान टाइम्स’को पहिलो पृष्ठमा चेको तस्वीर प्रकाशित गरेका थिए। त्यसमध्ये एउटा तस्वीरमा चे नेहरुको साथमा थिए भने अर्काे तस्वीरमा बीके मेननका साथ। त्यो समाचारमा औपचारिक भेटवार्ता सम्बन्धी विवरण धेरै थियो। अनि एक साँझ चे एक घण्टाका लागि ‘कटेज एम्पोरियम’ मा जाने कुरा एउटा समाचारको बीचमा कहीँकतै घुसाइएको थियो।

    जहाँसम्म कलकत्ताको अखबारहरूको सन्दर्भ हो, सिर्फ ‘हिन्दुस्तान स्टाण्डर्ड’ले १२ जुलाईका दिन चेको भ्रमण ‘कभर’ गरेको थियो। तर, समाचारका रुपमा होइन। त्यसले पनि उनको तस्वीर मात्रै छापेको थियो। त्यो तस्वीर दुई दिन अगाडि चेले गरेको कलकत्ताको अगरपडास्थित जुट कारखानाको भ्रमणको थियो। पत्रिकाको पाचौँ पृष्ठमा छापिएको सो तस्वीरको क्याप्सनमा पनि ‘प्रुफ मिस्टेक’ थियो। अर्थात् चेको नाम ‘अर्नेस्टो गेवाने’ उल्लेख गरिएको थियो।

    photo-picture.jpg

    त्यतिबेला भारतीय कम्युनिष्ट पार्टी अविभाजित थियो। पार्टीको मुखपत्रको रुपमा बाङ्ला भाषामा दैनिक ‘स्वाधीनता’ प्रकाशित हुन्थ्यो। मलाई लाग्यो, ‘स्वाधीनता’मा पक्कै पनि चेको कलकत्ता भ्रमणबारे केही न केही ‘कभर’ गरिएको होला। मेरो आग्रह अनुसार एक प्रतिबद्ध वरिष्ठ लेखकले ‘स्वाधीनता’ १९५९ जुलाईको अगाडि र पछाडिको पृष्ठ हेरिदिए। भारतीय कम्युनिष्ट पार्टीसँग सम्बद्ध सो अखबारले क्युबाली क्रान्तिबारेको समाचार बढाईचढाई गरिकन प्रकाशित गरेको थियो। तर, त्यसले चेको भारत यात्राबारे भने केही उल्लेख गरेको थिएन। जबकि क्युबाली क्रान्ति झैं त्यसले चेको भारत भ्रमणबारे पनि बढाइचढाइँ गरिवरी प्रस्तुत गर्न सक्थ्यो। चेको भारत यात्रामाथि ‘स्वाधीनता’ले किन यस्तो रुखो व्यवहार गरेको हो, बुझ्न सकिएन।

    यो साँचो कुरा हो कि, कम्युनिष्ट पार्टीसँग चेको कहिले पनि सिधा सम्बन्ध रहेन। बरु उनी ‘रुसी साम्यवाद’को प्रखर आलोचक थिए। रुसी साम्यवादलाई उनले ‘रुसी उपनिवेशवाद’ संज्ञा दिएका थिए। साम्यवादी मुलुकले विश्वका अविकसित मुलुकलाई हतियार र सहयोग दिएर कसरी आर्जन गरिरहेको थियो, यस कुराले उनमा घृणा जन्माएको थियो। पछि उनले चिनियाँ नेता माओको निकै तारिफ गर्न थालेका थिए। उनी भन्थे, ‘क्युबाले आफ्ना लागि कस्तो साम्यवाद आवश्यक हो, त्यो आफैं खोज्ने हो, कतैबाट निर्यात गर्ने होइन।’

    सन् १९६५ मा अल्जेरियामा आयोजित एउटा खुला सभामा पनि उनले ‘रुसी साम्यवाद’को जमेर आलोचना गरेका थिए। उनी जब क्युबा फर्के, त्यसबेला उनले यसको मूल्य समेत चुक्ता गर्नुपर्यो।

    चेको नेतृत्वमा क्युबाको पाँच सदस्यीय प्रतिनिधिमण्डल क्युबाली क्रान्तिको दूत बनेर भारत आएको थियो। तर के भारतीय कम्युनिष्ट पार्टीका कुनैपनि नेताले चेसँग भेटेनन् त? क्युबाली क्रान्तिका नायकको पहिलो भारत भ्रमणमा पार्टीको तर्फबाट कुनै स्वागत अभिनन्दन भएन? पार्टीले प्रकाशित गर्ने अखबारमा मात्र होइन, चेले तयार पारेको रिपोर्टबाट पनि दश दिने भारत बसाईंका क्रममा उनले भारतका कुनै साम्यवादी नेतासँग भेट गरेको कुरा उल्लेख छैन। त्यसो भए के पार्टीले नेताहरुलाई चेबाट नजिक रहन निर्देशन दिएको थियो?

    चेप्रतिको पार्टीको यही रुखो व्यवहारकै कारण यो पचास वर्षभित्र चेको भारत भ्रमण जनताको सम्झनामा छैन। कतिसम्म भने, भारतमा उनलाई स्वीकार गर्ने साम्यवादीहरूलाई समेत चेको भारत भ्रमणको सम्झना छैन। चेप्रति भारतका साम्यवादीहरूले गरेको यो व्यवहार आजपनि कम पेचिलो लाग्दैन।

    उतिबेला चे ग्वेभाराका बारेमा अनेक प्रकारका खबर आउँथे। ती समाचार सकारात्मक पनि हुन्थे, नकारात्मक पनि। क्युबाली क्रान्तिपछि चेको नेतृत्वमा केही बन्दी सैनिकहरूमाथि अन्याय पनि भयो। कतिपयलाई उनले मृत्युदण्डको सजायँ दिए। कतिपय ‘कथित गद्दार’लाई त चे आफैंले पनि गोली हानेर मारे। यो उनको जीवनको अध्यारो पाटो थियो।

    तर एक मानवीय चरित्रका साथ चेको नायकत्वमा भएको संघर्षका निकै लामा लामा कथा–कहानीहरू छन्। सत्तामा गएपछि निश्चय नै उनमा परिवर्तन आयो। तर, त्यसअघि सियरा–माएस्त्रास्थित पहाडी इलाकामा भएको लडाईंमा उनले घाइते सैनिकहरूलाई युद्ध मैदानबाट उचालेर लगी उपचार गरेका थिए, जबकी शत्रु पक्षका सैनिकलाई उपचार गरेकोमा फिडेल क्यास्त्रोको असहमति थियो।

    एक पटक फिडेलले चेसँग भनेका थिए, ‘यदि यो (सैनिक) निको भयो भने यसले हामीलाई बन्दुक हानी हाल्छ नि । किनकि यसलाई हामीले नै घाइते बनाएका हौँ।’

    चेको उत्तर थियो, ‘यो पछाडिको कुरा हो। लडाईंमा जो कमजोर हुन्छ, उही मारिन्छ।’

    सबैलाई थाहा छ, चे निश्चित उद्देश्यका लागि आफ्नो घरबार त्यागेका थिए। डाक्टरी पेसा छाडेका थिए। कतिसम्म भने, त्यही उद्देश्य प्राप्तिका लागि उनले आफ्नो देश (अर्जेन्टिना) पनि छाडे। अरूहरूको मुक्तिका लागि लड्दालड्दै उनले दुनियाँ पनि छाडे।

    त्यसैले त चेलाई भेटेका जाँ पाल सात्रले भेटलगत्तै भनेका थिए, ‘चे हाम्रो युगका पूर्ण मानव हुन्।’

    (सत्याग्रहबाट)


    प्रकाशित :आश्विन २४, २०७७ शनिवार - १०:५४:१२

    प्रतिक्रिया


    ओम थानवी

    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.