Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

कोरोनासँग लड्दाका ६ दिन : त्रास र अपमानले घेरेका ती पल

कोरोनासँग लड्दाका ६ दिन : त्रास र अपमानले घेरेका ती पल

सेरफ मोक्तान

३ कार्तिक २०७७
  • 799
    SHARES
  • कोरोनासँग लड्दाका ६ दिन : त्रास र अपमानले घेरेका ती पल

    बाहिर हल्ला गरिए जस्तो लक्षणको रुपमा १०४ डिग्री ज्वरो त आएन। श्वासप्रस्वासमा ठूलो समस्या आएको थिएन। हिँडिरहेकै थिएँ। काम गरिरहेकै थिएँ। दिनदिनै काठमाडौंमा संक्रमित हजारौंको संख्यामा बढ्न थालेपछि साथीहरू हँसिमजाक गर्दै भन्थे- कोरोना केही होइन। जसलाई पनि लाग्छ । असर गर्दैन ।

    मैले पनि 'हो मा हो' थपिदिन्थें ।

    यही नजिकका केही साथीहरू संक्रमित भए । उनीहरुले आफूलाई कोरोना लागेर धेरै गाह्रो भएको बताए । त्यसपछि मेरो मनमा पनि चिसो पस्न थाल्यो- कतै मलाई पनि लागिदियो भने ?

    १२ असोज, त्यो बिहान अरु दिनझैं सामान्य थियो । रेस्टुरेन्टमा काम गर्दै थिएँ । दिउँसो अचानक ज्वरो आएको अनुभव भयो । शरीर दुख्न थाल्यो । हुन त पहिले यसरी खुब काम ज्वरोले थलाउने थियो मलाई । सोचें- यससपालि पनि काम ज्वरो नै आउन लागेको हो कि ! 'अघि कपाल काट्ने ठाँउमा नाउलाई मसाज गर्न लगाएको थिएँ । जोडले थिचेको थिए । काम ज्वरो नै आउने भयो यार,' भाइहरुलाई ठट्टा गर्दै सुनाएँ पनि ।

    शरीर आलस्य भएपछि एक चक्की सिटामोल खाएर सुतेँ । सांझ उठ्दा अझै कम भइसकेको थिएन । नजिकैको मेडिकल गएँ । 'ज्वरो आउला जस्तो भा'को छ । नापिदिनुस् न,' मेडिकलका दाइलाई आग्रह गरें । तर उनले मानेनन् । 'कोरोना हुन सक्छ पिसिआर टेस्ट गर्न जानुस्,' बरु उल्टै आशंका गर्दै ती दाइले भने ।
    मेडिकलवालाको आशंकाले रातभरि छट्पटी भयो । निद्रा लागेन । उनले ज्वरो चेक गर्न पनि नमानेको देख्दा रिस उठिरहेको थियो ।

    'ज्वरो समेत नाप्न नमान्ने यस्ताहरू किन मेडिकल खोलेर बस्छ्न्,' मनमनै गाली पनि गरें ।

    बल्ल बिहान ४ बजे निद्रा पर्‍यो । जिउ हलुङ्गो भएको थियो। जाँगर लगाएर रेस्टुरेन्ट खोलेँ । नियमित काम गरेँ । ज्वरो आउला जस्तो भएर नआएपछि कोरोनाको संकेत होला भनेर सोच्न छाडिदिएँ।

    नजिकैको मेडिकल गएँ । 'ज्वरो आउला जस्तो भा'को छ । नापिदिनुस् न,' मेडिकलका दाइलाई आग्रह गरें । तर उनले मानेनन् । 'कोरोना हुन सक्छ पिसिआर टेस्ट गर्न जानुस्,' बरु उल्टै आशंका गर्दै ती दाइले भने ।

    असोज १७ गते रुघा लाग्न थाल्यो ।

    बेसार र जिरा मिसाको पानी उमालेर जोडजोडले पिएँ । अरुबेला रुघा लागे जस्तो गाह्रो भएको थिएन । सुत्रन्यूजको कार्यालय जाँदा पनि थर्मसमा बेसार पानी बोकेर हिँड्थें । २० गतेसम्म रुघा निको नभएपछि मनमा फेरि चिसो पस्न थाल्यो- कतै कोरोनाकै संकेत त होइन ?

    यदि हो भने पनि तत्काल पीसीआर परीक्षण गर्ने मनसायमा थिइनँ । घरेलु उपचार विधि छाडेर साइनेक्स खान थालेँ । भोलिपल्ट पनि रुघा कम भएन । जिब्रो बाक्लो भए जस्तो, न खाने कुराको स्वाद नै थाहा हुन्छ ।

    यो समस्या नियमित रेस्टुरेन्ट आउने साथीहरूलाई सुनाएँ । 'मौसम परिवर्तन हुने बेलामा जसलाई नि रुघाखोकी लाग्छ,' उनीहरूले भने । होला त भनेर मन बुझाएँ । २२ गते साथी स्वेच्छा राउतलाई यही कुरा सुनाएँ । उनले एक पटक पीसीआर टेस्ट गर्न सुझाइन् ।

    'आखिर गरेर पनि नेगेटिभ नै आउँछ,' नगर्ने अडानका साथ मैले ढिपी गरें । 'होइन गर्नुपर्छ, कम्तिमा एन्टिबडी हो कि होइन त थाहा हुन्छ,' स्वेच्छाले सुझाएपछि द्धिविधामा परेँ ।

    पोहोर साल डेङ्गुले समात्दा पनि एक महिना थला परेको थिएँ । त्यसताका स्नातकोत्तरको दोस्रो सेमेस्टरको बोर्ड परीक्षा चल्दै थियो । थलिएकै कारण परीक्षा सोचे जस्तो गर्न सकिएन । एक हिसाबले रोगले मलाई चाँडै छुन्छ भन्ने नि लाग्दै थियो । तर यो कोरोना होइन भन्ने कुरा लागिरहन्थ्यो। किनकि मलाई उतिसारो गाह्रो महशुस भएकै थिएन। अर्को मनले सोच्थेँ कि यदि पोजेटिभ देखियो भने भोलिबाट सेडियुलनै बद्लिन्छ । 'आफूलाई लागेकै रहेछ भने त अरुलाई सर्छ । त्यसैले असभ्य बन्नुहुन्न' भन्ने सोचेँ । दसैंमा घर गइएला । आमा पहिलेदेखि नै बिरामी । मलाई लागेको छ भने त उहाँलाई सर्छ र गाह्रो हुन्छ भन्ने त्रासले गाँज्यो ।
    जाने निर्णय गरेँ । २३ गते ल्याब बिड ल्याब कुपन्डोलमा स्वाब दिन गएँ । ल्याबमा स्वाब टेस्ट गर्दाखेरी नर्सले नाकमा किटको नली घुसाएर चलाइदिँदा प्राण त्यहीँ बिसाएझैँ भयो। दुई चोटी हाछ्युँ गरेर नर्सको अगाडि `सरि´ नभनी कोरोना भनेँ । नर्स हाँसिन्। म पनि हाँस्दै रन्थनिएर बाहिरिएँ । रेस्टुरेन्टमा आएर दैनिक काम गर्न थालेँ । साथीहरुलाई फेसबुक स्टोरिमै हालेँ पिसिआर टेस्ट गरेको जानकारी दिएँ ।

    कोरोना भोगेका साथीहरूले स्याबासी दिए। अरू साथी त्रसित भए । 'तिमीलाई लागेको रहेछ भनेँ हामीले पनि टेस्ट गर्नहुपर्छ,' केही साथी त्रसित हुँदै मसँग असन्तुष्टि पोखे । 'यो एउटा सभ्य नागरिकको जिम्मेवारी हो । आफू सुरक्षित हुने र अरुलाई सुरक्षित बनाउने,' मैले साथीहरूलाई गम्भीरताका साथ भनेँ । तर उनीहरूले मेरो कुरा हाँसोमा उडाए ।

    अरुबेला पाँच सय रुपैयाँमा ग्राहक मिलाइदिएको मैले त्यही कोठालाई दैनिक एक हजारका दरले १० दिनको बढी पैसा तिर्नुपर्ने भयो । त्यो पनि सात दिनको एड्भान्ससहित । साहुजीले अपरिचितलाई जस्तो व्यवहार गरेपछि मनमनै लाग्यो- बेकार टेस्ट गरेछु ।

    २४ गते, दिउँसो ठिक १:२८ बजे मोबाइलमा रिपोर्ट आएको जानकारी सहितको म्यासेज आयो । अघिल्लो दिन अर्को मेसेजमा आएको युजर नेम र पासवर्ड हालेँ । लग इन भएन । स्वेच्छालाई गुहारेँ । उनले प्रयास गर्दा पनि भएन । नभएपछि स्वाब दिएको ल्याब नै पुगेँ । त्यहाँबाट शंखमूलस्थित युएन पार्क नजिकको अफिस जान भनियो । त्यहाँ पुगेर रिपोर्ट लिएँ। हातमा आएको रिपोर्ट देखेपछि एक्कासि श्वासप्रश्वास बन्द भएजस्तो भयो । उकुसमुकुस भयो । हातगोडा थरथरी काँप्न थाले । हेलमेट भित्रबाट पसिना निस्किन थाल्यो । त्यँही थचक्क बसेर डाँको छोडेर रुन मन लाग्यो । नेगेटिभ आउँछ भन्ने आत्मविश्वाससहितको अनुमान फेल खायो । रिपोर्ट पोजेटिभ आयो । हेलमेट खोलेर स्कुटरको ऐनामा सिउरिदिएँ । एकैछिनमा छट्पटी हुन थाल्यो । मेरो रिपोर्ट होइन कि भनेर रिपोर्ट चेक गरेँ । सबै विवरण हिजो मैले नै टिपाएकाहरू थिए ।

    मुखबाट मास्क हटाएँ । श्वास फेर्न सजिलो भयो । फेरि लगाएँ, फेरि गाह्रो भए जस्तो भयो । ४/५ चोटी मास्क लगाउने र खोल्ने गरेँ । स्कुटर हुँइकाउँदै बसन्तपुर रेस्टुरेन्ट आइपुगेँ । अरुबेला बाटोमा आँउदा आफू भन्दा अगाडि गुड्दै गरेको सवारीको नम्बर प्लेट समेत याद हुने मलाई त्यो दिन एकै चोटि पार्किङमा आइपुगेपछि मात्रै थाहा भयो आइपुगेछु भनेर ।

    भाइहरूलाई सुनाएँ, मलाई कोरोना लागेछ भनेर । उनीहरूले पत्याएनन् । रिपोर्टको प्रिन्ट नै देखेपछि सबै आश्चर्यमा परे । अब आइसोलेसन बस्छु भनेँ । उनीहरूलाई राम्ररी रेस्टुरेन्ट रेखदेख गर्नु भनेर माथिको गेस्ट हाउसमा एउटा कोठा माग्न गएँ ।

    सुरुमा कोठा दिन अन्कनाएका साहुजीले दैनिक एक हजारका दरले जति दिन बसिन्छ त्यो भन्दा १० दिन बढीको पैसा तिर्नुपर्ने सर्त ल्याए । किन त्यस्तो भनेर सोधेँ । म बसेपछि त्यो कोठामा केही समय अरू मान्छे राख्न मिल्दैन त्यसैको चार्ज हो रे । अरुबेला पाँच सय रुपैयाँमा ग्राहक मिलाइदिएको मैले त्यही कोठालाई दैनिक एक हजारका दरले १० दिनको बढी पैसा तिर्नुपर्ने भयो । त्यो पनि सात दिनको एड्भान्ससहित । साहुजीले अपरिचितलाई जस्तो व्यवहार गरेपछि मनमनै लाग्यो- बेकार टेस्ट गरेछु ।

    अर्कातिर यस्तो आपत्‌को बेलामा पनि मानवता नदेखाउने साहुजीलाई मनमनै सरापेँ । सोचेँ, 'अब देखि तेरा गेस्टहाउसमा राखुँला मेरा मान्छे ।' 

    'पैसाको हिसाब पछि गरौँला अहिले कोठा दिनु,' मैले भनेँ । एउटा कोठा मिलाइदिए त मिलाइदिए । फेरि सर्त आयो, 'ओढ्ने ओछ्याउने आफ्नै ल्याउनु पर्ने ।'
    'त्यत्रो पैसा लिएर पनि आफूले ल्याउनुपर्ने,' रिसाउँदै सोधेपछि उनी चुप लागे । एक जार पानी,इलेक्ट्रिक जग, एउटा चम्चा र थाल बोकेर कोठाभित्र पसेँ। भाइहरूलाई खाना प्याकिङ बक्समा ल्याइदिनु भनेँ । खाटमा थोत्रो सिरक राखिदिएका रहेछन् ।

    त्यो देखेपछि लाग्यो- म अपहेलित भएँ ।

    साहुजीले कोठाको ढोकामा ताल्चा लगाइदिएको त यादै भएन ।झ्यालबाट किन ताल्चा लगाएको भनेर कराएँ । 'आइसोलेसन भनेको भित्रै बस्ने हो । किन ढोका खोल्नु पर्योँ ? बाहिर निस्किने काम छैन तपाईंको,' ढोका खोल्न बाध्य भएपछि साउजीले भनें । अनि खाना पनि झ्यालबाट लिनु भनेपछि आक्रोस भरिएर आयो ।

    अपमानजन्य व्यवहारले 'कन्पारो' तात्यो । क्रुद्ध हुँदै भनेँ, 'आजबाट तेरो होटल नि बन्द गर । म मेरै रेस्टुरेन्टलाई आइसोलेसन बनाउँछु । आजबाट पूरै सिल गर ।' आफूलाई नियन्त्रण गर्न नसकेपछि आक्रोसजन्य शब्द फुत्किछाडे । यतिले पुगेन, झगडै गर्न अघि सरेँ ।

    मेरो आक्रोसले साउजी तर्सिएछन् क्यार, साउजी शान्त भए । आफूलाई नियन्त्रण गर्दै कोठामा पसेँ । अनि आइसोलेसन बसाइ सुरु भयो । मलाई कोरोना लागेको भन्ने कुरा सुनाउन कुनै पनि अफ्ठेरो महसुस भएन । आफू नजिकका रेस्टुरेन्ट सञ्चालक र सबै पसलेहरूलाई भनिसकेको थिएँ । सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेँ । आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन आग्रह गरेँ । नजिकका आफन्त साथीभाइका फोन आउने क्रम अझै पनि जारी नै छ । कोरोना लागेपछि थाहा भयो धेरै आफन्त र आत्मीय मान्छेहरू कमाएको रहेछु । आइसोलेसन सुरु भएपछि मानसिक तनाब पनि सुरु भइसकेको थियो । मलाई को बाट कोरोना सर्‍यो भन्ने प्रश्न अझै पनि सोचिरहेको छु ।

    शैलुनमा जनश्वास्थ्य प्रयोगशाला टेकुबाट प्रमाणित भएको नेगेटिभ रिपोर्ट थियो । अफिसमा संक्रमित कोही थिएन । रेस्टुरेन्टमा ग्राहकसामु जान डराएर भाइहरूलाई नै सर्भिसमा खटाएकी थिएँ । त्यस बाहेक भिडभाडमा गएको खासै याद छैन । कतै जाँदा पैदल पनि हिँडेको छैन ।

    एक त साहुजीको अपमानजनक र अमानवीय व्यवहारबाट आधा हारिसकेको मलाई अब बाहिरी दुनियाँबाट टाढा हुनु परेको पीडाले झन् गलाइरहेको थियो । एउटा सानो कोठामा थुनिएर बस्नु भन्दा ठूलो पीडा सायदै होला । छ भने त्यो मैले अहिलेसम्म कहिल्यै अनुभव गरेको छैन ।

    बल्ल त रिपोर्ट आएको छ, अब कति गाह्रो हुने हो भन्ने पीरले झन् पीडा दिन थाल्यो । साथीहरुले कोरोनाले झण्डै प्राण लिएको भनि सुनाउँदा त्यो दिन मेरो पनि आयो भन्ने सोचेले अतालिएँ ।

    एक्लै कोठामा गुम्सिएर बसेको छु । मनमा अनुत्तरित प्रश्न गुम्सिरहेका छन् । बोलूँ त न मौनताले सुन्थ्यो न भित्ताले ।

    सजगता अपनाउनुपर्ने बेला यही थियो । जगमा पानी तताएर दुई लिटर पानी एकै छिनमा पिएर सकाएँ । सबैले दिएको सल्लाह अनुसार चिसो केही पनि खाइनँ । खानाको सबालमा साथी अन्जना लामिछानेलाई सोधेको थिएँ । उनले भिटामिन सि अथवा मल्टी भिटामिन खान सुझाइन्।

    मानसिक पीडाको त्यो बिन्दुमा पुगिसकेको थिएँ, कसैले १० क्याप्सुल औषधि र दुई जार पानी एकै चोटि खाए निको हुन्छ भनिदियो भने पनि म खान तयार थिएँ । सायद त्यसो हुनुको पछाडि सामाजिक सञ्जालहरूमा आउने भ्रामक सूचनाहरूको हात थियो । कोरोनाबारे गरिएका अड्कलबाजी र झुटा कुराले नकारात्मक असर पारेका छन् । कोरोनाले पुर्याीएको आर्थिक क्षतिको विषय जोडेर कोरोना भनेको केही पनि होइन भनेर भ्रम फैलाउनेहरू त मेरो नजरमा अपराधी नै हुन्।

    एक त साहुजीको अपमानजनक र अमानवीय व्यवहारबाट आधा हारिसकेको मलाई अब बाहिरी दुनियाँबाट टाढा हुनु परेको पीडाले झन् गलाइरहेको थियो । एउटा सानो कोठामा थुनिएर बस्नु भन्दा ठूलो पीडा सायदै होला । छ भने त्यो मैले अहिलेसम्म कहिल्यै अनुभव गरेको छैन । शारीरिक रुपमा आइसोलेसनको पहिलो रात केही गाह्रो भएको थिएन । तर बिहान उठेपछि अर्कै महशुस हुन थाल्यो । पहिला अलि अलि गुमेको जिब्रोको स्वाद अब पूरै गुमिसकेको थियो । ट्वाइलेट गएर खाटसम्म आँउदै फतक्कै गल्ने भइसकेछु । कसैले फोन गरे भने एकदम ठीक छु केही भएको छैन भन्थेँ । मेसेजमा पनि त्यही भन्थेँ । तर सुत्न खोज्दा सिरानी अलिकती होचो हुँदा नि श्वास फेर्न नसक्दाको पीडा वर्णन गर्न सक्ने कुनै शब्द छैन मसँग । उठेर बसुम् भने ढाड दुखेर सक्किनथ्यो । 

    टाउको दुखेर भित्तामा बजारौँ जस्तो हुन्थ्यो । अनि आफैसँग आफैलाई साह्रै झर्को लाग्थ्यो । अरुलाई नरमाइलो नलागोस् र आफन्तहरू नआत्तिउन् भन्ने सोचेर गाह्रो भएको छ कहिल्यै भनिँन । गाह्रो नहुने नै भए त इटाली र अमेरिकामा त्यति धेरै मान्छे कसरी मरे होलान् र ? आइसोलेसनको दोस्रो दिन यत्तिको पीडा भएपछी खुब आत्तिएको थिएँ । तर पीडाकै बीच आफ्नो योजना र दैनिकीहरू सेट गर्ने प्रयास गरेँ । कोरोनाको उपचार र औषधि छैन भन्ने धारणाले नै डाक्टरको सल्लाह लिने चासो नै देखाँइन । खुब जोसिलो भएको नाटक गर्न थालेँ । कोरोना शरीरमा लागेको हो । मैले गरेको कार्यहरूले पक्कै पनि यसलाई निस्तेज पार्ला नि त भन्ने सोचेँ । अरुबेला दिनमा मुस्किलले खाना र खाजासँग पानी पिउने म अब दिनको ६ लिटर तातो पानी पिउन थालेँ ।

    यस्तो सोच्थेँ धेरै पानी पिइयो भने कतै भाइरस पिसाबको माध्यमबाट बग्छ कि ! उठेर भरे नसुतेसम्म तातो पानी खुब पिउन थालेँ । पानी तताँउदा जग तातेर निस्कने ध्वनि अहिले कता कता मीठो संगित जस्तै लाग्न थालिसक्यो । अहिले त तिर्खा भन्दा पनि ध्वनि नसुन्दा के पो बिर्से जस्तो लाग्छ र तुरुन्तै पानी तताएर पिइहाल्छु ।

    जिब्रोलाई स्वाद र नाकलाई केहीको पनि गन्ध थाहा थिएन । भाइले प्याकिङ बक्समा हालेर ल्याएको खाना थालमा पस्किँदा थालभरि नै हुन्थ्यो । एक गाँस मुखमा हाल्दै स्वाद थाहा नपाएर माथी नै फर्केर आँउथ्यो । तर कोरोना जित्ने लालसाले पहिलो गाँसमै फिर्ता आउने खाना एक सिता नि खेर फालिनँ । यस्तो गर्मीको समयमा भक भक उम्लेको खल्लो पानी एक घुट्का नि खेर फालिनँ । एक टुक्रा स्याउ खाँदैमा अमन हुन्थ्यो । तर एक टुक्रा पनि फालिनँ । सिँगै खाएँ । चेवनप्रासको गुलियोले श्वास फेर्नै गाह्रो हुन्थ्यो।

    तेस्रो दिनबाटै मलाई सजिलो भएको महशुस भयो । आफूले गरेको कृयाकलाप ठीक छ भन्ने लाग्यो । त्यसपछि एक खालको छुट्टै ऊर्जा आउन थाल्यो । बाहिरी संसार भुल्नुपर्छ । अहिले आफ्नै लागि मात्रै सोच्नुपर्छ भन्ने एकलकाटे सोचले चाँडै निको हुन सकेँ भन्ने भान भइराछ। बन्द कोठामा एक्लै बस्दा अनेकथरिका कुरा बारम्बार आइरहन्थ्यो । आफूमा केही कुराको फरक महशुस भयो कि पक्कै कोरोनाले होला भन्ने लागि नै रहयो । रातभरिको अनिदोले आँखा सुन्निएका हुन्थे । कोरोनाले नै होला भन्ने लाग्थ्यो।

    रुघासँगै भित्र ज्वरो होला कि भन्ने डरले ज्वरोमा नुहाउनु हुन्न भन्ने मान्यतालाई मानेर ननुहाएको हप्ता दिनभन्दा बढी भएको थियो । पसिनाले टाउकामा खटिरा आउन थालिसकेका थिए । कोरोनाले होकी भन्ने लाग्थ्यो ।

    बोल्ने मान्छे कोही नभएर सिलिङमा झुन्डिएको बत्तीसँगै बोल्न नखोजिएको होइन । हरेक कुराले एकदम फरक महशुस गराइरहयो । जब ऐना हेर्थेँ, अनुहार देख्नासाथ आफ्नो हालत प्रष्ट हुन्थ्यो । तर केही भएको छैन भनेर फेरि नाटक गर्थेँ । आफैंले आफैंलाई गाह्रो भएको छैन भनेर देखाउन गीत गुनगुनाउथेँ । पटकपटक हाँस्न खोज्थेँ । संक्रमण जितिसकेका मेरा साथीहरूको अनुभव सुन्दा त मलाई कोरोनाले अनुमानित २० प्रतिशत मात्रै शारीरिक पीडा दिएको थियो । हुन त पीडा गणितीय मात्रामा देखाउन सकिन्न । मलाई भएको त्यति पीडामै अनुमान लगाउन सक्छु- कोरोनाको वास्तविक पीडा कस्तो हुन्छ भनेर ।

    मेरो व्यवहार, दैनिकी र सोचका कारण नै कोरोनाले मलाई शत प्रतिशत असर गर्न नसकेको निचोडमा पुगेको छु ।

    हुन त साधारण मान्छेले पनि कोरोना चाँडै जित्न सक्छ । यसका लागि उसले उचित वातवरणको निर्माण, उचित हेरचाह, जितको मानसिकता निर्माण र उचित खानपान मिलाउन सक्नुपर्छ । म स्वयंसँग यो अनुभव छ । मलाई कोरोना लागेको ६ दिनमा निको भयो । ६ दिनको आइसोलेसन बसाइ पछि मलाई नको भइसक्यो भन्ने कुरामा ढुक्क थिएँ । अनि दोस्रोपटक परीक्षण गराउन गएँ ।

    बिड ल्याब पुगेर स्वाब दिन रसिद काट्न मात्र लागेको थिएँ, रिपोर्ट आउन चार दिन लाग्ने ल्याबका कर्मचारीले सुनाए । ६ दिन भित्र बस्दा दिक्क भइसकेको मलाई फेरि चार दिन भित्रै बस्नुपर्ने कुराले कहाली लाग्न थाल्यो ।

    अहिले नै टेस्ट गर्दिन भनेर गेट बाहिर आएँ । फेरि अर्को मनले सोच्यो, 'टेस्ट नगरेर त कसरी थाहा हुन्छ ?' तर मलाई २४ घन्टा भित्र रिपोर्ट चाहिएको थियो । एकछिन निराश भएर बसेँ । चार दिनसम्म भित्रै बस्ने पक्षमा थिइँन । अब जसरी पनि २४ घन्टा भित्र रिपोर्ट लिने वातवरण मिलाउनु थियो । साथी अन्जना लामिछानेलाई फोन गरेँ । सोधें, ' कतै चाँडो रिपोर्ट दिने ल्याब छ ?' फोन उठेन । एक्कासि गुगल ड्राइभमा भएको सर्टिफिकेट र पासपोर्टको याद आयो। अनि गएर ल्याबका कर्मचारीहरूलाई भनेँ, 'अस्तिको हप्ता टेस्ट गरेको थिएँ । पोजेटिभ आयो । भोलि दिउँसो चार बजे मेरो विदेश जाने फ्लाइट छ । प्लिज मलाइ हेल्प गरिदिनुस् ।'

    उनीहरूले मेरो समस्या सुनिसकेपछि इमर्जेन्सीमा राखिदिने बताए । नभन्दै शनिबार रातको १:१३ बजे नै रिपोर्ट आएको रहेछ । म्यासेज आएको ख्याल नै गरेनछु । आइतबार बिहान ११ बजे आँखा बिउँझियो, तर उठेपछि मात्र रिपोर्टको याद आयो । रिपोर्ट त आइसकेछ । रिपोर्ट हेरेँ । नेगेटिभ रहेछ । असीमित खुसीले भरिएको मेरो मनले भन्यो- अब म आजाद भएँ ।


    प्रकाशित :कार्तिक ३, २०७७ सोमवार - १५:०५:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.