भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोडभन्दा बढीले लगाए-Sutra News

भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोडभन्दा बढीले लगाए

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

भारत- भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।



कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३९ हजार ५४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

बिहीबार एकै दिनमा मात्र सात लाख ७१ हजारभन्दा बढी व्यक्तिलाई कोभिड-१९ परीक्षण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट