प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग इरानको पुनःआग्रह-Sutra News

प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग इरानको पुनःआग्रह

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

तेहरान- इरानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न शुक्रबार नयाँ अमेरिकी प्रशासन समक्ष पुनः आग्रह गरेको छ ।



अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले उक्त धारणा सार्वजनिक गरेको हो ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु विनाशर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार युरोपेली गठबन्धनका मुलुकहरुको अगुवाईमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो ।

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली मुलुकहरु एक ठाउँमा उभिन लागेका हुन् ।
इरानले आणविक सम्झौता कायम राख्न आइतबारसम्मको समयावधि तोकेको थियो ।

इरानको परिस्थिति निकै नाजूक बनिसकेको जनाउँदै अझै युरोपेली मुलुकको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाइ थियो । अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतबारकै समयसीमा नतोक्न आग्रह गरेका थिए ।

फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीहरुसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट