टोकियोमा संकटकालको अवधि फेरि थपियो-Sutra News

टोकियोमा संकटकालको अवधि फेरि थपियो

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

टोकियो- जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् ।



कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।

राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन ।

प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन । उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका हुन् । उनले कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सवैलाई आह्वान गरे ।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिदै आएका थिए । सङ्कटकाल लागू गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् ।

बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ । कोरोना भाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट