महाशिवरात्रीको रौनकः गङ्गामा लाखौंले गरे ‘शाही स्नान’-Sutra News

महाशिवरात्रीको रौनकः गङ्गामा लाखौंले गरे ‘शाही स्नान’

बिहिबार, २७ फाल्गुन २०७७

बिहिबार, २७ फाल्गुन २०७७

नयाँदिल्ली- हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस ‘शाही स्नान’ लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।



हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरुले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिएका छन् । सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरुको कार्यसूची अनुसार, यस वर्ष हरिद्वारमा चारपटक ‘शाही स्नान’ र नौ पटक ‘गङ्गा स्नान’ हुनेछ ।

हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले दिउँसोसम्ममा २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिएका छन् । उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

कोरोनाभाइरस महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्नेगरी तय भएको छ । महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ ।

महाशिवरात्रीलाई हिन्दुहरुले शिवालयहरुमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट