sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन

राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन

सुरेश शर्मा

२५ चैत्र २०७७
  • 4.0K
    SHARES
  • राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन

    काठमाडौँ - गत फागुन १३ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरिदिएपछि राजनीतिक वृत्तमा हल्ला चलेको थियो, देश अब फेरि ‘प्रचण्ड’ युगतिर जानेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत तीन वर्षदेखि यता सक्रिय राजनीतिक जीवन बाँचेको भए पनि देश केपी शर्मा ओलीको नेतृत्वमा चलेको थियो । प्रचण्ड फगत सत्तारूढ दल नेकपाका दोस्रो अध्यक्ष बनेर बस्न बाध्य थिए ।

    तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका धेरै नेताहरूलाई ओलीले टेर्न छाडे । पार्टीको बैठक बोलाउन मानेनन् । सरकारले गर्ने महत्त्वपूर्ण निर्णयका बारेमा पार्टीलाई जानकारी दिन जरुरी ठानेनन् । ओलीको यही शैलीका अगाडि आजित भएर प्रचण्ड, खनाल, नेपाललगायतका नेताहरूले पार्टीभित्र छुट्टै गठबन्धन बनाएका थिए । ओलीलाई काउन्टर गरिरहेका थिए ।

    नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरिदिए । ओलीको यस कदमका विरुद्ध नेकपाकै नेताहरू उभिए । सडकमा आन्दोलन गरे । अन्ततः प्रतिनिधि सभा भंग गर्ने ओलीको निर्णयलाई अदालतले बदर गरिदियो । त्यसपछि प्रचण्ड-नेपाल समूहको हाइहाई भएको थियो । प्रतिगमनविरुद्धको एउटा लडाईं जितेको भन्दै खुसियालीमा प्रचण्ड र नेपालले लड्डुसमेत खाए ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, अन्य स-साना पार्टीहरू, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक विश्लेषकहरूले अब प्रचण्ड-नेपालको सक्रियतामा नयाँ सरकार बनाउने अनुमान गरेका थिए । नेकपा विभाजन भएको थियो, बहुमत संसद, केन्द्रीय सदस्य र कार्यकर्ता प्रचण्ड-नेपाल पक्षमै थिए । निर्वाचन आयोगले पनि प्रचण्ड-नेपाल समूहलाई नै आधिकारिकता प्रदान गर्ने गरी तयारी गरिरहेको थियो ।

    यो पनि

    महन्थ ठाकुरको प्रधानमन्त्री बन्ने दाउ, आफ्नै पार्टीका उपेन्द्र र बाबुराम बाधक ! महन्थ ठाकुरको प्रधानमन्त्री बन्ने दाउ, आफ्नै पार्टीका उपेन्द्र र बाबुराम बाधक !  

    तर सर्वोच्च अदालतले फागुन २३ गते अर्को फैसला गरिदियो । नेकपाको नाम विवादमा आएको सर्वोच्चको फैसलाले प्रचण्डलाई मात्र होइन, नेता नेपाललाई पनि हैरान बनाइदियो । अदालतले नेकपालाई एकीकरणपूर्वको हैसियतमा दुई दलमा विभाजित गरिदियो । त्यसपछि सबैभन्दा ठूलो दलको नेता दाबी गर्ने प्रचण्ड तेस्रो दलमा झरे भने खनाल र नेपाललगायतका धेरै नेताहरू ओली नेतृत्वको एमालेका नेता कार्यकर्ता बने ।

    अदालतको पछिल्लो फैसलापछि प्रचण्डले राजनीतिक संयम गुमाएका छन् । उनी कहिले अत्यन्तै उत्साहित देखिन्छन् भने कहिले अत्यन्त निराश । केही दिनअघि कपिलवस्तुमा उनी उत्साहित देखिएका थिए । उनले भनेका थिए, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि म उत्साहित भएको छु । म मेरो कार्यक्रम छोट्याएर काठमाडौँ जाँदैछु र आजैदेखि नयाँ सरकार गठनको पहल गर्नेछु ।‘

    उनी कपिलवस्तुबाट फर्के, दुई दिन काठमाडौँ बसेर तीन दिनका लागि रुकुम रोल्पाको भ्रमणमा हान्निए । कपिलवस्तुमा उत्साहित देखिएका प्रचण्ड काठमाडौँ आएपछि भने निराश देखिए । प्रचण्डले प्रधानमन्त्री बनिदिन गरेको आग्रह कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याएका छैनन् । अर्को अर्थमा भन्ने हो भने देउवाले पनि ओलीले जस्तै अर्ली इलेक्सन चाहन्छन् ।

    प्रचण्डले जनता समाजवादी पार्टीका नेताहरूसँग पनि कुराकानी गर्ने प्रयास गरे । तर महन्थ ठाकुर लगायतका नेताहरूले सञ्चारमाध्यममा लगातार ओलीलाई नै समर्थन गर्न सकिने भावसहित अन्तर्वार्ता दिन थालेपछि प्रचण्ड अझ बढी निराश भएका छन् ।

    यतिबेला प्रचण्ड सबैभन्दा बढी कर्नरमा पारिएका पात्र बनेका छन् । ओलीले प्रचण्ड-नेपालको हातमा सत्ता दिनुभन्दा बरू जसपाका ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्भावना देखिन्छ । ओलीको पहिलो विकल्प भनेको आफै हो । उनले आफ्नै नेतृत्वमा सके दुई वर्ष थप र नसके कमसेकम मध्यावधी निर्वाचन गर्न चाहन्छन् । ओलीले नटेर्ने, कांग्रेस र जसपाले नपत्याउने पात्र बनेका छन् प्रचण्ड ।

    मंगलवार ३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा रुकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले अब आफूले गल्ती नदोहोर्याउने वाचा गरेका छन् ।

    उनले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको नाम लिएनन् तर हिजो पार्टी विभाजन गरेर गएका थापालाई फेरि पार्टीमा उच्च तहको जिम्मेवारी दिनु गल्ती भएको उनको स्वीकारोक्ति थियो ।

    प्रचण्डले आफू कमजोर नभएको भन्दै नयाँ खालको युद्धमा आफू रहेको बताएका थिए । ‘प्रचण्ड कमजोर भएको छैन,’ उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि भइरहेको छ । जनयुद्धका उपलब्धीमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि जारी छ । षड्यन्त्र रोकिएको छैन ।’

    यो पनि

    निकटस्थलाई ओलीको ब्रिफिङ : संसद फेरि विघटन हुन्छ, चुनावको तयारीमा लाग्नुस् ! निकटस्थलाई ओलीको ब्रिफिङ : संसद फेरि विघटन हुन्छ, चुनावको तयारीमा लाग्नुस् !

    रुकुममा पुगेर आफू कमजोर नभएको भन्दै सिंहदरबारतिर औंला उठाएका भएपनि प्रचण्ड यतिबेला सबैभन्दा थकित देखिन्छन् । एमालेसँग एकीकरण गरेर नेकपा बनाएकै दिनदेखि नेपालको राजनीतिमा प्रचण्डको क्रेज घट्दो क्रममा रहेको थियो ।

    सत्ताधारी एमालेका एक नेता भन्छन्, ‘प्रचण्डजी अब डेट एक्स्पायार्ड औषधि भइसक्नुभएको छ । उहाँले इतिहासमा गरेको योगदानको मूल्यांकन आफ्नो ठाउँमा छ तर ३० वर्षभन्दा बढी उहाँले नेतृत्व गरेको पार्टी अहिले यता न उताको अवस्थामा छ । उहाँले आफ्नै पार्टीका पनि दोस्रो पुस्ताका नेतालाई अघि सार्नुभएन अथवा अहिलेको माओवादीको राजनीतिक कोर्स करेक्सन गर्नुभएन भने उहाँको अझ बढी पतन निश्चित छ ।‘

    प्रचण्डले पुनः संसद विघटन हुने भय देखेर नै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् । समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीलाई विश्वासको मत प्राप्त भएन भने ठूलो दलको नेताको हैसियतले ओली पुनः प्रधानमन्त्री हुने सम्भावना देखिन्छ । त्यसपछि पनि ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन भने संविधानतः संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने ओलीको तयारी देखिन्छ ।

    प्रचण्ड यतिबेला ओलीलाई राजनीतिक समर्थन पनि दिन सकेका छैनन् भने कानूनी हिसाबले सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि सकेका छैनन् ।

    ‘कुनै बेला पेरिसडाँडामा प्रचण्ड नेतृत्वको बैठकले गरेका निर्णयहरूले देशको राजनीतिक परिस्थिति निर्धारण गर्थ्यो,’ माओवादीकै एक नेता भन्छन्, ‘अहिले प्रचण्डले त्यसखालको निर्णायक कदम चाल्न नसकेको जस्तो देखिएको छ । ओली राजनीतिक खेलाडी जस्ता देखिएका छन् । तर समयक्रममा माओवादी केन्द्रले पुरानै शक्ति प्राप्त गर्छ र सबैभन्दा ठूलो राजनीतिक हैसियत प्राप्त गर्छ । हामी त्यही अभियानमा लागिरहेका छौं ।'

    यो पनि 

    माधव नेपाललाई लखेटेको सबैभन्दा गाह्रो प्रश्न - ओलीसँगै रहने कि नयाँ पार्टी बनाएर अघि बढ्ने ? माधव नेपाललाई लखेटेको सबैभन्दा गाह्रो प्रश्न - ओलीसँगै रहने कि नयाँ पार्टी बनाएर अघि बढ्ने ?

    images

    प्रकाशित :चैत्र २५, २०७७ बुधवार - ११:१०:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.