अमेरिकी युवाले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने-Sutra News

अमेरिकी युवाले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

अमेरिका- अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोना भाइरसविरुद्धको खोप पाउने घोषणा गरेका छन् । उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि यो नयाँ घोषणा गरेको समाचारमा जनाइएको छ ।



यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए । तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उनले सो कुराको घोषणा गरेको समाचारमा जनाइएको छ ।

उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।’

उनले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमितहरु बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिए ।

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म तीन करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने यहाँका ५ लाख ७० हजार भन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट