कोरोना संक्रमितको संख्यामा भारतले बनायो नयाँ रेकर्ड, खुला सीमानाकाका कारण नेपाल थप जोखिममा-Sutra News

कोरोना संक्रमितको संख्यामा भारतले बनायो नयाँ रेकर्ड, खुला सीमानाकाका कारण नेपाल थप जोखिममा

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

नयाँ दिल्ली- भारतले कोरोना भाइरस संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको नयाँ रेकर्ड बनाएको छ । बुधबार  १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएपछि संक्रमणले नयाँ रेकर्ड कायम गरेको हो ।



यो संख्या महामारी सुरूभएयताकै सबैभन्दा धेरै हो । बितेको एक महिनादेखि भारतमा संक्रमण संख्या निरन्तर उकालो लाग्दै आएको छ । गत मार्च ७ मा भारतभर १८ हजार ५ सय ९९ जना संक्रमित बनेका थिए ।

भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई अघिल्लो साताबाट पछि पार्न थालेको थियो । ब्राजिल र अमेरिकामा भने बुधबार क्रमशः ९० हजार र अमेरिका ७५ हजार संक्रमित थपिएका छन् । भारतमा बढ्दो संक्रमित संख्यासँगै सोका कारण हुने मृत्युमा पनि वृद्धि देखिएको छ । बुधबार संक्रमणबाट ६ सय ८५ जना को मृत्यु भएको छ ।

यो संख्या गत नोभेम्बर ४ यताकै सबैभन्दा ठूलो संख्या हो । महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा संक्रमण तीव्र गतिमा फैलिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

संक्रमणको दोस्रो लहर नियन्त्रण बाहिर जान थालेपछि महाराष्ट्र तथा दिल्लीले रात्रिकालीन कर्फ्यू घोषणा गरिसकेका छन् । छिमेकी मुलुकमा पछिल्लो समय कोरोना संक्रमणमा देखिएको वृद्धिले नेपालमा पनि संक्रमण बढ्ने चिन्ता बढेको छ। खुला सीमाका कारण यो चिन्ता बढेको हो ।

संक्रमणको दोश्रो लहरलाई महामारी हुन नदिन सरकारले बेलैमा आवश्यक कदम चाल्नुपर्ने नेपालका जन स्वास्थ्यविदहरूले जनाएका छन् । नभए पहिलो लहर रोक्न सफल नेपालका लागि संक्रमणको दोश्रो लहर असर गम्भिर हुनसक्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ४ हजार १ सय जनाको पिसिआर गर्दा २ सय ९८ मा र १ हजार ४० जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ । कोरोनाको बढ्दो संक्रमण खतरालाई ध्यानमा राख्दै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालिन व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट