काठमाडौं- कोरोना भाइरसका कारण करिब ९ महिना बन्द रहेको फिल्म हल पुस १० गते देखि सञ्चालनमा आएको थियो । हल सञ्चालन भएको यो अवधिसम्म आइपुग्दा चारवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
तर ती फिल्महरू प्रदर्शनको समयमा फिल्मका कलाकारले फिल्मको प्रमोशन गरेको भने पाइएन । हल सञ्चालनमा कहिले आउला, कहिलेदेखि फिल्मी क्षेत्र चलायमान होला ? भनेर फेसबुकका भित्तामा मात्र उफ्रने कलाकारले आफ्नै फिल्म प्रदर्शनको समयमा निर्माण टिमलाई साथ नदिएको देख्दा जो कोही अचम्मित बनेका छन् ।
माघ १ गते मल्टिस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको थियो ।
अभिनेता शिव श्रेष्ठको निर्माण र अभिनय रहेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी , सन्जोग कोइराला जस्ता अन्य थुप्रै कलाकाको अभिनय रहेको थियो । तर फिल्म प्रर्दशनको समयमा शिव श्रेष्ठ बाहेकका अन्य कलाकारले फिल्मको पोस्टर समेत आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको पाइएन् ।
२४ घण्टा अनेकथरी कुरा गरेर समाजिक सञ्जालमा समय बिताउने हाम्रा कलाकारले आफ्नै फिल्मको प्रचार-प्रसार गर्दा आफैंलाई फाइदा हुने कुरा बुझेनन् । विभिन्न अन्तर्वार्तामा अभिनेता श्रेष्ठले कलाकारले फिल्म प्रमोशन समय साथ नदिएको खुलेरै बताए ।
त्यस्तै चैत २७ गते बाटे एभरेष्ट सूर्य बोहोरोको निर्देशनमा बनेको फिल्म ‘श्री’ प्रदर्शनमा आएको छ । मल्टिस्टारर फिल्म ‘श्री’ मा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, वुद्धि तामाङ, भोलाराज सापकोटा, बसुन्धरा भुषाल, राजाराम पौडेल, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
शुक्रबार फिल्मको प्रिमियर गरिएको थियो । तर प्रिमियरमा सन्दिप क्षेत्री बाहेकका अन्य कलाकार उपस्थित भएनन् । जीवनको सबैभन्दा ठूलो ‘श्री’ के रहेछ भनेर सन्देश दिन खोजिएको उक्त फिल्म उत्कृष्ट बनेको छ । तर कलाकार बाटै फिल्मको बेवास्ता भइरहेको छ ।