राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने-Sutra News

राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने

आइतबार, २९ चैत्र २०७७

आइतबार, २९ चैत्र २०७७

लण्डन- बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिए ।



गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उनको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

उनको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किनु हुने भएको छ ।

राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लागेका हुन् । मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए । दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो ।

उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएका राजदरबारले जनाएको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेका हुन् ।
‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो ।

राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू हुन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएको थियो । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका व्यक्तिका रुपमा स्मरण गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट