कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य-Sutra News

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

नयाँ दिल्ली- भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।



हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरुले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको निर्देशन नमान्नेहरुलाई कानुन अनुसार कडा सजाय हुने चेतावनी पनि दिइएको छ ।

प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टिन बसे पनि हुने उल्लेख गरिएको छ ।

यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरुले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

‘त्यसैगरी जो यही अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाँदै हुनुहुन्छ, उहाँहरुले पनि दिल्ली प्रदेश छोड्नु अघि केही मुख्य विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरिएको छ,’ निर्देशनमा लेखिएको छ ।

कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरु खुलेआम उल्लङ्घन भएको थियो ।

दिल्ली प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

एकै दिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको दिल्ली प्रदेशमा अहिले पनि झण्डै ७० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट