दिल्लीमा एकैदिन २४ हजार संक्रमित-Sutra News

दिल्लीमा एकैदिन २४ हजार संक्रमित

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

नयाँ दिल्ली- भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।



त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० संक्रमित अवस्थामै रहेका छन् । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै रहेको बताइएको छ ।

दिल्लीको स्वास्थ्य विभागले संक्रमित र मृतकको संख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको परीक्षण गराएका मध्ये ३२।२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १।३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।

भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ देखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट संक्रमित र मृतकको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट