भारतमा एक दिनमा तीन लाख २३ हजारभन्दा बढी कोरोना संक्रमित-Sutra News

भारतमा एक दिनमा तीन लाख २३ हजारभन्दा बढी कोरोना संक्रमित

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा गत २४ तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ ।



कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यसैगरी यहाँ गएको २४ घण्टायता दुई हजार ७७१ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो संक्रमणबाट मात्र एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ ।

यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ ।

दिल्ली कोरोना सुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट