भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो-Sutra News

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जानकारी दिएको छ ।



एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरु भएयताकै यो सबभन्दा धेरै भएको समाचारमा जनाइएको छ । मंगलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ ।

यहाँ गत सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ । दिल्ली कोरोना सुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट