इयूले किन कारबाही गर्यो एस्ट्राजेनेका कम्पनीलाई ?-Sutra News

इयूले किन कारबाही गर्यो एस्ट्राजेनेका कम्पनीलाई ?

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- युरोपियन युनियन इयूले कोरोना भाइरस खोप निर्माता एस्ट्राजेनेका कम्पनीविरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।



युरोपेली आयोग (इयूको कार्यकारी शाखा) ले यो कम्पनीलाई खोप आपूर्ति सम्झौताको सम्मान नगरेको र समयमै डेलिभरी सुनिश्चित गर्न भरपर्दो योजना नभएको आरोप लगाएको छ । एस्ट्राजेनेकाले भने अदालतमा यसको कडा प्रतिवाद हुने बताएको छ ।

कोरोना भाइरस भ्याक्सिनको आपूर्तिलाई लिएर दुवै पक्षबीच लामो समयदेखि चलिरहेको विवादमा कानुनी कारबाही बढेको हो । केही समूहले एस्ट्राजेनेकाले युकेलाई विशेष सुविधा दिएको दाबी गरेका छन् तर कम्पनीले भने यसलाई अस्वीकार गरेको छ ।

युरोपेली युनियनका २७ देशको सहमतिमा शुक्रबारबाट एस्ट्राजेनेकाविरुद्धको कारबाही सुरु गरिएको युरोपेली आयोगले जनाएको छ ।

यसैबीच, अमेरिकाले एस्ट्राजेनेका खोपको ६० मिलियन डोज अन्य देशहरूलाई उपलब्ध गराउने घोषणा गरेको छ । संघीय सुरक्षा समीक्षा पछि आउने महिनाहरूमा अमेरिका खोप निर्यात गर्न सक्षम हुने एपी समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

गत अगस्टमा इयूसँग एस्ट्राजेनेकाको सहमति भएअनुसार कम्पनीले इयूलाई ३०० मिलियन खोप उपलब्ध गराउनु पर्ने थियो । यस वर्षको सुरूमा एस्ट्राजेनेकाले उत्पादन समस्याका कारण यसको आपूर्ति कम हुने बताएको थियो ।

सन् २०२१ को पहिलो त्रैमासिकमा डेलिभरीका लागि योजना गरिएको ८० मिलियन डोजमध्ये ३० मिलियनमात्र इयूलाई पठाइएको थियो ।

दोस्रो त्रैमासिकमा एस्ट्राजेनेकाले १८० मिलियन मात्रा खोप पठाउनुपर्नेमा ७० मिलियन खोप मात्रै पठाउन लागेको बताएको छ ।

खोप आपूर्तिमा ढिलाइ गरेपछि इयूले एस्ट्राजेनेकाविरुद्ध के कारबाही अगाडि बढाएको हो भन्ने बारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट