ब्राजिलले बनाउन सुरु गर्यो कोरोनाविरुद्धको खोप-Sutra News

ब्राजिलले बनाउन सुरु गर्यो कोरोनाविरुद्धको खोप

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

साओ पाउलो- कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोना भाइरसविरुद्धको खोप आफैं बनाउन थालेको छ । साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।



ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए । ‘ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोना भाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन,’ उनले भने ।

संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पारे । आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उनले गरे ।

सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमति दिइसकेको छैन । बुतानभ्याक नामक कोभिड-१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिदै आएको हो ।

कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्,’ गर्भनर डोरियाले भने ।

यस बर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उनले बताए । महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्बन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट