sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

नयाँ सरकार निर्माणको सकसः यी हुन् बिहीबार ९ बजेपछिका सम्भावित ५ परिदृश्यहरू

नयाँ सरकार निर्माणको सकसः यी हुन् बिहीबार ९ बजेपछिका सम्भावित ५ परिदृश्यहरू

images

सुरेश शर्मा

२९ बैशाख २०७८
  • 2.7K
    SHARES
  • नयाँ सरकार निर्माणको सकसः यी हुन् बिहीबार ९ बजेपछिका सम्भावित ५ परिदृश्यहरू

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । विशेष अधिवेशन बोलाएर आफूमाथि प्रतिनिधिसभाको विश्वास परीक्षण गरेका ओलीको पक्षमा जम्मा ९३ मत खस्यो । विपक्षमा १२४ मत खस्यो । यससँगै ओली कामचलाउ प्रधानमन्त्री बनेका छन् । प्रतिनिधिसभामा हाल कायम रहेको २ सय ७१ सदस्यमध्ये जम्मा ९३ जनाले ओलीलाई विश्वासको मत दिएका थिए । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीले पहिलोपटक संसदबाट विश्वासको मत लिएको घटनाक्रम थियो त्यो ।

    विश्वासको मत नपाएर सत्ताच्यूत भएका ओली ठूलो दलको संसदीय दलको नेताको हैसियतले पुनः प्रधानमन्त्रीको नियुक्ति खाने सम्भावना ठूलो छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने सहमति भएको छ । तर जनता समाजवादी पार्टी (जसपा)भित्रको आन्तरिक लडाईका कारण नयाँ सरकार बन्ने सम्भावना पनि क्षीण देखिन्छ ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बनाउन विपक्षी दलहरूलाई तीन दिनको समयावधि दिएकी छन् । उक्त समयसीमा बिहीवार राति नौ बजे सकिन्छ । यो समाचार टिप्पणी लेखिरहँदा नयाँ सरकार गठनका लागि २९ घण्टा मात्र बाँकी छ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो निरन्तर ओलीसँगको छलफलमा व्यस्त देखिन्छन् । उनीहरूको मुख्य काम विपक्षी गठबन्धनलाई देउवा नेतृत्वको सरकार बनाउनुबाट रोक्नु हो । बुधबार ठाकुर र महतो दुवै नेता बालुवाटारमा ओलीसँग छलफल गरेपछि राष्ट्रपति भण्डारीको सरकारी निवास महाराजगञ्ज पुगेका छन् । स्रोतको दाबीअनुसार उनीहरूले जसपाको उपेन्द्र यादव पक्षबाट आउने कुनै पनि निर्णयलाई अस्वीकार गर्न आग्रह गरेका छन् । राजनीतिक वृत्तमा ओली नै अल्पमतको प्रधानमन्त्री बन्ने आंकलन भइरहेको छ । सूत्रन्यूजले बिहीबार राति ९ बजेपछि सम्भावित परिदृश्य कस्तो हुन्छ, त्यसको विश्लेषण गर्ने प्रयास गरेको छ ।

    परिदृश्य १: ओली नै अल्पमतको प्रधानमन्त्री

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको सहभागितामा नयाँ सरकार बनाउन बिहीबार राति ९ बजेको समयसीमा तोकेकी छन् । यो समाचार टिप्पणी तयार पार्दासम्म विपक्षी गठबन्धनको सरकार बन्न सक्ने कुनै सम्भावना देखिएको छैन ।

    नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसदहरू जोड्दा बहुमत पुग्दैन । जसपाका उपेन्द्र र बाबुराम पक्षमा जम्मा १५ सांसद खुलेका छन् तर जसपाको ठाकुर पक्षले नयाँ सरकार बनाउन संस्थागत निर्णय गर्न अवरोध गरिरहेको अवस्था छ । उपधारा २ अन्तर्गतको सरकार बन्न नसके राष्ट्रपति भण्डारीले बिहीबार नै ओलीलाई सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सपथ ग्रहण गराउन सक्ने सम्भावना धेरै रहेको छ ।
    देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच निरन्तर छलफल भइरहेको छ । देउवाले मंगलबार बसेको आफ्नो पार्टीको पदाधिकारी बैठकमा नयाँ सरकार बनाउन निकै गाह्रो रहेको बताएका थिए । यद्यपी कांग्रेसका तर्फबाट ठाकुरलाई मनाउन टीम परिचालन गरिएको छ भने एमालेका माधवकुमार नेपाल लगायत असन्तुष्ट नेताहरूसँग पनि देउवा घनिभूत छलफलमा देखिन्छन् ।

    परिदृश्य २: विपक्षी गठबन्धनबाट देउवा प्रधानमन्त्री

    जसपाबाट ठाकुर पक्षलाई मनाउन सक्ने हो भने जसपाले देउवाका पक्षमा संस्थागत निर्णय गर्न सक्ने सम्भावना छ । कांग्रेस, माओवादी केन्द्र र जसपाबाट संस्थागत निर्णय भएर राष्ट्रपतिसमक्ष पत्र पुग्नेबित्तिकै देउवा प्रधानमन्त्री नियुक्त हुन सक्छन् । तर पछिल्लो परिदृश्य यसको प्रतिकूल बनेको देखिन्छ । राष्ट्रपतिलाई भेटेर ठाकुर र महतोले आफूहरू नै आधिकारिक रहेको बताइसकेका छन् । ओलीको पक्षमा फटाफट निर्णय गरिरहेकी राष्ट्रपति भण्डारीले जसपाका उपेन्द्र र बाबुरामको निर्णयलाई आधिकारिकता दिने सम्भावना देखिन्न । देउवा प्रधानमन्त्री बन्न असम्भव छैन तर कठीन भने निश्चय नै छ ।

    परिदृश्य ३: ठाकुर प्रधानमन्त्री

    जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार बिहान ट्वीट गर्दै लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं । १.धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/ पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं । २.दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति । ३.साझा न्यूनतम कार्यक्रम-कोभिड नियन्त्रण,सत्य निरुपण तथा मेलमिलाप आयोग/मुद्दा,संविधान संशोधन,आर्थिक राहत लागू । ४. एक वर्षभित्र चुनाव !’

    भट्टराईले पूर्वप्रधानमन्त्रीबाहेक अन्य कसैको नेतृत्वमा सरकार बनाउने भन्दै महन्थ ठाकुरलाई नै इंगित गरेका हुन् । ठाकुर लामो समयदेखि लाभको पदबाट बाहिर रहेका नेतासमेत हुन् । जसपामा निकै पहिलेदेखि ठाकुरलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भइरहेको थियो ।

    तर ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादव बाधक देखिन्छन् । मधेशकेन्द्रित नेताहरूमध्ये ठाकुर सर्वसम्मत नेता हुन सकेका छैनन् । प्रतिनिधिसभा विघटनपछि ठाकुरको ओलीसँग लसपस बढेको आरोप लागिरहेको छ । यो २९ घण्टामा केही विशेष सहमति भइहालेमा ठाकुर प्रधानमन्त्री बन्न त सक्छन् तर त्यो सम्भावना यथार्थमा परिणत हुने कुनै बाटो अझै देखिएको छैन ।

    परिदृश्य ४: राष्ट्रपतिबाट समयसीमा थप हुनसक्ने

    राष्ट्रपति भण्डारीले नयाँ सरकार बनाउन समय तोकेरै आग्रह गरेकी छन् । त्यतिबेलासम्म विपक्षी गठबन्धन अनिर्णित रह्यो भने अल्पमतको प्रधानमन्त्रीका लागि ओलीको नियुक्ति र सपथ तत्कालै हुने देखिन्छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाले थप समय दिन आग्रह गर्दै राष्ट्रपतिसमक्ष निवेदन दिने सम्भावना पनि कायमै रहने देखिन्छ ।

    ‘तोकिएको समयसीमा भित्र सहमति हुन सकेन भने हामीले राष्ट्रपतिलाई पुनः समय थपिदिन आग्रह गर्न सक्छौं,’ कांग्रेसका एक प्रभावशाली नेताले सूत्रन्यूजसँग भने । उनले यसो भनेपनि राष्ट्रपतिले थप समय दिन्छिन् भन्न चाहिँ सकिंदैन । ओली अनुकूल निर्णय गर्दै आएकी राष्ट्रपतिले ओलीलाई नै तत्काल अल्पमतको प्रधानमन्त्रीका रूपमा नियुक्ति दिने सम्भावना बढी रहेको छ ।

    तर राष्ट्रपति कार्यालय स्रोतले भने दलहरू सहमतिका साथ आए नयाँ सरकार बनाउन केही समय थप्न सकिने बताउँछ । ‘दलहरूको कुरा हो, उहाँहरू मिलेर थप केही दिन चाहियो भन्नुभयो भने हामीले हलो अड्काउने कुरा हुँदैन,’ शीतल निवास स्रोतको दाबी छ ।

    परिदृश्य ५: माधव नेपाल समूहको सामूहिक राजीनामा

    विगत केही दिनदेखि माधव नेपालसहित एमालेका असन्तुष्ट सांसदहरूले राजीनामा दिने हल्ला चलिरहेको छ । तर राजीनामा दिएपनि या नदिएपनि नयाँ गठबन्धनका लागि पर्याप्त अनुकूलन सिर्जना भने हुने देखिन्न ।

    नेपाल समूहको राजीनामाले बहुमत जुटाउन प्रतिपक्षी गठबन्धनलाई अवश्य सजिलो हुन्छ । तर एमालेको संस्थागत निर्णय बेगर हुने कुनै पनि क्रियाकलापको कानूनी या संवैधानिक वैधता हुँदैन । त्यसैले नेपाल समूहले राजीनामा दिँदैमा राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने कुनै संवैधानिक कारण देखिन्न ।

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको एमालेको यो समूहमाथि कारबाही गर्ने ओलीको तयारी चलिरहेको छ । कारबाही भोग्नुभन्दा राम्रो राजीनामा दिंदा हुने भनेर घनश्याम भुसाल लगायतका नेताहरूले बोलिरहेका छन् । तर राजीनामाले नयाँ गठबन्धनको सरकार निर्माणमा सकारात्मक या नकारात्मक कुनै भूमिका खेल्दैन ।

    यो भिडियो पनि हेर्नुस्


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - १७:५२:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.