sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

७० मुसहर परिवारलाई धुर्मुस-सुन्तलीले दिए खाद्यान्न

७० मुसहर परिवारलाई धुर्मुस-सुन्तलीले दिए खाद्यान्न

images

सुत्र न्यूज

२३ जेठ २०७८
  • 168
    SHARES
  • महोत्तरी- कोभिड-१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास-१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस-सुन्तलीको साथ पाएका छन् ।

    महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पुर्याएर दुःखमा साथ दिएको हो ।

    शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गरे । बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् ।

    ‘घरघरै ३० किलो चामलको एक/एक बोरा पाएका छौँ’, बस्तीकी आशा सादाले भनिन्, ‘त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमोठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानाबिना मरिँदैन ।’

    धुर्मु र सुन्तली (हास्य कलाकार कुञ्जना घिमिरे) त आफ्ना लागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नुपरेका बेला दुःखका समयमा धुर्मुस आउनुभएको बस्तीकी मनिता सादा बताउँछिन् ।

    पराले झुप्रामा दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४ को नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस–सुन्तली फाउण्डेशनबाट पाएका थिए ।

    त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिँदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र दृश्यावलोकन स्तम्भ, बालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।

    पहिलोपटक विसं २०७२ को हिउँदमा सरसफाइ दूत बनेर बर्दिबास पुगेका हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्राको मुसहर बस्ती हेरेका थिए ।

    पहिलो आगमनमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाइ, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।

    धुर्मुसले पछिल्लोपटक आफैँले निर्माण गर्नुभएको बर्दिबास मुसहर बस्तीका ७० परिवार र रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरस्थित बस्तीका ५० परिवारलाई शनिबार साँझ खाद्यान्न पुर्याएका हुन् ।


    प्रकाशित :जेठ २३, २०७८ आइतवार - ०९:३४:४५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.