अझै स्वीकृत भएन भीम रावलको राजीनामा, संसद सचिवालय भन्छ -विचाराधीन छ-Sutra News

अझै स्वीकृत भएन भीम रावलको राजीनामा, संसद सचिवालय भन्छ -विचाराधीन छ

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

एमालेका उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट दिएको राजीनामा अझै स्वीकृत भएको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने दिन (आइतवार) उनले सञ्चारकर्मीहरूका अगाडि आफ्नो राजीनामा पत्र पढेर सुनाएका थिए ।



संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलले सिधै सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिएकाले त्यसबारेमा सभामुखले नै सूचना दिने बताए ।

‘उहाँ (भीम रावल)ले सभामुखलाई राजीनामा दिनुभएको हो । हाउस चलेको अवस्थामा उतैबाट सूचना टाँस हुन्छ र राजीनामा स्वीकृत भए/नभएको थाहा हुन्छ,’ पाण्डेले सूत्रन्यूजसँग भने ।

अब ८ गते प्रतिनिधि सभाको अर्को बैठक बस्ने हुनाले सभामुखले सबैका अगाडि रावलको राजीनामाबारे घोषणा गर्ने उनको भनाइ छ ।

आइतवार संसद बैठक शुरू हुनुभन्दा अगाडि रावलले राजीनामा दिएका थिए । संसद सचिवालयमा राजीनामा बुझाउन गएका रावललाई आफ्नै दलका केही सांसदहरूले रोकेपछि नयाँ बानेश्वरस्थित संसद भवन पुगेर सञ्चारकर्मीहरूका अगाडि राजीनामा दिएको घोषणा गरेका थिए ।

त्यसपछि उनले आफ्नो राजीनामा सभामुख सापकोटालाई बुझाए । सभामुखलाई बुझाएको राजीनामा विचाराधीन अवस्थामा रहेको संसद सचिवालयको भनाइ छ ।

रावलको राजीनामा राजनीतिक ‘स्टन्ट’ मात्र भएको चर्चा चल्न थालेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा रावलले राजीनामा फिर्ता गर्नुपर्ने बताएका थिए ।

रावललाई अहिले ओली पक्षीय सांसदहरूले राजीनामा फिर्ता गर्न दबाब दिएका छन् । तर बुझाइसकेको राजीनामा फिर्ता गर्न रावलले आनाकानी गरिरहेको उनीनिकट स्रोतले बतायो ।

एमाले विवाद समाधान गर्न गठित कार्यदलमा रावलले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको नेतृत्व गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध चर्को आक्रोश पोख्ने रावल बालुवाटार पुगेर निवर्तमान प्रधानमन्त्री ओलीलाई भेटेपछि नरम भएको आरोप लाग्दै आएको छ ।

आइतवार रावलले नेता नेपालसमक्ष देउवालाई विश्वासको मत दिन नहुने तर्क गरेका थिए । रावलसँग नेता नेपाल कन्भिन्स हुन सकेनन् । आफू एक्लैले भएपनि देउवालाई विश्वासको मत दिने भन्दै रावलसँग नेता नेपाल कड्केका थिए ।

त्यसपछि रावल राजीनामा दिने भन्दै सिंहदरबारस्थित संसद सचिवालयमा पुगे । त्यहाँ नेपालनिकट नै मानिएका अर्का सांसद झपट रावलले उनको राजीनामा खोसिदिए ।

त्यसपछि रावलले बानेश्वर पुगेर राजीनामा दिएका हुन् । अहिले राजनीतिक वृत्तमा रावलको राजीनामा चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट