अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति-Sutra News

अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ ।



गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो ।

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा बताउँछन् ।

मेलम्ची बजार हुँदै वहने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमालबाट वहने खोला तथा नदी हुन् । उक्त खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाको भनाइ छ ।

असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो । उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।  उक्त भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट