सङ्क्रमितको सङ्ख्या बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह-Sutra News

 सङ्क्रमितको सङ्ख्या बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ ।



स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।

 बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

 कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो ।

 त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताए । “सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ”, उनले भने, “मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट